२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मलेसिया श्रम सम्झौता गर्न इच्छुक

कान्तिपुर संवाददाता

क्वालालम्पुर — मलेसियाले नेपालसित चाँडै श्रम सम्झौता गर्ने जनाएको छ । संसद्मा मंगलबार बोल्दै मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त जानकारी दिएका हुन् । उनले बंगलादेशसित यसअघि भएको जस्तै नेपालसित पनि छिट्टै सरकारी स्तरमा श्रम सम्झौता गर्ने संसद्मा जानकारी दिएका हुन् ।

मलेसिया श्रम सम्झौता गर्न इच्छुक

संसद्को विशेष समितिमा विदेशी कामदारबारे छलफल भएको थियो ।


प्रधानमन्त्री महाथिरले सबै स्रोत मुलुकबाट कामदार लिन र उनीहरूको व्यवस्थापन गर्न साझा नीति अवलम्बन गरिने बताए । उक्त नीति कस्तो हुने भन्नेबारे मलेसियाली सरकारले केही खुलाएको छैन । मानव संसाधनमन्त्री एम कुला सेगरनले समेत नेपालसित चाँडै श्रम सम्झौता हुने बताए ।


स्थानीय सञ्चार माध्यमहरूका अनुसार मलेसियाले गैरकानुनी कामदारको समस्या भोगिरहेको उल्लेख गर्दै उनीहरूको व्यवस्थापन तथा नीति तय गर्न गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयका उच्च सरकारी अधिकारीहरूको समेत सहभागितासहितको सचिवालय समिति गठन गर्न लागिएको छ ।


मलेसियाले बंगलादेशबाट पनि कामदार लिने भएको छ । बंगलादेशबाट कामदार ल्याउन यसअघि उसले सन् २०१६ फेब्रुअरीमा सरकारीस्तरमा कामदार लिनेदिने सम्झौता भएको थियो । त्यतिबेला विभिन्न १० कम्पनीलाई आधिकारिकता दिइएको थियो । हाल मलेसियाले बेस्टिनेट एसडीएन बीएचडीलगायतका कम्पनीहरूलाई दिइएको अनुमति पनि निलम्बन गरेको समाचारमा उल्लेख छ ।


‘बंगलादेशबाट कामदार ल्याउन सबैलाई खुला प्रतिस्पर्धा गराउन चाहन्छौं,’ मानव संसाधनमन्त्री सेगरनले भनेका छन्, ‘नेपाली कामदारका विषयमा पनि हामी नेपालसित सरकारीस्तरमा चाँडै श्रम सम्झौता गर्न चाहन्छौं ।’ उनले विदेशी कामदारहरूको मुद्दाहरू मलेसियाका लागि ठूलो समस्या बन्दै गएको बताए । ‘बहुसंख्यक आएकामध्ये धेरै गैरकानुनी भइरहेका छन् । त्यसैले तिनलाई व्यवस्थापन गर्न हामीलाई समिति चाहिन्छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?