२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लगानीकर्ता आकर्षित गर्न लन्डनमा विकास सम्मेलन

कान्तिपुर संवाददाता

लन्डन — ब्रिटिश लगानीकर्ता आकर्षित गर्ने एउटा पहल स्वरुप लन्डनस्थित नेपाली दूतावासमा ‘नेपाल विकास सम्मेलन ४’ भएको छ ।

लगानीकर्ता आकर्षित गर्न लन्डनमा विकास सम्मेलन

नेपाली दूतावास र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शद्वारा संयुक्त रुपमा मंगलबार साँझ सम्मेलन आयोजना गरिएको हो ।


सम्मेलनमा बेलायत तथा नेपालका सरकारी अधिकारीहरुले राजनीतिक स्थायित्वसँगै नेपालमा लगानी गर्न अब उपयुक्त समय आएको धारणा राखे । वक्ताहरुले नेपालमा व्यापार तथा लगानीका सम्भावनाबारे प्रेजेन्टेसन समेत दिए ।


नेपालमा विशेषगरी हाइड्रो, शिक्षा स्वास्थ्य, पर्यटन एवं भौतिक पूर्वाधारमा लगानी उपयुक्त रहेको वक्ताहरुले जोड दिएका थिए ।


परराष्ट्र सचिव शंकरदास बैरागीले नेपालको शान्तिप्रक्रिया र भूकम्प पछिको पुर्ननिर्माणमा ब्रिटेन र ब्रिटिश जनताले पुर्‍याएको सहयोगको प्रशंसा गरे । उनले नेपालका सबै राजनीतिक दलहरु देशमा व्यापार र लगानीका लागि राम्रो वातावरण बनाउन प्रतिबद्ध रहेको बताउँदै भारत र चीनजस्ता दुई ठूला मुलुकहरुबीच रहेको नेपाल लगानीका लागि उपयुक्त स्थल रहेको धारणा राखे ।


ब्रिटिश संसदको अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका उपाध्यक्ष लर्ड शेखले चीन तथा भारतसँग जोडिएको नेपालमा दीर्घकालिन लगानीका थुप्रै अवसर रहेको बताए । उनले जलविद्युत,सडक,स्वास्थ्य,शिक्षा जस्ता क्षेत्रमा धेरै ब्रिटिश कम्पनीहरुले लगानी गरुन् भन्ने आफूले चाहेको पनि उल्लेख गरे ।


अर्का वक्ता लर्ड अर्ल अफ स्यान्ड विचले नेपालमा स्थिर अर्थतन्त्र सहितको सामाजिक सुधार आवश्यक रहेको औंल्याए । उनले काठमाडौंस्थित द ब्रिटिश कलेज नेपालमा ब्रिटिश लगानीको एउटा सफल उदाहरण रहेको पनि उल्लेख गरे ।


नेपालका लागि ब्रिटिश राजदूत रिचार्ड मोरिसले नेपालको आर्थिक विकासमा सघाउन ब्रिटेन सधैं तत्पर रहेको बताए । उनले ब्रिटेनले नेपालको लगानी बोर्डलाई सघाउनुका साथै अरुण तेश्रो जलविद्युत योजनाका लागि रकम जुटाउन पनि सघाइरहेको जानकारी दिए । उनले ब्रिटेन ईयूबाट बाहिरिएपछि पनि नेपालसँगको व्यापारमा कुनै असर नपर्ने बताउँदै आफूहरुले समृद्ध नेपाल हेर्न चाहेको जनाए ।


बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपाल कूटनीतिक सम्बन्ध र नेपालको राजनीतिक घट्नाक्रमबारे चर्चा गर्दै ब्रिटिश लगानीकर्ताहरुलाई स्वागत गर्न आफ्नो सरकार उत्सुक रहेको बताए ।


उक्त अवसरमा बेलायतको स्वान्सी विश्वविद्यालयबाट पिएचडी गरिरहेका रामहरि पौड्यालले नेपालको उर्जा क्षेत्रमा वैदेशिक लगानीको सम्भावनाबारे र ब्रिटेनको डिपार्टमेन्ट अफ इन्टरन्यासनल डिपार्टमेन्टमा कार्यरत भेरिटी म्याक्रमले आफ्नो मन्त्रालयले नेपालमा पुर्‍याइरहेको सहयोगबारे प्रस्तुति दिएकी थिइन् ।


त्यस्तै नेपालमा वैदेशिक लगानीका सम्भावना विषयमा प्रस्तुति दिंदै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष तथा द ब्रिटिश कलेजका सञ्चालक राजन कँडेलले नेपाल विदेशी लगानीका लागि खुला र तयार रहेको बताए ।


उनले दक्षिण एसियाली मुलुकहरुकै तुलनामा नेपालमा लगानीकर्ताहरुलाई करमा उल्लेख्य सुविधा उपलब्ध रहेको बताउँदै सरकारले भिसा लगायत अन्य सुविधाहरु दिइरहेको जानकारी पनि दिए । उनले विकासशील मुलुक नेपालमा अझै पनि कयौं चुनौतीहरु रहेको बताउँदै ब्रिटिश लगानीकर्ताहरुलाई सघाउन च्याम्बर सधैँ तयार रहेको जानकारी दिए ।


कार्यक्रमको अन्त्यमा नेपाली मौलिक नृत्यहरु पनि प्रस्तुत गरिएका थिए ।

प्रकाशित : कार्तिक २८, २०७५ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?