न्यूजिल्याण्ड र ब्रिसबनमा नेपाल महोत्सव

नारायण खड्का

अष्ट्रेलिया — विदेशमा नेपाली कला संस्कृति, परम्परा र पर्यटनको प्रवद्र्धन तथा प्रचार गर्ने उद्देश्यका साथ अष्ट्रेलियाको ब्रिसबन र न्यूजिल्याण्डको अकल्याण्डमा नेपाल महोत्सव सम्पन्न गरिएको छ । 

न्यूजिल्याण्ड र ब्रिसबनमा नेपाल महोत्सव

न्यूजिल्याण्डमा यस वर्ष स्थानीय नेपालीहरुको संस्था न्यूजिल्याण्ड नेपाल सोसाईटीले महोत्सवको आयोजना गरेको थियो भने ब्रिसबनमा एनआरएनएको आयोजनामा महोत्सव सम्पन्न भएको थियो । दुवै स्थानमा आयोजना गरिएको महोत्सवमा बिहानै विभिन्न झाँकी, परम्परागत पोशाकसहित नेपाली झण्डा फहर्‍याएर आयोजित नेपाल परेड मुख्य आकर्षणको केन्द्र बनेको थियो । परेडमा नेपालीहरुका साथै विदेशीहरुले समेत उत्सुकताका साथ सहभागिता जनाएका थिए ।


ब्रिसबनमा आयोजित महोत्सवमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल हाउसको स्थापना गरिएको थियो । नेपाल हाउसको माध्यमबाट नेपालको पर्यटकीय क्षेत्र तथा कला संस्कृतीको बारेमा विदेशीहरुलाई जानकारी गराइएको थियो ।


यसका साथै नेपाली खानाको स्टल समेत आकर्षण बनेको थियो जहाँ सेलरोटी लगायतका विभिन्न नेपाली परिकारहरु उपलब्ध गराइएको थियो । ‘नेपाल महोत्सवको मुख्य उद्देश्य नै विदेशीहरुलाई नेपालको पर्यटकीय क्षेत्र तथा कला संस्कृतीको बारेमा जानकारी गराउनु थियो र हामी सफल भएका छांै,’ ब्रिसबनमा आयोजित नेपाल महोत्सवका संयोजक तथा एनआरएन उपादक्ष्य सन्तोष कुंवरले कान्तिपुरसँग भने ।


न्यूजिल्याण्डमा उक्त क्षेत्रका स्थानीय आदीवासीहरुको सांस्कृतिक माहुरी नृत्यको प्रस्तुतीले समेत दर्शकहरुको मन जितेको थियो । महोत्सवका संयोजक दिनेश खड्काले न्यूजिल्याण्डबासी नेपालीहरुको प्रस्तुती र कला संस्कृतिप्रति आकर्षित भएको अनुभव सुनाए । उनले प्रथम सगरमाथा आरोही न्यूजिल्याण्डका सर एडमण्ड हिलारीकी श्रीमती जुन हिलारीको सहभागिताले समेत महोत्सवको महत्व बढाएको जानकारी दिए ।


कार्यक्रमहरुमा नेपालबाट आएका कलाकारहरुको प्रस्तुतीले समेत सहभागीहरुलाई भरपुर मनोरञ्जन दिलाएको थियो । ब्रिसबनमा गायक सुगम पोखरेल, राजेश पायल राई, शिव हमाल, तृष्णा गुरुङ र विश्व नेपालीले प्रस्तुती दिएका थिए । न्यूजिल्याण्डमा नेपाली सांगितिक ब्याण्ड कुटुम्बले प्रस्तुती थियो । कार्यक्रमहरुमा नेपाली राजदुत लक्की शेर्पाका साथै न्यूजिल्याण्ड तथा अष्ट्रेलियाका स्थानीय नेताहरु, एनआरएनका प्रतिनिधीहरुका साथै अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुले सहभागिता जनाएका थिए ।


प्रकाशित : मंसिर २, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?