२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बेलायतबाट नेपालको स्वास्थ्य सेवामा सुधारको आशा 

नवीन पोखरेल

लण्डन — उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालको स्वास्थ्य लगायत पूर्वाधार विकासमा बेलायतले पुर्याएको सहयोगको प्रशंसा गरेका छन् ।

बेलायतबाट नेपालको स्वास्थ्य सेवामा सुधारको आशा 

लण्डनस्थित नेपाली दूतावासद्वारा बुधबार आयोजित‘नेपाल-ब्रिटेन हेल्थ कोअपरेशन’नामक कार्यक्रममा बोल्दै उनले आगामी दिनमा पनि बेलायत सरकारबाट यस्तै सहयोग प्राप्त भइरहने आशा व्यक्त गरे। मन्त्री यादवले नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक अधिकार मानेको बताउँदै सरकार सबै जनतालाई गुणस्तरीय सेवा पुर्याउन प्रतिबद्ध रहेको बताए।


वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकार वातावरण संरक्षण गरेर दिगो विकासका लागि प्रतिबद्ध रहेको बताए । उनले भूकम्पपछिको पुर्ननिर्माणमा बेलायत लगायत मित्र राष्ट्रहरुले गरेको सहयोगको प्रशंसा पनि गरे ।


बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल तथा बेलायतबीच रहेको २०० वर्षभन्दा लामो समय बहुआयामिक सम्बन्ध रहेको बताए । उनले बेलायतमा रहेका एकलाख भन्दा बढी नेपालीहरुले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अरु बलियो बनाएको जनाए। उनले बेलायतमा कार्यरत नेपाली चिकित्सक तथा नर्सहरुको सेवाको ब्रिटिश सरकार तथा जनताले निकै प्रशंसा गर्ने गरेको पनि बताए ।


उक्त कार्यक्रममा नेपाली तथा ब्रिटिश चिकित्सकहरुले नेपालको स्वास्थ्य सेवामा सुधार ल्याउन दुई देशबीचको सहयोगलाई अरु सुदृढ बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।


नेप्लीज डक्टर्स एसोसियसन यूकेका अध्यक्ष डा. सविन जोशीले बेलायत लगायत संसारभरी काम गरिरहेका नेपाली चिकित्सकहरु नेपालमा गएर अनुसन्धान तथा सीप स्थानान्तरण गर्न तयार रहेको बताए। तर यसका लागि स्वास्थ्य मन्त्रालयमा एउटा छुट्टै डेस्क खडा गरी समन्वय गर्नुपर्ने सुझाव उनको छ। उनले चिकित्सा सेवामा संलग्न चिकित्सक तथा नीति निर्माताहरुको स्वार्थ बाझिने घटनाहरुलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने बताए ।


'कुनै निजी मेडिकल कलेजमा शेयर भएको चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलको बोर्डमा ल्याइनुहुँदैन । त्यस्तै निजी क्लिनिकमा बिरामी जाँच्ने चिकित्सकहरुले कर तिर्नुपर्छ,' उनले भने ।


ब्रिटेन नेपाल मेडिकल ट्रष्टकी सहअध्यक्ष डा. जिलियन होल्डसवर्थले गएको ५० वर्षमा नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताइन्। उनले ५० वर्ष अघि स्थलमार्ग हुँदै नेपालको यात्रामा गएका ब्रिटिश डक्टर तथा नर्सहरुको टोलीले पूर्वी नेपालमा क्षयरोगीहरुको उपचार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेकेा स्मरण गरिन्। उनले अहिले पनि ट्रष्टले नेपालमा क्यान्सर रोगको उपचारलाई विश्वस्तरको तुल्याउन नेपाली चिकित्सकहरुलाई बेलायतमा तालिम दिलाउने काम गरिरहेको बताइन्।


अर्को कल्याणकारी संस्था हेल्थ एक्सचेन्ज नेपालका अध्यक्ष डा जेरेमी वार्डले आफ्नो संस्थाले नेपालमा शिशु उपचार, मधुमेह रोगको उपचारमा संलग्न नेपाली स्वास्थ्यकर्मीहरुलाई तालिम दिने लगायतका कामहरु गरिरहेको बताए। उनले दुईदेशका स्वास्थ्यकर्मीहरुले एकअर्काबाट निकै सिक्न सक्ने धारणा पनि व्यक्त गरे।


नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष प्रसुना कँडेलले बेलायतमा कार्यरत झण्डै ३ हजार नेपाली नर्सहरुले बेलायतको स्वास्थ्य सेवामा मात्र होइन, भूकम्पपछि नेपाल गएर पनि सेवा पुरयाएको सम्झना गरिन् ।


कार्यक्रममा बेलायतस्थित नेपाली चिकित्सकहरु, नर्सहरु तथा ब्रिटिश चिकित्सकहरुको उल्लेख्य उपस्थिति थियो। एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन लण्डन आएका सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई पनि कार्यक्रममा अतिथिको रुपमा उपस्थित थिए ।

प्रकाशित : आश्विन २५, २०७५ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?