कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ब्ल्याक माउन्टेनमा हाइकिङ

कान्तिपुर संवाददाता

लन्डन — ‘नेपाल भ्रमण वर्ष, २०२०’ प्रवद्र्धनको ध्येयसाथ बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ गरियो । ‘हाइक फर नेपाल’ नाम दिइएको कार्यक्रमले वेल्सलाई करिब चार घण्टा नेपालमय बनायो ।१२ किलोमिटर लामो पैदलयात्राका लागि ‘नेपालका लागि सँगसँगै पाइला चालाैं’ नारा दिइएको थियो ।

ब्ल्याक माउन्टेनमा हाइकिङ

१२ किलोमिटर लामो पैदलयात्राका लागि ‘नेपालका लागि सँगसँगै पाइला चालांै’ नारा दिइएको थियो । नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेयता विदेशमा रहने नेपालीहरूको प्रयासमा भएको यो सम्भवत: पहिलो कार्यक्रम थियो ।

बेलायतका लागि राजदूत दुर्गाबहादुर केसीले माउन्ट एभरेस्ट नामकरण गर्ने सर जर्ज एभरेस्ट बेलायतकै भएको स्मरण गर्दै यसैकारणले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए । यस्ता कार्यक्रमले नेपालीहरूबीच सद्भाव, भ्रातृत्व र सौहार्दता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनले जनाए । ब्रेकनका सभासद क्रिस डेभिस, पोइज काउन्टी काउन्सिलका अध्यक्ष डेभिड मेराडिथ, ब्रेकन टाउन काउन्सिलका मेयर मेनी टेलर, उपमेयर एन म्याथिस, टलग्रेथ टाउन काउन्सिलका मेयर विलियम पवेल र यसै क्षेत्रका पूर्वमेयरलगायत बेलायतीहरूको समेत कार्यक्रममा बाक्लो उपस्थिति थियो ।

पोइज काउन्टीका अध्यक्ष मेराडिथले नेपाललाई आफ्नो दोस्रो घर बताउँदै सुन्दर गाउँ धम्पुस र ब्रेकनबीच विशेष साइनो गाँस्न लागेको समेत खुलासा गरे । ‘यसैलाई आधिकारिकता दिन आगामी फेब्रुअरीमा १५ जनाको टोली लिएर हामी नेपाल जानेछौं,’ उनले थपे । यसका निमित्त सक्रियतापूर्वक लागेका ब्रेकन नेप्लिज सोसाइटीका प्रमुख सल्लाहकार खुसीमान गुरुङले यो हुन सके दुवै मुलुकले फाइदा लिन सक्ने बताए । नेपाल प्रवद्र्धनात्मक कार्यक्रममा बेलायतवासीका तर्फबाट सम्पूर्ण सहयोग रहनेसमेत गुरुङले बताए ।

पोखरेली मञ्च बेलायत र ब्रेकन नेपाली समाजले गरेको पैदलयात्रामा सहभागी हुन नेपालबाट तेह्र पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, १६ वटा विधामा गिनिज बुक अफ रेकर्डसमा नाम लेखाएका थानेश्वर गुरागार्इं, बी विल राइज फाउन्डेसनका संस्थापक तुलसी गुरुङ, सोही फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठ र सुरज गुरुङसमेत वेल्स पुगेका थिए ।

बेलायतमा आयोजित यो कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानलाई टेवा पुग्ने आशा रहेको फाउन्डेसनका संस्थापक तुलसी गुरुङले बताए । करिब १ सय ५० नेपाली एवं विदेशी सहभागी पैदलयात्रामा स्थानीय बेलायतीहरूले नेपालबारे उत्सुकतापूर्वक जिज्ञासा राखेका थिए । नेपाली पर्यटन प्रवद्र्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरूको पनि रहेको उल्लेख गर्दै पोखरेली मञ्चका अध्यक्ष मन गुरुङले यसका लागि निरन्तर पहल गरिरहने बताए । अघिल्लो वर्ष ५१ हजार बेलायती पर्यटक नेपाल पुगेको जनाउँदै दूतावासले २०२० मा यो संख्या एक लाख पुर्‍याउने लक्ष्य रहेको बतायो ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?