१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एनआरएनए युकेको सदस्यता वितरण अनलाइनबाटै

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अबदेखि सदस्यता अनलाइनबाटै वितरण गर्ने भएको छ । आइतबार लन्डनमा पत्रकार सम्मेलन गरी अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ गरिएको हो ।

एनआरएनए युकेको सदस्यता वितरण अनलाइनबाटै

एनआरएनए युकेलाई डिजिटल बनाउने अभियानको पहिलो चरणमा सदस्यता वितरण सुरु गरिएको एनआरएनए युकेले बताएको छ । भविष्यमा अनलाइन मतदानसहितका अन्य कार्यक्रम पनि थप्ने योजनासमेत सार्वजनिक गरिएको छ ।


कार्यक्रममा एनआरएनए युकेका उपमहासचिव तथा अनलाइन सदस्यता वितरण कार्यक्रमका संयोजक विनय अधिकारीले अनलाइनबाट सदस्यताको फारम बुझाउने विधि र प्रक्रियाहरुबारे भिडियो तथा पावरपोइन्ट प्रिजेन्टेसन प्रस्तुत गरेका थिए । अनलाइन सिस्टमले सदस्यता आवेदन व्यवस्थापनदेखि स्वीकृति र परिचयपत्र वितरणलगायत कार्य सहज र छरितो बन्ने विश्वास उनको छ ।


अब एनआरएन युकेको सदस्यता लिन संस्थाको वेबसाइटमार्फत अनलाइन फारम भरेर शुल्क बुझाउन सकिनेछ । सदस्यता शुल्क बुझाउन डेबिट, क्रेडिट कार्डको साथै पेपालको प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ । एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले अनलाइनबाट छिटो र सहज ढंगले सस्तो शुल्कमा सदस्यता पाउन सम्भव बनेकाले अब सदस्यहरुको संख्या समेत वृद्धि हुने आशा व्यक्त गरे ।


नयाँ व्यवस्थाअन्तर्गत एनआरएन युकेका सदस्यहरुको परिचयपत्र बेलायतबाटै जारी हुने भएकोले विगतमा आइसीसीबाटै सदस्यता कार्डहरु जारी हुने क्रममा देखिएका समस्याहरुको पनि समाधान हुने अपेक्षा गरिएको छ । अनलाइन सदस्यता वितरण सुरु गरिए पनि यसअघि जस्तै कागजी आवेदनहरु पनि लिइने एनआरएनए युकेले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७५ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?