कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलेजो जोडिएका भुटानी बालिकाको सफल शल्यक्रिया

नारायण खड्का

अष्ट्रेलिया — कलेजो जोडिएका १४ महिनाका दुई भुटानी बालिकालाई मेलबर्नका चिकित्सकहरुले सफलतापूर्वक छुट्टयाएका छन् । शरीर जोडिएका निमा र दावा उपचार गराउनका लागि आफ्नी आमासँग करिब २ महिनाअघि अष्ट्रेलिया आइपुगेका थिए । 

कलेजो जोडिएका भुटानी बालिकाको सफल शल्यक्रिया

मेलबर्नमा रहेको मेलबर्न रोयल चिल्ड्रेन अस्पतालमा पेडियाट्रिक सर्जन डा. जो क्रामेरीको नेतृत्वमा सम्पन्न भएको उक्त सर्जरी ६ घण्टासम्म चलेको थियो । सर्जरीमा करिब डेढ दर्जन बढी स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

उक्त सर्जरीबाट उनीहरुको जोडिएका अंगलाई अलग अलग रुपमा बाँडिएको छ । चिकित्सकहरुका अनुसार उनीहरुको शरीरको मुख्य भागका साथै कलेजो समेत जोडिएको थियो । चिकित्सकहरुले कलेजो छुट्टयाउने प्रक्रिया आफूहरुले सोचेभन्दा अलि कठिन रहेको बताए पनि उनीहरुलाई सफलतापूर्वक अलग गरिएको छ ।

चिकित्सकहरुले शरीर छुट्टयाएका दुबै बालिकाहरु उपचाररत रहेको बताएका छन् । उनीहरुको सर्जरीमा सर्जनहरुका साथै, एनेस्थेटिस्टस र नर्सहरुको टोली सहभागी थियो ।

चिकित्सकहरुले यस किसिमको सर्जरी सामान्य नरहेको बताएका छन् । केही साताअघि नै हुनपर्ने उनीहरुको सर्जरी बालिकाहरुको शरीरमा पर्याप्त पौष्टिक पदार्थ नरहेको भन्दै पछि सारिएको थियो । ३ लाख ५० हजार डलर (करिब ३ करोड रुपैया) खर्च लागेको बताइएको उक्त सर्जरीको सबै खर्च भिक्टोरिया राज्य सरकारले तिरिदिएको छ ।

उनीहरु उपचारका लागि मेलबर्न आएको केही समयपछि भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रयुले उनीहरुको खर्च आफ्नो सरकारले व्योहोर्ने आश्वासन दिएका थिए । यसैगरी बिरामीको हेरचाह तथा परिवारलाई अष्ट्रेलियामा रहनका लागि सहयोग गर्ने उद्देश्यले सार्वजनिक रुपमा सहयोग समेत संकलन गरिएको थियो ।

प्रकाशित : कार्तिक २४, २०७५ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?