१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अस्ट्रेलियास्थित नेपाली दूतावासले बढायो शुल्क

नारायण खड्का

अष्ट्रेलिया — नेपाली दूतावास क्यानबेराले यहाँबाट प्रदान गर्ने विभिन्न सेवाहरुको लागि शुल्क बढाएको छ । 

अस्ट्रेलियास्थित नेपाली दूतावासले बढायो शुल्क

दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा यहाँबाट आवश्यक कागजपत्र उपलब्ध गराइने सेवाहरुमा लिइने शुल्कमा २० प्रतिशतदेखि ५ सय प्रतिशतसम्म शुल्क वृद्धि गरिएको छ । सबैभन्दा बढी दूतावासले अधिकृत वारेसनामा लिनका लागि ५ सय प्रतिशत वृद्धि गरेको छ ।


दूतावासले राहदानी नविकरण तथा नयाँ राहदानी लिनका लागि ४० देखि ८० डलरसम्म बढाएको छ भने कागजपत्र प्रमाणिकरणका लागि १ सय ८० डलर वृद्धि गरिएको जनाएको छ ।


अष्ट्रेलियामा रहेका नेपालीहरुले भने आधाजसो विद्यार्थीहरुमात्र रहेको स्थानमा रहेको दूतावासले बिनाकुनै जानकारी अचानक शुल्क वृद्धि गरिएको भन्दै विरोध जनाएका छन् ।

उनीहरुले दूतावासले सकेसम्म निशुल्क सेवा उपलब्ध गराउनुपर्नेमा शुल्क वृद्धि गरेर विद्यार्थीहरुलाई नै समस्यामा पार्न खोजिएको बताएका छन् ।


दूतावासका अनुसार पासपोर्ट नविकरणका लागि १ सय ९० डलरबाट बढाएर २ सय ३० डलर, हराएको वा च्यातिएको पासपोर्ट बनाउनका लागि ३ सय ८० बाट बढाएर ४ सय ६० बनाइएको छ भने बालबालिहरुले पासर्पोट लिनका लागि ९५ डलरको साटो १ सय १५ तिर्नुपर्ने भएको छ ।


यसैगरी यात्रा अनुमतिपत्रका लागि ६० डलर तिर्नुपर्ने भएको छ भने अधिकृत वारेसनामाका लागि ६० डलर लिदै आएकोमा अब ३ सय तिर्नुपर्ने भएको छ ।


क्यानबेरास्थित नेपाली दूतावासका एक उच्च अधिकारीले यो शुल्क आफूले बढाएको नभएर नेपाल सरकारको निर्णयलाई कार्यान्वयन मात्र गरिएको बताएका छन् ।

उनले केही शिर्षकमा अत्यधिक शुल्कवृद्धि गरिए पनि विद्यार्थीहरुका लागि भने सकेसम्म कम शुल्क नै कायम गर्ने कोशिस गरिएको जानकारी दिएका छन् ।


एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अशोक केसीले शुल्क वृद्धिले विद्यार्थीहरुलाई अझ असर पर्ने बताए ।

दूतावासले शुल्क बढाउनाले यहाँ अध्ययनरत विद्यार्थीहरुलाई नै असर पर्ने भएकाले यसले उनीहरुलाई आर्थिक समस्या थप्ने समेत बताए । तर दूतावासले विद्यार्थीहरुलाई मार पर्ने गरी कुनै शुल्क वृद्धि नगरिएको जनाएको छ ।

प्रकाशित : श्रावण १७, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?