स्तम्भकार लामिछानेलाई जेसिआईको अन्तर्राष्ट्रिय सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वका १२५ राष्ट्रमा आफ्नो सञ्जाल रहेको र मानविय क्षेत्रमा कृयाशिल जुनिअर चेम्बर इन्टरनेश्नल (जेसिआइ)ले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका १० उत्कृष्ट व्यक्तिहरूलाई छनोट गरी सम्मानित गर्दै आएको छ ।

स्तम्भकार लामिछानेलाई जेसिआईको अन्तर्राष्ट्रिय सम्मान

यो वर्ष पहिलोपटक नेपालबाट सहप्राध्यापक डा. कमल लामिछाने प्राज्ञिक क्षेत्रमा पुर्‍याएको योगदान र हासिल गरेका उपलब्धिका कारण यो सम्मान पाउने १० जना भित्र परेका छन् ।

हरेक मुलुकमा रहेको जेसिसका कार्यालयहरूले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका आफ्ना नागरीकहरूलाई सिफारिस गर्न सक्ने व्यवस्था अनुसार लामिछानेलाई यसपटक नेपालबाट जेसिसले सिफारिस गरेको थियो । ३९ मुलुकका ४० वर्षभन्दा कम उमेरका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका २२२ जना व्यक्तिहरू सिफारिस भएकोमा छनोट समितिले सुरूमा उनीहरूले पुर्‍याएको योगदानलाई आधार मानी उत्कृष्ट २० जनाको सूची तय गरेको थियो । त्यसपछि त्यहाँबाट १० जना सम्मानित हुनेहरूको नाम तय गर्न अनलाइन भोटिङ खुला गरिएको थियो ।


जेसिआईले आफ्नो वेबसाइटमार्फत दिएको जानकारी अनुसार उसका अन्तर्राष्ट्रिय अध्यक्षका अलावा वानकी मुन सेन्टर फर ग्लोवल सिटिजन्सका प्रमूख कार्यकारीसहितको ५ सदस्यीय निर्णायक समितिले १० उत्कृष्ट युवा व्यक्तिहरूको सूचीलाई अन्तिम रूप दिएको थियो । डा. लामिछानेसहित सिरिया, मंगोलिया, फिलिपिन्स, बेलायत, नाइजेरिया र टर्कीबाट यो पुरस्कार हासिल गर्न सफल उनीहरूलाई भारतस्थित गोवामा भएको जेसिआइको विश्व सम्मेलनका क्रममा यहि नोभेम्बर २ तारिकका दिन मुखर्जी रंगशालामा एक समारोहका बीच सम्मान गरिएको हो ।


डा. कमल लामिछाने धेरैकालागि अपरिचित नाम होइन । उनी विद्यावारिधी गर्ने नेपालकै पहिलो दृष्टिविहीन व्यक्ति हुन् । दृष्टिविहीन भएकै कारण १२ वर्षको उमेरसम्म पढ्न नपाएका लामिछाने चितवनस्थित कालिका नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा हुन् । उनले सन् २०१० सालमा टोक्यो विश्वविद्यालयबाट पिएचडी गरेका हुन् ।


जापानमा बसोबास गर्ने लामिछाने हाल चुकुबा विश्वविद्यालयका सहप्राध्यपक हुन् । चुकुबामा अध्यापन गर्नु पूर्व उनी जाइका अनुसन्धान केन्द्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत थिए । लामिछानेको विकासोन्मुख मुलुकमा अपांगता, शिक्षा र रोजगारी नामक क्याम्ब्रिज विश्वविद्यालयबाट २०१५ सालमा प्रकाशित पुस्तकलाई जापान सोसाइटी फर इन्टरनेश्नल डिभेलोपमेन्टले २०१६ सालमा पुरस्कृत गरेको थियो ।


प्रकाशित : कार्तिक १८, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?