लन्डन दूतावासमा साहित्यिक बहस : ‘कवि, कलाकार भूतपूर्व हुँदैनन्’

कान्तिपुर संवाददाता

लन्डन — कुटनीति र पर्यटन बहस भइरहने लन्डनस्थित नेपाली दूतावास सोमबार साँझ भने साहित्यिक माहोलमा झुम्यो । नेपाल र बेलायतका साहित्य अनुरागीहरुले भरिभराउ दूतावासमा साहित्यिक बहस भयो, कविता वाचन र नेपाली गीत, संगीत प्रस्तुत गरिए ।

लन्डन दूतावासमा साहित्यिक बहस : ‘कवि, कलाकार भूतपूर्व हुँदैनन्’

उक्त अवसरमा वरिष्ठ कवि तथा साहित्यकार तुलसी दिवसले कवि, कलाकार कहिल्यै भूतपू्र्व नहुने धारणा राखे ।


नेपालबाट आएका वरिष्ठ साहित्यकार तथा लेखकहरुको सम्मानमा नेपाली दूतावास, लण्डनद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै कवि दिवसले प्रधानमन्त्री, मन्त्री तथा प्रशासकहरु भूतपूर्व हुने भए पनि लेखक, साहित्यकार, कलाकार कहिल्यै भूतपूर्व नहुने जिकिर गरे । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भूतपूर्व मन्त्रीको रुपमा नभई एक बेजोड कविको रुपमा नेपाली पाठकहरुले सधैं सम्झिरहने बताए ।


उनले नेपाल अहिले मेची, महाकाली, हिमाल र तराईको सीमाभित्र मात्र सीमित नरहेको बताउँदै संसारभरि फैलिएका नेपालीहरुले सानो टुक्रा नेपाल आफूसँगै मन र मस्तिष्कमा बोकेर आएको आफूले देखेको उल्लेख गरे । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा नेपाल बाहिर बसेका नेपालीहरुले धेरै काम गरिरहेको उल्लेख गर्दै दिवसले अब नेपाली साहित्यको इतिहासको पुनर्लेखन गर्नुपर्ने बेला आएकोमा जोड दिए ।


कवि दिवसले देशबाहिर बसेर नेपाली भाषा, साहित्यको संवर्द्धन गर्नेहरुको सम्मान गर्ने परम्पराको थालनी नेपालबाट गरिनुपर्छ भन्दै बेलायतका लागि नेपाली राजदूत तथा कवि दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री)ले बेलायतमा नेपाली भाषा, साहित्यको विकासमा पुराइरहेको योगदानको प्रशंसा पनि गरे ।


कार्यक्रममा वरिष्ठ लेखक खगेन्द्र संग्रौला, भूतपूर्व राजदूत तथा भाषाविद् नवलकिशोर राई, वरिष्ठ समालोचक तथा निबन्धकार गोविन्दराज भट्टराई एवं संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीलाई सम्मान गरिएको थियो ।


स्वागत मन्तव्य राख्दै राजदूत सुवेदीले शेक्सपियर, जोन मिल्टन, ओस्कार वाइल्ड, रबर्ट बर्न्स, जर्ज अरवेलजस्ता विश्वप्रसिद्ध साहित्यकारहरुको जन्मभूमिमा आएर सिर्जना गर्न पाउने नेपाली कवि, साहित्यकारहरु भाग्यमानी भएको बताए । उनले बेलायतले जहिले पनि भागेर वा निर्वासित भएर आएका साहित्यकार तथा चिन्तकहरुलाई आश्रय दिने गरेको दाबी पनि गरे । अमेरिकी कवि टिएस एलियट तथा जर्मन चिन्तक कार्ल मार्ल्सले बेलायतमा आएर आफ्नो लेखन र अनुसन्धानलाई निरन्तरता दिएको उनले स्मरण गरे ।


कार्यक्रममा बेलायतमा बसोबास गरिरहेका कवि नरेश काङमाङ राई तथा गजलकार नृपेश उप्रेतीले आ-आफ्ना रचना सुनाएका थिए भने गायिकाहरु मिना लामा, सितु खरेल तथा गायक एवं संगीतकार बीसी राईले गीत सुनाए । नायिका तथा मोडलछुल्ठिम डोल्मा गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन् । त्यस्तै सयपत्री सांस्कृतिक समूहका अध्यक्ष डम्बरसिं प्रयासले सारंगी धुन सुनाए ।


प्रकाशित : श्रावण २९, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?