रातभरि जाग्छ सनैया

एकै स्थानमा नेपालीको बाक्लो उपस्थितिले मुख्य चाडपर्वमा रौनक थपिन्छ । सानादेखि ठूला कम्पनीले दसैं मनाउन सहयोग गर्छन् ।
होम कार्की

काठमाडौँ — पोखराका रेशम बस्नेत दसैंमा घर फर्किन नपाए पनि टीका शुक्रबार परेकोमा दंग छन्  । ‘शुक्रबार हाम्रो बिदा हुन्छ, बिहीबार दिनभरि काम सकेपछि राति खसी ढाल्ने योजना छ,’ २३ वर्षदेखि कतारमा कार्यरत बस्नेतले भने, ‘यसपालि महानवमीको रातभरि सनैया जागिरहनेछ  ।

रातभरि जाग्छ सनैया

दसैंका दिन बिदा नपाइएला भनेर सधैं चिन्ता लागिरहने उनले सुनाए । ‘यसपालि भाग्यले साथ दियो, बिदाकै दिन परेछ,’ उनले भने ।


घर फर्किन नपाउनेहरूको आफ्नै खालको दसैं हुन्छ । ‘घर जाने रहर सबैलाई हुन्छ तर जान पाइएन भन्दैमा रोएर बस्ने कुरा हुँदैन,’ गोरखाका रूप रसाइली भन्छन्, ‘परिवारलाई दसैं खर्च पठाइसकेको छु । केही खर्च आफूले पनि राखेको छु । यहाँ साथीभाइको ठूलो जमात छ । उनीहरूसँगै रमाइलो गर्छु ।’


खाडीमा अधिकांश नेपाली कामदारलाई सनैया (औद्योगिक क्षेत्र) मा राखिएको छ । एकै स्थानमा नेपालीको बाक्लो उपस्थितिले मुख्य चाडपर्वमा रौनक थपिन्छ । सानादेखि ठूला कम्पनीले दसैं मनाउन सहयोग गर्छन् । केहीले त नेपाली कामदारलाई दसैं मनाउन खसी नै दिन्छन् । न्यु इमेज कम्पनीमा झन्डै ५ सय नेपाली कामदार छन् । यो कम्पनीले दसंैका लागि ९ वटा खसी उपलब्ध गराउने जनाएको छ । ‘हामीले क्याम्पमै जमरा राखिसकेका छौं, कम्पनीले ९ वटासम्म खसी दिने भनेको छ,’ इमेज कम्पनीका क्याम्पबोस लेटाङ ५, मोरङका चिन्तामणि गौतम भन्छन्, ‘हाम्रो क्याम्पका सबैभन्दा पाका राममणि कँडेल दाइबाट टीका थाप्छौं ।’


खसी नदिने कम्पनीका कामदार पैसा उठाएर आफैं किन्छन् । पछिल्लो समय खाडी अलि खुकुलो भएकाले खुलेर चाडबाडमा रमाउने वातावरण बनेको बस्नेतले बताए । ‘दसैं हाम्रो माटोसँग जोडिएको छ,’ बस्नेत भन्छन्, ‘हाम्रो पर्व बृहत् भइसकेको छ ।’


दुई दशकदेखि कतारमै कार्यरत पोखराका नेहमान नेपालीको छुट्टै अनुभव छ । ‘सुरुसुरुमा यहाँ दसैं आए/गएको थाहै हुन्थेन । काममै भइन्थ्यो । खुलेर पर्व मनाउन गाह्रो थियो । कोठाभित्र साथीभाइ मिलेर जमघट गरिन्थ्यो । टीकाजमरा त परको कुरा थियो,’ उनले भने, ‘बिस्तारै टीका लगाउने चलन भयो । टीका लगाएर कोठाबाहिर निस्कने आँट कसैको थिएन । मुस्लिम देशमा रातो टीका लगाएको थाहा पाए केही गर्लान् कि भन्ने डर हुन्थ्यो ।’ उनले अहिले खाडी निकै खुकुलो भएको बताए । ‘हामी सार्वजनिक स्थलमा जम्मा भएर टीका र जमरा लगाउँछौं, अरबीहरू हामीसँग आएर फोटो खिचाउँछन्,’ उनले भने ।


खोटाङका चानक पोखरेल खाडीमा परिवारको साथ नभए पनि साथीभाइका कारण दसैंको रौनक हुने बताउँछन् । ‘गाउँका साथीभाइ सबै यहीं भेटिन्छन्,’ उनले भने, ‘हामीलाई त यसमै रमाउने बानी परिसक्यो ।’ पछिल्लो समय कतारमा रहेका नेपालीको सामूहिकता बढेको पोखराका हंसराज ढकाल क्षत्री बताउँछन् । ‘राजनीतिक, धार्मिक, जातीय, क्षेत्रीय रूपमा गोलबद्ध हुँदा यस्ता पर्वमा पनि एकता कसिलो भएको छ,’ उनी भन्छन्, ‘इदमा हिन्दु रम्ने वातावरण बन्यो । दसैंमा मुस्लिम साथीभाइ रम्न आउने भए ।’

कतारमा रहेका नेपालीबीच धार्मिक सहिष्णुता रहेको उनी बताउँछन् । ‘एउटा कोठामा चार देशका चारथरी साथीभाइ हुन्छन्, सबैले एक–अर्काको आस्था र संस्कारलाई सम्मान गरेको देख्दा आनन्दानुभूति हुन्छ,’ क्षत्री बताउँछन् ।

प्रकाशित : आश्विन ३१, २०७५ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?