कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बेलायतका नेपाली चिकित्सकले समृद्धिका लागि साथ दिने

नबिन पोखरेल

लन्डन — नेपलिज् डक्टर्स एसोसिएसन यूकेको शुक्रबारदेखि आइतबारसम्म चलेको ३३ औं वार्षिक बैठकमा विभिन्न देशबाट एकत्रित भएका चिकित्सकहरुले स्वास्थ्यसम्बन्धि कार्यपत्रहरु पेश गरेका छन्। विशेष गरी जनचासोका मुटु, दाँत, डायबिटिज, सर्जरी, एनेसथेसिया, हाडजोर्नी, ईएनटी आदिमा सम्मेलन केन्द्रित थियो ।

बेलायतका नेपाली चिकित्सकले समृद्धिका लागि साथ दिने
सम्मेलनको अन्तिम दिन आफ्नो सीप र ज्ञान नेपालमा स्थानान्तरणबारे समेत चर्चा भएको थियो । एसोसिएसन अध्यक्ष डा. सविन जोशीका अनुसार, उक्त सम्मेलनले विश्वका विभिन्न देशमा गठित ‘नेपलिज् डक्टर्स एसोसिएसन’लाई छाता संगठनको रुपमा एउटा ग्लोबल कमिटी बनाउने सहमति गरेको छ ।

‘विदेशमा जहाँ कार्यरत भएपनि हामीमा आफ्नो मातृभूमिको समृद्धि र स्वास्थ्य सुधारको चिन्ता छ,’ अध्यक्ष जोशीले कान्तिपुरसँग भने, ‘हामी नेपाल सरकारलाई नीति निर्माणको तहमा सहयोग गर्न तयार छौं । सीप र ज्ञान स्थानान्तरण गर्न हामी उत्सुक छौं ।’

नेपालमा चिकित्सक र नर्सहरुको भ्यालिडेसन, क्वालिटी कन्ट्रोल र ‘कन्फ्लीक्ट अफ इन्ट्रेस्ट’ भएन भने स्वास्थ क्षेत्रले सुधार गर्न सक्ने जोशीको बुझाइ छ ।

भेलामा विशेष आकर्षण थिए नेपालबाट आएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, मृत मुटु सफलतापूर्वक प्रत्यारोपण गरी चर्चा बटुलेका अष्ट्रेलिया निवासी डा. कुमुद धिताल, अमेरिका नेपाल मेडिकल फाउण्डेसनका बोर्ड सदस्य डा. सुवोध मल्लिक, डा. बोग्दान नुटा, डा. तुसार रेइना, अर्थोपेडिक सर्जन डेभिड जोन्स ।

‘कि नोट स्पिकर्स’ का रुपमा सम्मेलनमा बेलायत आएका डा. कोइरालाले प्रविधि, जनशक्ति र क्षमताको तुलनामा नेपाल बेलायत र अन्य विकसित देशभन्दा धेरै पछाडि रहेको धारणा राखे ।

‘नेपालका चिकित्सकहरुमा पनि पर्याप्त सीप छ, राज्य र निजी क्षेत्रको लगानी छ । तर, अझै स्वास्थ्य सेवा परिस्कृत गर्न र अन्तर्राष्ट्रिय स्तरमा लैजान नेपालमा नयाँ प्रविधि भित्र्याउन जरुरी छ,’ उनले भने ।

बेलायतस्थित नेपाली वा विदेशी चिकित्सकहरु नेपालमा क्षमता अभिवृद्धि, प्रविधि र ज्ञान हस्तान्तरणमा एकदम सहयोगी हुनसक्ने बताउँदै कोइरालाले काम नगरी विदेशी र विदेशका नेपालीले मात्र गर्छन् भन्ने अपेक्षा चाहिँ गर्न नहुने बताउँछन् । ‘हामीलाई अप्रेसन गर्न सिकाउनु पर्दैन, गुणस्तर मापन र व्यवस्थापन हामी आफैं गर्न सक्छौं, कपी पेस्ट चाहिन्न,’ उनले भने, ‘तर, यहाँ भर्खर आएका अत्याधुनिक प्रविधि हामीलाई झन् उपयागी हुन सक्छ । नेपालमा त यो दश वर्षपछि मात्र लाने हो भन्यो भने हामी झन् पछाडि परिन्छ ।’

डा. कुमुद धिताल आफ्नो पनि नेपालमा काम गर्ने तीव्र इच्छा भएको बताउँछन् । ‘मैले यति धेरै कोशिस गरेको छु, कयौं मन्त्रीहरुसँग बसेर यस्तो कार्यक्रम ल्याऊ भनेर सुझाव पनि दिएको हो तर सुन्दै सुन्दैनन्,’ उनले भने, ‘नेपाललेभन्दा बरु अरु मुलुककाले मेरो कुरा सुन्छन्, कार्यान्वयन गर्छन् । पहिला सरकारले कार्यक्रम ल्याएर, अनि यस्तो मान्छे मलाई चाहियो कहाँ छ भनेर खोजी गर्ने हो ।’

डा. धितालले ‘ब्रेन डेड’ प्रत्यारोपण नेपालमा सहज नभएको बताए । ‘अष्ट्रेलिया जस्तो आर्थिक उन्नति गरेको मुलुकमा त सरकारले यो कार्यक्रममा एक पैसा हालेको छैन्’, उनको भनाइ थियो, ‘मेरा साथीभाइ, च्यारिटेबल फाउण्डेशन लगायतको सहयोगले यो प्रत्यारोपण सम्भव भएको हो ।’ नेपालमा शुरुमा मामुली प्रत्यारोपण नै गर्न उनको सुझाव छ । ‘प्रत्यारोपणमात्र ठूलो कुरा होइन’, उनले भने, ‘प्रत्यारोपणपछि बिरामीलाई सुविधा, प्रोटोकल, सिस्टम नभएसम्म यस्ता कार्यक्रम नेपालमा गर्न असम्भव छ ।’

शनिबारै एसोसिएसनको वार्षिक साधारण सभा समेत भएको थियो ।

बेलायतको नेपाली समुदायमा त्यति घुलमिल नहुने आरोप खेपेको एसोसिएसनले नेपालमा भने स्वास्थ्य शिविर, वर्कसप तथा मानवीय सहायता सम्बन्धि उल्लेख्य काम गरिरहेको छ । सन् १९८५ मा स्थापित उक्त संस्थाले नियमित च्यारिटी गरि संकलित रकम नेपालमै खर्च गर्ने गरेको उपाध्यक्ष डा. रमेश खोजुले जानकारी दिए ।

प्रकाशित : श्रावण १४, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?