१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपाली विद्यार्थी अस्ट्रेलियाको अन्डर-१९ टोलीमा

नारायण खड्का

अस्ट्रेलिया — कक्षा ११ मा अध्ययनरत नेपाली युवा विद्यार्थी प्रतिक पाण्डे नापित अस्ट्रेलियाको अन्डर-१९ राष्ट्रिय विद्यार्थी टीममा छनोट भएका छन् । अस्ट्रेलियाका सबै माध्यमिक तहका विद्यालयहरुबाट छानिएका १८ जनाको टोलीमा उनी एक्ला नेपालीमुलका विद्यार्थी हुन् । 

नेपाली विद्यार्थी अस्ट्रेलियाको अन्डर-१९ टोलीमा

प्रतिक अहिले सिड्नीको उत्कृष्टमध्येको फुटबल क्लब म्यानलि युनाईटेडबाट अनुबन्धित भएर स्ट्राइकरका रुपमा नेशनल प्रिमियर लिग– १ खेलिरहेका छन् । उनी अब केही महिनापछि हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग बेलायत, आयरल्यान्ड र स्कटल्यान्ड जाने छन् ।


अस्ट्रेलियाभरि हुने क्षेत्रीय, राज्यस्तरीयरुपमा सबै विद्यालयहरुमा हुने प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छानेर राष्ट्रिय टोली निर्माण गरिन्छ भने अस्ट्रेलियाले आफ्नो राष्ट्रिय फुटबल टोलीमा समेत यही टीममा रहेका युवा खेलाडीहरुको प्रदर्शनका आधारमा प्राथमिकताका साथ स्थान दिने गर्दछ ।


‘सानैदेखि फुटबल मन पर्ने भएकाले नै म यहाँसम्म आइपुगेको हुँ भन्ने लाग्छ’ प्रतिकले कान्तिपुरसँग भने । आफ्नो छनोटले फुटबल क्षेत्रमा लागिपर्ने अस्ट्रेलियाका नेपाली विद्यार्थीहरुलाई प्रोत्साहन र अवसर मिल्ने उनको विश्वास छ । नर्थ सिड्नी बोइज हाइस्कुलमा अध्ययनरत उनी सुरुआती समयदेखि नै फुटबल प्रतियोगिताहरुमा भाग लिँदै आइरहेका छन् । स्ट्राइकरका रुपमा मैदानमा उत्रने उनले खेलको माध्यमबाटै सानै उमेरमा धेरै पुरस्कार तथा मेडलहरु समेत जितिसकेको बताए ।


प्रतिक अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिने उद्देश्य रहेको बताउँछन् । ‘म धेरै आशावादी छु कि एकदिन अस्ट्रेलियाको राष्ट्रिय टोलीमा स्थान बनाउनेछु ।’


उनी आफूले फुटबलको माध्यमबाट यहाँका नेपाली समुदाय साथै नेपालको फुटबल क्षेत्रलाई आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको बताउँछन् ।


उनका पिता श्री नापित पनि नेपालको आरसिटीबाट 'ए' डिभिजनको फुटबल खेलिसकेका खेलाडी हुन् । छोराको फुटबलप्रतिको चाहना र उत्साह देखेर नै आफूहरुले सकेजति सबै सुविधा दिएको नापित बताउँछन् । उनी प्रतिकको सफलता र ज्ञानबाट अस्ट्रेलियामा रहेका नेपाली समुदाय मात्र नभई नेपालले पनि फाइदा लिनसक्ने दाबी गर्छन् ।

प्रकाशित : श्रावण १३, २०७५ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?