कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सर्वाेच्चको आदेशप्रति अस्ट्रेलियाका नेपाली खुसी

नारायण खड्का

अष्ट्रेलिया — सर्वाेच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन दिएको आदेशप्रति अस्ट्रेलियाका नेपालीले खुसी व्यक्त गरेका छन् । प्रवासी नेपालीहरूको संगठन एनआरएनएले उक्त आदेशको स्वागत गरेको छ । 

सर्वाेच्चको आदेशप्रति अस्ट्रेलियाका नेपाली खुसी

सर्वाेच्चले आइतबार सरकारका नाममा जारी गरेको आदेशले विदेशमा रहेका नेपालीलाई आफ्नो देशसँग प्रत्यक्ष जोड्ने उनीहरूको प्रतिक्रिया छ । मतदान गर्न पाउँदा आफूले देशको नीतिनिर्माण र विकास योजना निर्माण गर्ने प्रतिनिधि छान्न पाउने भएकाले समेत देशप्रति अझ जिम्मेवार बन्ने उनीहरूको भनाइ छ । एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेल तथा महासचिव नारायण कोइरालाले अदालतको निर्णयले विदेशमा रहेका नेपालीमा देशप्रति अपनत्वको भावना विकास गर्ने बताए ।


अस्ट्रेलियामा अहिले ३० हजार बढी विद्यार्थी अध्ययनरत छन् भने सोही हाराहारीमा नेपाली राहदानी भएका नेपाली बसोबास गरिरहेका छन् । अस्ट्रेलियालगायत मुलकहरूले विदेशमा रहेका आफ्ना नागरिकलाई चुनावका समयमा विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाइरहेको भए पनि नेपालले भने ढिलै भए पनि यसतर्फ कदम चालेकामा उनीहरूले खुसी व्यक्त गरेका छन् । ‘यो राजनीतिक दलसँगको सक्रियताका रूपमा मात्र बुझ्नुभन्दा पनि जहाँ बसे पनि आफ्नो जनप्रतिनिधि आफंैले छान्न पाउने अवसर हो,’ एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देलले भने ।


अस्ट्रेलियाको सत्तारूढ दल लिबरलको नेपाली शाखाका प्रमुख श्री नापित सर्वाेच्चले आदेश दिए पनि यसले कानुनी रूप लिनुपर्ने भएकाले देखिएजति सहज नहुने दाबी गर्छन् । सर्वाेच्चले आदेश दिए पनि नेपालबाहिर सबै देशमा रहेका नेपालीलाई मतदानको अधिकार नदिने कानुन बन्न सक्ने उनी बताउँछन् । विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिँदा यसले सकारात्मक मात्र नभएर नकारात्मक राजनीतिक संस्कारको समेत विकास हुन सक्ने उनको तर्क छ ।


याे पनि पढ्नुहोस् : विदेशमा रहेकालाई मताधिकार सम्भव : निर्वाचन आयोग


प्रकाशित : भाद्र १८, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?