अष्ट्रेलियामा विज्ञ सम्मेलन : ज्ञान र सीपको पनि सदुपयोग गर्न आग्रह

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियामा भएको विज्ञ सम्मलेनले विदेशमा रहेका नेपालीसँग पुँजीमात्र नभएर ज्ञान र सीपसमेत भएकाले उनीहरुको सदुपयोग गर्नका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

अष्ट्रेलियामा विज्ञ सम्मेलन : ज्ञान र सीपको पनि सदुपयोग गर्न आग्रह

प्रवासी नेपालीहरुको संगठन एनआरएन ओसिनियाले आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञहरुले अष्ट्रेलियामा पुँजीपतिभन्दा बढी ज्ञान, सीप र क्षमता भएका बिज्ञहरुको बाहुल्यता रहेको बताउँदै उनीहरुको ज्ञानलाई आफ्नो देशको विकासमा सदुपयोग गर्न आग्रह गरेका थिए ।


पहिलोपटक आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलियामा रहेर पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा रहेका विज्ञहरुले सहभागिता जनाएका थिए । उनीहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा गर्न सकिने विकासका सम्भावनाहरु आैंल्याएका थिए ।

‘यो कार्यक्रमको मुख्य उद्देश्य नै यहाँका विज्ञहरुको ज्ञान र सीपलाई आफ्नो देशको विकासमा कसरी व्यहारमा लगाउन सकिन्छ भन्ने हो,’ कार्यक्रम संयोजक एनआरएन ओसिनिया संयोजक धर्मराज अधिकारीले भने । उनले कार्यक्रमबाट विभिन्न विधामा विज्ञता हासिल गरेकाहरुको सुझावलाई यही अक्टोबरको १२ देखि १४ तारिखसम्म राजधानीमा हुने ग्लोबल नलेज कार्यक्रममा प्रस्तुत गरिने जानकारी दिए ।

अष्ट्रेलियामा विभिन्न क्षेत्रमा उच्च दक्षता हासिल गरेका नेपालीहरु रहेको बताउँदै उनीहरुको सीपको सदुपयोगमा नेपाल सरकारले ध्यान दिनेमा विश्वास समेत ब्यक्त गरे ।

दिनभरि चलेको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुबाट ८ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो भने युवाहरुले समेत नेपालको विकासका लागि गर्नसक्ने योगदानका बारेमा अन्य प्रस्तुति दिइएको थियो । एनआरएन आइसिसी सदस्य गोकुल घिमिरेले कार्यक्रमको उद्देश्य अनुसार यहाँ रहेका विज्ञ तथा युवाहरुको चाहना र ज्ञानलाई नेपालको विकासमा कसरी लगाउने बिषयमा रोडम्याप तयार भएको दाबी गरे ।

घिमिरेले एनआरएन पैसा भएका ब्यवसायीको संस्था मात्र नभएर ज्ञान र सीप भएकाहरु समेत भएकाले नेपाल सरकारले पैसामुखी हुनुभन्दा ज्ञान आदानप्रदान र बिकासमा ध्यान दिइनुपर्नेमा जोड दिइएको बताए ।

सम्मेलनमा नेपालको रेलवे बिकास, आधुनिक कृषि प्रबद्र्धन, सडक सुधार, स्वास्थ्य क्षेत्रको सुधार लगायतका विषयहरुमा विज्ञहरुले विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए । उनीहरुले सरकारले चाहेमा आफूहरुको अनुभव, ज्ञान र सीपलाई आफ्नो देशमा लगानी गर्न आफुहरु तयार रहेको सन्देश समेत दिएका थिए ।

उनीहरुले सरकारलाई लगानीमुखी मात्र नभएर सीप भएका ब्यक्तिहरुबाट समेत बौद्धिक लगानीको अपेक्षा गर्न आग्रह गरेका थिए । नेपालमा आर्थिक लगानीमात्र नभएर बौद्धिक लगानी समेत आवश्यक रहेको उनीहरुको दाबी थियो ।

कार्यक्रममा एनआरएनका महासचिव बद्री केसी, अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा, अष्ट्रेलिया अध्यक्ष टोनु घोताने लगायत एनआरएन केन्द्रिय समितिका अधिकारीहरु, पूर्व अध्यक्षहरुका साथै बिभिन्न संस्थाका प्रतिनिधिहरुले समेत सहभागिता जनाएका थिए ।

प्रकाशित : भाद्र ३१, २०७५ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?