१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

अस्ट्रेलियाली नागरिकद्वारा क्यान्सरपीडित नेपाली साथीलाई १६ लाख सहयोग

अस्ट्रेलिया — एक अस्ट्रेलियाली नागरिकले ब्रेन क्यान्सरबाट पीडित नेपाली साथीको उपचारका लागि हिँडेरै १६ लाख रुपैयाँ संकलन गरेका छन् । सिड्नीको सेन्ट्रल कोस्टका म्याट लोयडले डब्बोमा बस्दै आएका विदुर कर्माचार्यको उपचार खर्च जुटाउन नयाँ उपाय निकालेका हुन् । 

अस्ट्रेलियाली नागरिकद्वारा क्यान्सरपीडित नेपाली साथीलाई १६ लाख सहयोग

एक वेबसाइटमा पेज खोलेर १० दिनअघि पैदल यात्रा सुरु गरेका म्याटले २ सय ५० किलोमिटर यात्रा तय गरेका थिए । १० हजार डलर (करिब ८ लाख ५० हजार रुपैयाँ) संकलनको लक्ष्य लिएर पैदलयात्रामा निस्किएका उनी आइतबार यात्रा समाप्त गर्दा १९ हजार डलर (करिब १६ लाख रुपैयाँ) संकलन गर्न सफल भएका छन् ।


सिड्नीको उत्तरी क्षेत्र न्युकासलदेखि सिड्नी सहरसम्म जंगलको बाटो हुँदै उनले यात्रा पूरा गरेका थिए । यात्रा सकिएपछि उनी विदुरलाई भेट्न अस्पताल पुगेका थिए । ‘यो मेरो जिन्दगीकै खुसीको क्षण हो’ उनले कान्तिपुरसँग भने । उनका सहयोगी भावनालाई सम्मान गर्न बिदुरकी श्रीमती बिनु कर्माचार्य सहित केही नेपाली सिड्नीको सर्कुलर कि मा भेला भएका थिए । म्याटले विदुर आफ्नो अत्यन्तै मिल्ने साथीमात्र नभएर यहाँ रहेका नेपालीका लागि उदाहरण भएको बताउँदै उनको उपचार र परिवारलाई केही राहत होस भन्ने उद्देश्यले आफूले पैदलयात्रा गरेको बताए ।


करिब ९ वर्षअघि बिद्यार्थी भिसामा श्रीमतीसहित अस्ट्रेलिया आएका काठमाडौका विदुरलाई ३ महिनाअघि ब्रेन क्यान्सर भएको पत्ता लागेको थियो । अन्य ब्यक्ति सरह नै स्वस्थ उनी अचानक अस्वस्थ बनेपछि उपचारका क्रममा उक्त रोग पत्ता लागेको थियो । सामान्य काम गरेर जिविका चलाइरहेका उनका दुई बच्चा छन् । विदुर अहिले पनि सिड्नीकै अस्पतालमा उपचाररत छन् भने चाँडै निको भएर घर फिर्ने आशामा छन् ।


म्याटले सुरु गरेको सहयोग अभियान नोभेम्बरको ३ तारिखसम्म चल्नेछ भने संकलित सबै सहयोग विदुरको उपचार र परिवारको सहयोगका लागि हस्तान्तरण गर्ने उनको योजना छ ।

प्रकाशित : आश्विन ७, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?