कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरिदै अस्ट्रेलियाको दसैं

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा दसैं टीका थाप्ने,आशिर्वाद लिने, खाने पिउने मात्र नभएर नेपाली कलासंस्कृति र परम्परालाई जर्गेना गर्ने अवसरका रुपमा मनाउन थालिएको छ । 

फेरिदै अस्ट्रेलियाको दसैं

अहिले अस्ट्रेलियाका प्राय:नेपालीका घरमा जमरा राखिएको छ भने नेपाली परम्परागत लुगा खरिद गर्ने क्रम समेत बढेको छ । सप्तमीको दिनदेखि नै दसैंको पुजा गर्ने चलन समेत बढ्दै गएको छ ।


दसैंको अवसर पारेर नेपालबाट आएका कलाकारहरुसँग रमाईलो गर्ने क्रम त छँदैछ एक आपसमा कार्यक्रमको आयोजना गरेर आपसी शुभकामना साटासाट गर्ने क्रम समेत बढेको छ । दसैं नेपालीहरुको महत्वपुर्ण पर्व मात्र नभएर पहिचान समेत भएकाले विदेशमा यसको प्रचार गर्न पनि केही क्षेत्रहरुमा दसैं महोत्सव पनि आयोजना हुन थालेका छन् ।


सांस्कृतिक रुपले समेत दसैंलाई महत्व दिन थालिएको छ । विशेषगरी अस्ट्रेलियामा जन्मिएका दोस्रो पुस्तालाई आफ्नो कलासंस्कृतिका बारेमा जानकारी दिन र विदेशमा समेत परम्परालाई निरन्तरता दिने प्रयासमा यहाँका नेपालीहरु लागिपरेका छन् ।


एकदिन अघि मात्र दक्षिण अस्ट्रेलियामा रहेका नेपाली कलाकारहरु मिलेर ‘लौ फेरि आयो तिहार’ बोलको परम्परागत देउसी भैलो गीत सार्वजनिक गरेका छन् भने दसैंमा सामूहिक टिकाको आयोजना समेत केही स्थानमा गरिएको छ ।


‘हामीले दसैंतिहार जस्ता चाडपर्वको माध्यमबाट आफ्नो कलासंस्कृति,परम्परालाई प्रवर्द्धन गर्ने मात्र नभएर विदेशमा देश चिनाउने कोशिस समेत गरिरहेका छौँ ।’ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का प्रवक्ता डा. रामकृष्ण निरौला सुनाउँछन् ।


यहाँ रहेका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरु दसैंतिहार जस्ता पर्वहरुलाई महत्वका साथ मनाउन थालेकाले समेत दसैंको रौनक बढ्दै गएको छ । नेपालबाट आएका साथीभाईका अभिभावकहरुसँग गएर टीका लगाउने र आशिर्वाद थाप्ने क्रम समेत बढ्दै गएको छ ।


पछिल्लो समयमा १ लाख बढी नेपालीहरु अस्ट्रेलियामा रहेकाले समेत दसैंको महत्व बढ्दै गएको छ । त्यसमा पनि अधिकांश नेपालबाट उच्च शिक्षाका लागि आएका युवाहरु भएकाले समेत अष्ट्रेलियाको दसैं नेपालको भन्दा फरक रौनक र सांस्कृतिक बन्दै गएको हो ।

प्रकाशित : आश्विन ३०, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?