अष्ट्रेलियमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियामा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका नेपालीहरुको खोजी सुरु गरेको छ । दूतावासले अष्ट्रेलियामा रहेका सबै अवैतनिक दूतहरुलाई निर्देशन जारी गरेर सूचना संकलन गर्न भनेको छ ।

दूतावासले सबैलाई औपचारिक इमेल मार्फत स्थानीय संघसंस्थाहरुसँग समन्वय गरेर सबै नेपालीहरुको जानकारी र सूचना एक सातासम्ममा दिनका लािग अवैतनिक वाणिज्य दूतावासहरुलाई निर्देशन दिएको हो। दूतावासको निर्देशनमा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका र उद्दार अथवा नेपाल फिर्तीका लागि सहयोग आवश्यक भएका कुनै नेपालीहरु भए सूचना दिन भनेको छ। दूतावाससँग अहिलेसम्म नेपालीहरुको कुनैपनि तथ्यांकहरु नभएकाले तथ्यांक संकलन सुरु गरिएको बताइएको छ।

क्यानबेरामा रहेको नेपाली दूतावासलाई यहाँका विद्यार्थीहरुका साथै विभिन्न संघसंस्थाहरुले नेपालीहरुको तथ्यांकहरु राख्नका लागि आग्रह गर्दै आएका छन्। सोही आग्रहलाई ध्यानमा राखेर अवैतनिक वाणिज्यदूतावासका साथै सबै संघसंस्थाहरुसँग सूचनाका लागि आग्रह गरिएको कार्यवाहक राजदूत दु्रपदा सापकोटाले बताइन्। उनले आफूहरुसँग यस सम्बन्धि कुनैपनि सूचना आधिकारिक रुपमा नरहेकाले समेत नेपालीहरुको जानकारी आवश्यक भएको बताइन्।

Yamaha

कार्यवाहक राजदूत सापकोटाले आफूहरुले सूचनाका लागि अष्ट्रेलियाको केन्द्रिय मन्त्रालय तथा राज्यस्तरमा रहेका विभिन्न सरकारी निकायहरुसँग समेत आग्रह गरेको बताइन्। ‘हामीले दूतावास स्थापना भएको यति लामो समयसम्म पनि कुनैपनि आधिकारिक जानकारी राख्न नसकेकाले समेत सबै प्रकारका सुचनाहरु राख्ने प्रक्रिया सुरु गरेका हौं,’ उनले भनिन्।

प्रकाशित : श्रावण २७, २०७५ ११:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अस्ट्रेलियामा खडेरीको समस्या, सरकारद्वारा ५ सय ७६ मिलियन डलर सहयोग घोषणा

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा खडेरीको समस्या विकराल बन्दै गएको छ । अस्ट्रेलिया सरकारले देशकै ठूलो राज्य न्यु साउथ वेल्सलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुख्खाबाट पीडित किसानलाई राहत दिन ५ सय ७६ मिलियन डलर बराबरको राहतको घोषणा गरिएको छ । 

सुख्खाका कारण न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, पश्चिम अस्ट्रेलिया र दक्षिण अस्ट्रेलियाका ग्रामीण भेगका किसान मारमा परेका छन् । उनीहरुले आफूले अहिलेसम्म कहिल्यै नभोगेको र नदेखेको सुख्खा भोग्नुपरेको पीडा ब्यक्त गरेका छन् ।

सुख्खाग्रस्त क्षेत्रको भ्रमणमा गएका प्रधानमन्त्री माल्कम टर्नबुलले देशले दसकौंपछिको खराब समस्या भोग्नुपरेको बताएका छन् । उनले मौसमको सुधार हुने आशा व्यक्त गरे । तर, सुख्खाका कारण किसानहरुले जनावारलाई खाने कुरासमेत खुवाउन नपाएको बताएका छन् ।

खडेरीका कारण किसानहरु समस्यामा परेपछि अस्ट्रेलियामा रहेका बैंकहरुले सहायता रकमलगायतका सहयोगको घोषणा गरिसकेका छन् । टेलिभिजन च्यानल, स्थानीय परोपकारी संस्थाहरुले समेत सहयोगका विभिन्न कार्यक्रम सुरु गरेका छन् । यस अभियानमा यहाँ सञ्चालनमा रहेका ठूला व्यावसायिक सुपरमार्केटले समेत सहयोगको घोषणा गरिरहेका छन् ।

विभिन्न सहयोगबाट संकलिन रकमले खडेरीबाट पीडित किसानलाई सहयोग गर्ने बताइएको छ । खडेरीबाट सबैभन्दा बढी पीडित न्यु साउथ वेल्स राज्यका किसानलाई विभिन्न शीर्षकमा राहत दिन राज्य सरकारले करिब १ अर्ब डलरबराबरको सहयोगको घोषणा गरेको छ भने अन्य राज्यले समेत किसानलाई सहयोग पुर्‍याउन सहयोग रकम घोषणा गरिसकेका छन् ।

खडेरीबाट पीडित किसानले सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । सुख्खाका कारण रुखहरुसमेत मर्न थालेका छन् भने पानी नपरेका कारण जनावारलाई बचाउन मुस्किल परेको किसानहरुले बताएका छन् । समाचारमाध्यमहरुले अस्ट्रेलियामा यसवर्ष देखिएको सुख्खा करिब आधा शताब्दीकै खराब रहेको बताएका छन् ।

प्रकाशित : श्रावण २४, २०७५ २१:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT