१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मलेसियामा गैरकानुनी कामदारविरुद्ध थप ‘कडाइ’

–३० हजार कामदार र हजारभन्दा बढी रोजगारदाता पक्राउ
भिसामा उल्लेख गरिएभन्दा फरक कम्पनी तथा स्थानमा काम गर्ने कामदार पनि पछिल्ला समय धरपकडको निशानामा परेका छन् । 

मलेसिया — गैरकानुनी आप्रवासी कामदारहरुविरुद्ध मलेसियाले थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन:भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि गत जुन ३० मा सकिएलगत्तै मलेसियाले संचालन गरेको ‘ओपिएस थ्री’ (ओप्स ३.०) नामक कारबाही अभियान जारी छ । 

मलेसियामा गैरकानुनी कामदारविरुद्ध थप ‘कडाइ’

पछिल्ला समय स–साना कम्पनीदेखि हजारौं कामदार कार्यरत ठूला–ठूला कम्पनीहरुमा समेत धरपकडको निशाना बनाइएको छ ।

भिसामा उल्लेख भएअनुसारको कम्पनी र ठेगानाअनुसार काम नगरी बेग्लै कम्पनी वा बेग्लै स्थानमा काम गर्ने कामदार पनि पछिल्ला समय धरपकडको निशानामा परेका छन् ।

मलेसियाली अध्यागमन विभागकाअनुसार गत शुक्रबार बेलुका क्वालालम्पुर नजिकै रहेको साइबरजयास्थित हजारौं कामदार कार्यरत एक म्यानुफ्याक्चरिङ कम्पनीमा गरिएको धरपकडमा ४७ नेपालीसहित ३ सय ३८ जना आप्रवासी कामदार पक्राउ परेका छन् । उनीहरुमध्ये अधिकांश भिन्नै कम्पनीको भिसामा त्यहाँ कार्यरत रहेको तथा अध्यागमन नियम उल्लंघन गरेकाहरु रहेको बताइएको छ ।

मलेसियाली अध्यागमन कानुनअनुसार कामदारले भिसामा उल्लेख भएअनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ । त्यसबाहेकका कम्पनीमा काम गर्नु कानुनी प्रावधान विपरित मानिन्छ । तर आउटसोर्सिङ गरिएका कामदारका हकमा पनि सप्लाई गर्ने कम्पनी र रोजगारदाता कम्पनीबीचको सम्झौतापत्र, सम्बन्धित कम्पनीको आधिकारिक पत्र लगायत कागजातहरु कामदार र सम्बन्धित रोजगारदातासँग हुनुपर्दछ ।

धरपकड अभियानमा अध्यागमन विभाग, प्रहरी, स्थानीय काउन्सिललगायत सम्बद्ध अधिकारीसमेत सहभागी भई विदेशी कामदारको बढी जमघट हुनसक्ने स्थानहरु, कम्पनी एवं औद्योगिक क्षेत्रहरु तुलनात्मक रुपमा धरपकडको बढी निशानामा पर्दै आएका छन् । पछिल्ला केही सातायता यस्ता कारबाही अभियानहरु दैनिक संचालन गरिएका छन् ।

अध्यागमन विभागकाअनुसार गत जनवरीदेखि गत अगष्टसम्म ३० हजारभन्दा बढी गैरकानुनी आप्रवासी कामदार र एकहजार बढी रोजगारदाताहरु पक्राउ परिसकेका छन् । पक्राउ पर्ने मध्ये अधिकांश इण्डोनेसिया, बंगलादेश लगायत मुलुकका छन् । तर उनीहरुको तुलनामा नेपालीहरु कम संख्यामा छन् ।

यसअघि सन् २०११ अक्टोबरदेखि नै आममाफी, बैधानिकता, घरफिर्ती, लगायत विभिन्न शीर्षकमा यस्ता अवसरयुक्त कार्यक्रमहरु संचालन गर्दै आएको थियो । झण्डै आधा दर्जन त्यस्ता कार्यक्रमहरु संचालन गरिएको भएपनि गैरकानुनी कामदार तह लगाउन मलेसियालाई ठूलो चुनौती छ ।

पक्राउ पर्ने कामदारलाई अदालती निर्णयअनुसार सजाय भुक्तान गरेपछि घरफिर्ती केन्द्रमा राख्ने गरिन्छ । नेपाली दुतावासको गत अगष्ट ९ सम्मको तथ्यांकअनुसार १ सय ६९ जना नेपालीहरु फिर्ती केन्द्रमा र २ सय ४ जना विभिन्न जेलमा छन् । पछिल्लो समय दैनिक धरपकडबाट कतिपय नेपालीहरु पनि पक्राउ परेकाले अब फिर्ती केन्द्रमा नेपालीको संख्या बढ्नसक्ने अनुमान छ ।

पक्राउ परेका कामदारलाई सम्बन्धित विदेशी कुटनीतिक नियोगहरुसित सहकार्य गरेर अबिलम्ब उनीहरुका देश फिर्ता पठाउने भनिएपनि पक्राउ पर्ने कतिपय नेपाली महिनौंसम्म हवाइटिकट अभावमा फिर्ती केन्द्रमै बस्नु पर्ने बाध्यता पनि छ यद्यपि, अधिकांशको भने दूतावासले सरकारी खर्चबाटै उद्दार गर्दै आएको छ ।

मलेसिया नेपालीका लागि बैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो । मलेसियालाई श्रमिक दिने स्रोत मुलुकमध्ये नेपाल इण्डोनेसियापछि दोस्रोमा पर्दछ । करिब ५ लाखभन्दा बढी नेपाली विभिन्न रोजगारी क्षेत्रमा कार्यरत छन् । कुनै ठोस तथ्यांक नभएपनि अझैं हजारौंको संख्यामा नेपालीहरु अवैधानिक रहेका हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?