साथी बचाउन २५० किलोमिटर पदयात्रा

नारायण खडका

अस्ट्रेलिया — क्यान्सरपीडित, त्यो पनि ब्रेन क्यान्सरको तेस्रो स्टेजमा पुगेर बाँच्ने संघर्ष गरिरहेको साथी बचाउन केसम्म गर्न सकिन्छ ? सिड्नीका एक अस्ट्रेलियाली नागरिकले आफ्ना नेपाली साथीको उपचारमा सहयोग जुटाउन २ सय ५० किलोमिटर जंगल पदयात्रा गर्दै छन् । त्यो पनि लगातार १० दिनसम्म ।

Yamaha

९ वर्षअघि विद्यार्थी भिसामा श्रीमतीसहित अस्ट्रेलिया आएका काठमाडौंका विदुर कर्माचार्यलाई ३ महिनाअघि ब्रेन क्यान्सर भएको पत्ता लाग्यो ।

सामान्य टाउको मात्र दुख्ने समस्या रहेका उनी अचानक अस्वस्थ बनेपछि अस्पताल गए । उपचार क्रममा क्यान्सर लागेको थाहा भयो ।

सामान्य काम गरेर जीविका चलाइरहेका २ साना नानीका अभिभावक उनलाई आर्थिक भार त पर्‍यो नै, जीवन कसरी व्यवस्थित बनाउने समस्या थपियो । उनीहरूको समस्याबाट परिचित विदुरका अस्ट्रेलियाली साथी म्याट लोयडले सहयोग जुटाउने नयाँ उपाय निकाले ।

विदुरकै लागि भनेर न्युकासलदेखि सिडनीसम्म २ सय ५० किलोमिटर जंगल पैदलयात्रा गर्ने र न्यूनतम १० हजार डलर (करिब ८ लाख रुपैयाँ) सहयोग संकलन गरिदिने ।

म्याटले एक वेबसाइटमार्फत आफ्नो पैदलयात्राका लागि सहयोग जुटाउन आह्वान गरेका छन् । उनले अहिलेसम्म झन्डै ९ हजार ५ सय डलरभन्दा बढी सहयोग संकलन गरिसकेका छन् । उनको पदयात्रा २३ तारिखमा १० दिनपछि टुंगिनेछ ।

म्याट विदुरलाई नेपालमै भेटेको र अत्यन्तै मिल्ने साथी भएकाले पनि आफू सहयोग संकलनमा लागेको सुनाउँछन् । ‘विदुरजस्तो टिपिकल नेपाली साथी पाउन एकदमै मुस्किल पर्छ ।’ उनले कान्तिपुरसँग भने, ‘यसैका लागि पनि म उनलाई बचाउन र परिवारलाई सहयोग पुर्‍याउन यो अभियानमा लागेको हुँ ।’

म्याटले सुरु गरेको यो अभियानमा करिब १ सय जनाले न्यूनतम १० डलरदेखि ५ सय डलरसम्म सहयोग गरिसकेका छन् । सहयोग अभियान अझै २ साता बढी चल्ने भएकाले थप रकम जुट्ने विश्वासमा उनी छन् ।

भन्छन्, ‘यो अभियानको उद्देश्य सहयोग जुटाउने भए पनि साथीका लागि हामीले चाह्यौं भने धेरै गर्न सकिन्छ भन्ने भावनाको विकास गर्नु पनि हो ।’

उनी यही सेप्टेम्बर २३ तारिखमा ५० वर्ष पुग्दै छन् र आफू ५० वर्ष पुगेको खुसियाली विदुरसँगै अस्पतालमा गएर मनाउने योजनामा छन् । ‘मैले आफ्नो जन्मदिन प्रिय नेपाली साथी जो बाँच्नका लागि संघर्षरत छ, उससँग मनाउन पाउनु ठूलो अवसर हुनेछ ।’

सिडनीबाट ५ घण्टाको दूरीमा रहेको डब्बोमा बसोबास गर्ने विदुर ३ महिनादेखि उपचार क्रममा अस्पतालमै छन् । विशेषज्ञ डाक्टरहरूबाट नियमित उपचार गराइरहनुपर्ने आर्थिक संकटबाट गुज्रिरहेको भए पनि उनीहरूले कसैलाई सार्वजनिक रूपमा सहयोगको आग्रह गरेका छैनन् ।

उपचारमा नियमित सहयोग पुर्‍याइरहेकी उनकी श्रीमती बिनु महर्जनले म्याटको अभियानमा सहयोग पुर्‍याउन र उनको पैदलयात्रा टुंगिने दिन सिडनीको सर्कुलर कि मा उपस्थित भइदिन आग्रह गरेकी छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र २२, २०७५ १५:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

क्रिकेट टोली स्वदेश फिर्ता

रासस/याेन्हाप

काठमाडौँ — मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर शुक्रबार नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । 


एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो। नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो।

नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङसँग पराजित भएको थियो।

छनोट प्रतियोगिता यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो।

उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए। हङकङ एशिया कपका लागि छनोट भएको छ।

फाइनल खेलमा हङकङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो।

एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ। एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेस्ट राष्ट्रको सहभागिता रहनेछ।

तस्बिरः हेमन्त श्रेष्ठ / कान्तिपुर

प्रकाशित : भाद्र २२, २०७५ १४:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT