कुटपिट पछि पत्रकार राईलाई मिल्ने दबाब

कान्तिपुर संवाददाता

न्यूयोर्क — समाचारको विषयलाई लिएर पूर्व कान्तिपुरकर्मीलाई कुटपिट गरिएको छ । शुक्रबार रातिको एक कार्यक्रमस्थल बाहिर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले पत्रकार लोकमणि राईलाई कुटेका हुन् । 

कुटपिट पछि पत्रकार राईलाई मिल्ने दबाब

स्थानीय उडसाइटमा आयोजित तिहार कार्यक्रम चल्दै थियो । एक परिचित आएर पत्रकार राई ‘एकछिन बाहिर जाउ न’ भन्दै कार्यक्रमस्थल बाहिर लिएर गएका थिए । सो मौकामा उमेश राईले ‘ अपशब्द प्रयोग गर्दै 'मुख्यमन्त्रीको विषय जे पायो त्यही लेख्ने पत्रकार तै होस' भन्दै पत्रकार राईको अनुहारमा मुक्का हानेका थिए । घाइते राई लगत्तै एम्बुलेन्स मार्फत स्थानीय एलमहर्स्ट हस्पिटलको इमरजेन्सीमा भर्ना गरिएको थियो । ६ घण्टापछि राईलाई डिस्चार्ज गरिएको थियो ।


कान्तिपुरसँग कुरा गर्दै पत्रकार राईले भने, ‘कुटपिट गरिएको मेडिकल परीक्षणको प्रमाण सहित प्रहरीमा उजुरी गरेको छु । दोषी माथि कारबाहि हुनुपर्छ ।’


अमेरिकामा हातपातको घटनालाई गम्भीर मानिन्छ र सोही अनुरुप कानुनी दण्डको व्यवस्था छ । प्रहरीमा उजुरी र कानुनी प्रक्रियामा गएपछि पत्रकार राई माथि विवादलाई सामसुम पार्न र मिल्नुपर्छ भन्दै अहिले दबाब आएको छ । ‘कुटपिट गर्नेहरुदेखि समुदायका केही मानिसहरु मिल्नुपर्छ भन्दै म माथि दबाब गरिरहेका छन् । मलाई एकदमै तनाव भइरहेको छ,’ राईले भने ।

राई माथिको कुटपिटको घटनालाई सर्वत्र विरोध गरिएको छ । अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजा र इन्जाले घटनाको भर्त्सना गरिएका छन् । नेजाका महासचिव किरण मरहट्ठाले कान्तिपुरसँगको कुराकानीमा समाचारको विषयलाई लिएर अमेरिकामा पत्रकार कुटिनु गम्भीर एवं निन्दनीय भएको बताए ।


स्थानीय बिआरटीडमकम नामक न्युज पोर्टलमा पत्रकार राईले मुख्यमन्त्री राई थाइल्याण्डबाट अमेरिका आएको र विवादास्पद केही संस्था एवं व्यक्तिहरुले अमेरिकामा स्वागत कार्यक्रम गरेको समाचार लेखेका थिए ।


मुख्यमन्त्री राईको स्वागतमा एक विवादास्पद संस्थाका प्रमुख समेत सरिक भएको समाचारमा उल्लेख थियो । त्यसैगरी समाचारमा राष्ट्रसंघको महासभाको क्रममा प्रधानमन्त्री केपी ओलीको विरोधको प्रसंग उल्लेख गर्दै तीनै विरोधीहरु अहिले मुख्यमन्त्री राईको स्वागतमा लागिपरेको भन्दै दोहोरो मापदण्डको संज्ञा दिइएको थियो । उपचार गर्न थाईल्याण्ड आएका मुख्यमन्त्री राई मंगलबार अमेरिका आएका थिए ।

प्रकाशित : कार्तिक २४, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?