कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एनआरएनएमा अब ६ उपाध्यक्ष

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेतृत्वको संरचनाहरू हेरफेर गर्दै विधान संशोधन गर्ने भएको छ  । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा अब ६ जना उपाध्यक्ष राख्ने गरी विधान संशोधन हुने भएको हो  ।

एनआरएनएमा अब ६ उपाध्यक्ष

हाल एक महिलासहित ३ जना उपाध्यक्ष रहने व्यवस्था छ । एनआरएनएको राजधानीमा जारी सम्मेलनका क्रममा भएको विधानसभा बैठकले उक्त निर्णय गरेको हो । निर्णयअनुसार वैदेशिक रोजगार, लगानी, नेपाली सीपको विकास, एनआरएनए प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताका एनआरएनए विषय हेर्ने गरी छ उपाध्यक्ष रहनेछन् ।

‘विधान सभाले प्रस्तावित विधानलाई अहिलेकै संरचनामा थप व्यवस्थित बनाउँदै लैजाने सहमति बनेको हो,’ एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विधान समितिका संयोजक हेमराज शर्मा र सहसंयोजक भवानीप्रसाद ओलीले प्रस्तुत गरेको विधानमाथि ७ समूहमा विभाजन गरेर छलफल भएको थियो ।’

‘विधान सभाले गरेको निर्णय विशेष महाधिवेशनमा लगेर पारित गर्नु पर्छ,’ एनआरएनएका महासचिव बद्री केसीले बताए । एनआरएनएको दुईवर्षे कार्यकाललाई तीनवर्षे बनाउने प्रस्ताव उठेको थियो । तर, दुईवर्षे नै कायम गर्ने सहमति भएको एनआरएनएले जनाएको छ । सन् २००३ मा स्थापना भएको एनआरएनएको पहिलो पटक विधान संशोधन हुन लागेको हो ।

विज्ञ सम्मेलन जारी
गैरआवासीय नेपालीहरूको पहिलो विश्व विज्ञ सम्मेलन जारी छ । शुक्रबारबाट सुरु सम्मेलनमा शनिबार आधाजसो कार्यपत्रमा छलफल भएका छन् ।
सम्मेलनमा कृषि उत्पादन र ऊर्जामा निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसाहिक शिक्षा, स्वास्थ्य शिक्षालगायत विषयमा विज्ञहरूको छलफल हुनेछ । यसमध्ये अधिकांश विषयमा छलफल जारी रहेको एनआरएनएले जनाएको छ । कृषि, जलविद्युत्, पर्यटनलगायतका विषयका कार्यपत्र आइतबार प्रस्तुत हुनेछन् ।

सम्मेलनमा १ सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् । छलफलको निष्कर्ष श्वेतपत्रका रूपमा सरकारलाई बुझाउने एनआरएनएले जनाएको छ । सम्मेलनमा सहभागी हुन एनआरएन र केही विदेशी विज्ञ नेपाल आएका छन् । कार्यक्रममा ४ सय बढीको सहभागिता छ । उनीहरू १९ वटा छलफल सत्रमा सहभागी हुनेछन् । ती सत्रमा ८० जना विज्ञको टिप्पणी हुने कार्यक्रम छ । टिप्पणीकर्तामध्ये १० जना विदेशी विज्ञ छन् । सम्मेलन आइतबार सकिनेछ ।

प्रकाशित : आश्विन २८, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?