१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मेलबर्नमा छुरा प्रहारबाट एकको हत्या, दुई घाइते

घटना आतंकवादी भएको प्रहरीको भनाई
नारायण खड्का

अष्ट्रेलिया — मेबलर्नको अति व्यस्त स्थान बर्क स्ट्रिटमा शुक्रबार एक युवाले जथाभावी छुरा प्रहार गरेर एक जनाको हत्या गरेका छन् भने दुईजनालाई घाइते बनाएका छन् ।

मेलबर्नमा छुरा प्रहारबाट एकको हत्या, दुई घाइते

प्रहरीले घटना आतंकवादबाट प्रेरित भएको र पीडकले जतिसक्दो धेरै हानी पुऱ्याउने उद्देश्य राखेको बताइएको छ ।


स्थानीय सञ्चारमाध्यमहरुका अनुसार करिब ३० वर्षका हसन खलिफ सायर अलिले व्यस्त सहरमा उक्त क्षेत्रमा जथाभावी धारिलो चक्कुले आक्रमण गरेका थिए । उनले गरेको आक्रमणमा ७४ वर्षीय एक ब्यक्तिको मृत्यु भएको छ भने घाइते ५४ र २४ वर्षका दुईजनाको अस्पतालमा उपचार भइरहेको छ । अलिको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार अलिले जथाभावी छुरा प्रहार गर्नुअघि ग्यास भरिएको कारलाई मेलबर्नको व्यस्त क्षेत्रमा दुर्घटना गराएका थिए । अलि सोमालियाबाट सन् १९९० मा अष्ट्रेलिया आएको बताइएको छ ।


समाचारमाध्यमहरुका अनुसार अलि मेलबर्नको प्रहरी र अष्ट्रेलियाको केन्द्रीय प्रहरीको जानकारीमा रहेका थिए भने उनको पासपोर्ट सन् २०१५ मा रद्द गरिएको थियो । उनी कट्टरपन्थी बिचारधाराबाट प्रेरित भएको र इस्लामिक स्टेटसँग आवद्ध भएको समेत बताइएको छ । उनी प्रहरीको जानकारीमा रहेको भएपनि उनले राष्ट्रिय सुरक्षामा तत्कालै कुनै हानी नपुऱ्याउने मुल्यांकन गरिएका कारण प्रहरीको सक्रिय निगरानीमा नरहेको समेत उल्लेख गरिएको छ । सार्वजनिक घटनाको भिडियोमा अलिले प्रहरीहरुलाई समेत आक्रमणको प्रयास गरेको देखिन्छ ।


प्रहरीले घटनाको थप अनुसन्धान गर्दै मेलबर्नको मेडओ हाइट्स र वेरिबीमा छापा मारेको छ भने मेलबर्नको अवस्था सामान्य बनिरहेको समेत जनाइएको छ । भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रयुले प्रहरीले घटनालाई नियन्त्रणमा लिन गरेको बहादुरीलाई उच्च प्रशंसा गरेका छन् ।


अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कट्टरपन्थी, उग्र इस्लाम अष्ट्रेलियाको राष्ट्रिय सुरक्षामा चुनौती बनेको बताउँदै आफूले धार्मिक स्वतन्त्रताको रक्षा गर्ने भएपनि धार्मिक अतिवादको अन्त्य हुनुपर्ने स्पष्ट पारेका छन् ।

प्रकाशित : कार्तिक २४, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?