कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनको मध्यपूर्व सम्मेलन : शून्यलागतको नीतिलाई कार्यान्वयन गर्न अनुरोध 

— विदामा गएका घरेलु कामदारलाई पुन:श्रम स्वीकृति दिन आग्रह
हाेम कार्की

दुबई — गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनले वैदेशिक रोजगारीमा जाने कामदारको शून्यलागतलाई कार्यान्वयन गर्नका लागि गन्तब्य देशसँग श्रम सम्झौता गर्न सरकारलाई आग्रह गरेको छ । 

एनआरएनको मध्यपूर्व सम्मेलन : शून्यलागतको नीतिलाई कार्यान्वयन गर्न अनुरोध 

संघको दुबईमा शुक्रबार सम्पन्न तीन दिने छैठौं मध्यपूर्व क्षेत्रिय सम्मेलनले शून्यलागतलाई प्रभावकारी बनाउन श्रम सम्झौतामा जोड दिएको हो । सरकारले तीनवर्ष अघि शून्य लागतको नीति लागु गरे पनि यसको कार्यान्वयन नहुँदा कामदार झन् पीडित बनेका छन् । कामदारले एक लाख रुपैंया बुझाउँदा पनि म्यानपावर कम्पनीले १० हजार सेवा शुल्कको रसिद दिँदै आएको छ ।


सम्मेलनले १६ बुँदे दुबई घोषणापत्र समेत जारी गरेको छ । बैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगीबाट जोगाउन नेपाली दूतावासबाटै मागपत्र प्रमाणीकरण गर्ने सरकारको कदमलाई स्वागत गरेको छ । ‘यसलाई प्रभावकारी र छिटो कार्यसम्पादन गर्न आधुनिक प्रविधि प्रयोग गरी कागजातविहिन प्रणालीद्वारा कार्यन्वयन गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ ।


सम्मेलनले नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुन:श्रम स्वीकृति दिने ब्यवस्था यथाशीघ्र कार्यान्वयनमा ल्याउन पराराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गरेको छ । ‘विदामा घर गएका खाडी क्षेत्रमा कार्यरत घरेलु कामदारलाई विशेष गरी महिला कामदार सोही रोजगारदाताकोमा काम गर्न चाहेमा अभिलेखीकरण गरी श्रम स्वीकृति दिन सरकारलाई आग्रह गरेको छ,’ घोषणापत्रमा भनिएको छ । विदामा आउनेलाई श्रम स्वीकृति नदिँदा खाडी क्षेत्रमा कार्यरत घरेलु कामदार घर फर्किन पाएका छैनन् ।


सम्मेलनले बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई देशमै पुर्नस्थापनाको लागि प्रशिक्षण तथा रोजगारीको कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्न, एक हजारभन्दा बढी महिलाहरु कार्यरत देशमा आवश्यकताअनुसार संंरक्षण गृह बनाउन, नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि आवश्यक ब्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।


‘वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न परराष्ट्र, श्रम र गृह मन्त्रालयबीच समन्वय प्रभावकारी बनाउन एकीकृत विद्युतीय सूचना प्रणाली लागु गर्नुपर्छ । वैदेशिक रोजगारीबाट फर्केका कामदारको दक्षतासहितको अभिलेख राख्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारीको नाममा वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसा र आजादभिसाको नाममा कारोबार गर्ने र कामदारलाई अलपत्र बनाउने संलग्न कम्पनी वा ब्यक्तिलाई सम्बन्धित कानुन बमोजिम कारबाही गर्नुपर्छ ।’


सम्मेलनले युएईको दुवई, लेवनान र इराकमा महाबाणिज्यदूतको कार्यालय, पाँच हजार नेपाली कामदार रहेको देशमा श्रम सहचारी राख्न, नेपाली दुतावासमा कानुनी सेवा प्रदान गर्ने गरी आवश्यकता अनुसारको वकिलको यथाशीघ्र व्यवस्था गर्न, जेलमा रहेका कामदारको कानुनी प्रतिरक्षा गर्नुका साथै कोमामा रहेका नेपाली कामदारलाई स्वदेशमा ल्याएर उपचारको प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।


सम्मेलनले नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्न, बिदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिन सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न, वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप र दक्षता परीक्षण गरी १० लाख ऋण दिने सरकारको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको मध्यपूर्व संयोजक आरके शर्माले बताए ।


क्षेत्रिय बैठकको उद्घाटन गर्दै खानेपानी मन्त्री विना मगरले सरकारले वैदेशिक रोजगारलाई बाध्यकारीबाट ऐच्छिक बनाउने योजना ल्याएको बताए ।


सम्मेलनमा पूर्व श्रममन्त्री रमेश लेखक, युएईका लागिकार्यबाहक राजदूत सागर फुयाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि विपिन आचार्य अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तो, पूर्व अध्यक्ष अध्यक्ष जीवा लामिछाने लगायतकाले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले यथेष्ट काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : भाद्र ९, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?