कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

दुप्चेश्वर मेलाको माया भूकम्पले टुटायो !

आश गुरुङ

पञ्चघर (बंगलादेश) — नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत गाउँदागाउँदै गीतमै युवायुवतीबीच मायाप्रेम बस्छ । मनमायालाई गीतमार्फत मन्त्रमुग्ध बनाएर विहे गरेपनि १५ वर्षसम्म सन्तान हुँदैन ।

दुप्चेश्वर मेलाको माया भूकम्पले टुटायो !

गीतमार्फत ‘नौगेडी’ लगाइदिने वचनमा विहे गर्न राजी भएकी मनमायाबाट यतिका वर्षसम्म सन्तान नहुँदा दलितदम्पतीमा घरझगडा हुन्छ । पत्नीलाई ‘नौगेडी’ बनाउनकै लागि लुगा सिलाउने र कुखुरा पालन थालेका च्यान्टेलाई सन्तानको चाहना हुन्छ ।


गाउँघरमै छुवाछुतको समस्या भोग्दै आएका च्यान्टे पल्लोगाउँ लुगा सिलाउन गएका बेला मनमाया गाउँकै पसलेले सन्तानको आश देखाएपछि आफ्नो शरीर सुम्पिन बाध्य हुन्छिन् । पत्नी दुई जिउकी भएको खबर थाहा पाएपछि च्यान्टेमा खुसीको सीमा रहँदैन । उनले पत्नीका लागि ‘नौगेडी’ लिएर आएको हुन्छ । भाले काटेर खुवाउने भन्दै च्यान्टे घरबाहिर निस्कँदा भूकम्प गएपछि गर्भवती मनमाया गम्भीर घाइते हुन्छिन् । अन्तत: मनमायाले संसार छाड्छिन् । सन्तानको मुख हेर्ने र पत्नीलाई ‘नौगेडी’ लगाइदिने च्यान्टेको सपना अँधुरो रहन्छ ।


करिब १ घण्टा १० मिनेटको नाटक सकिँदै गर्दा बंगलादेशको उत्तरी क्षेत्र रङपुर अञ्चल, पञ्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ एक प्रकारको सन्नाटा छायो । नेपाली भाषा र लवज नबुझे पनि कथाको सार र कलाकारको बेजोड प्रस्तुतिका कारण केही बंगालीले आँसु चुवाए । २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारविहीन नेपालीलाई सञ्चारमाध्यमबाट देखेसुनेका उनीहरुले नाटक ‘नौगेडी’ मा पनि त्यही अवस्था देखे ।


‘नौगेडी’ का लेखक तथा निर्देशक पुरु लम्साल नेपालीको कथामा बंगालीको आँसु देखेपछि भावुक बने । ‘विशुद्ध नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटकले भाषा र शब्द नबुझ्नेका आँखा रसाउँछन् भनेर कल्पना पनि गरेको थिएन’ उनले भने ।


आदिइत्यादि समूहको प्रस्तुतिमा मञ्चन गरिएको नाटक ‘नौगेडी’ मा जितेन्द्र सिंह ठकुरी, रीता थापा, जेबी डिसी, इन्द्रप्रसाद आचार्य, पवित्रा खड्का, डा. अशोक थापा, जयराम तिमल्सेना, अनन्तप्रकाश श्रेष्ठ, निर्मला खड्का क्षेत्री, विमला देवकोटा अधिकारी, भीष्मराज जोशी, केदार बोहोरा, मञ्जु गिरीलगायतले अभिनय गरेका थिए ।


आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाका अनुसार नाटकमा रहेका मुख्य विषयवस्तुसँगै लोपोन्मुख काठे गीत, झाँक्री नृत्यलाई दर्शकले मन पराए । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा नाटक विषयमा प्राध्यापनरत डा. थापाले नाटकको अनुसन्धान र शिक्षण गर्ने व्यक्तिले लेखनदेखि प्रदर्शनसम्मका सम्पूर्ण सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको जानकारी लिन आवश्यक रहेकाले अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भएको बताए ।


अक्टोबर ९ देखि १६ तारिखसम्म सञ्चालन भइरहेको पहिलो भूमिज अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ मा नेपाल, भारत, बंगलादेशलगायत देशका नाटक प्रदर्शन गरिएको आयोजक भूमिज थिएटरका अध्यक्ष एवं बंगलादेशी नाटकका निर्देशक सोरकार हैदरले बताए ।


महोत्सवको अवसरमा चित्रकला शिविर र प्रतियोगिता, नाट्य कार्यशाला, साहित्य सम्मेलनलगायत कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार बंगलादेशको केन्द्रीय संस्कृति मन्त्रालयको सहयोगमा नाटक महोत्सव आयोजना गरिएको हो ।

पञ्चगरबाट निर्वाचित बंगलादेशका सांसद नाजमुल हक प्रधानका अनुसार नेपाली संस्कृति बंगलादेशमा देख्न पाउँदा खुसी लागेको बताए । ‘हामीले हाम्रो मौलिक संस्कृति जोगाउनुपर्छ । यसले विश्वमा हाम्रो पहिचान झल्काउँछ’ उनले भने ।

प्रकाशित : आश्विन २८, २०७५ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?