सहयोग बढाउन बेलायतसँग आग्रह

लन्डन — बेलायत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलले सहयोग वृद्धि गर्न बेलायत सरकारसँग आग्रह गरेको छ ।

सहयोग बढाउन बेलायतसँग आग्रह

विदेश मन्त्रालय (एफसीओ) मा बिहीबार भएको बेलायत-नेपाल चौंथो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका क्षेत्रमा सहयोग बढाउन परराष्ट्र सचिव शंकरदास बैरागीको नेतृत्वको टोलीले आग्रह गरेको हो । सचिव बैरागीको टोली अहिले बेलायत भ्रमणमा छ ।

बैठकमा राजनीतिक, आर्थिक र सामाजिक विकासका मुद्दाबारे समेत छलफल भएको जनाइएको छ ।‘विशेषगरी नेपाल सरकारको आर्थिक विकासका एजेन्डामा बेलायती सहयोगबारे विस्तृत छलफल भयो’, दूतावास स्रोतले भन्यो, ‘व्यापार तथा लगानी, पर्यटन र अन्य क्षेत्रको विकासमा पनि हामीले बेलायती सहयोगलाई जोड दियौं ।’ शिक्षा र सैन्य सहयोग एवं संस्कृति तथा पर्यटन प्रवर्द्धन आदि विषयमा समेत छलफल भएको छ ।


त्यस्तै दुई देशबीच उच्चस्तरीय भ्रमण, भूतपूर्व गोर्खाहरुका समस्याको दीर्घकालीन समाधान, हवाइ सेवा र सुरक्षा, दोहोरो कर उन्मुक्ति सम्झौताबारे पनि छलफल भएको छ । दोहोरो कर उन्मुक्ति सम्झौताका लागि छलफल गर्न नेपालबाट एक प्रतिनिधिमण्डल यही नोभेम्बर २६ मा लन्डन आउने कार्यक्रम छ । २६ देखि ३० सम्म चल्ने बैठकमा दोहोरो कर उन्मुक्ति सम्झौताबारे विस्तृत छलफल हुने दूतावास स्रोतले जनाएको छ ।


संयन्त्र बैठक दुई देशको सरकारले पालै पालो गर्ने गर्छन् । जसमा सरकारदेखि जनतासम्मका हरेक विषयमा छलफल हुन्छ । गत वर्ष संयन्त्र बैठक काठमाडौंमा भएको थियो ।


बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव बैरागी र बेलायतको नेतृत्व ब्रिटिस डिप्लोम्याटिक सर्भिस हेड तथा परमानेन्ट अण्डर सेक्रेटरी सर साइमन म्याक डोनल्डले गरेका थिए । नेपालले बेलायतसँग सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना गरेको हो ।


यसैबीच, परराष्ट्र सचिव बैरागीले दुई बेलायती मन्त्री, दुई सचिव, ब्रिटिस आर्मीका डेपुटी चिफलगायत उच्च पदस्थ पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेट गरेका छन् । बैरागीले बिहीबार बेलायतका आर्मड फोर्सेस (रक्षा) राज्यमन्त्री मार्क ल्यानकास्टरसँग लन्डनस्थित ल्यांकास्टर हाउसमा भेटी भूपू गोर्खाहरुको समस्या दीर्घकालीन समाधानबारे कुराकानी गरेका थिए । यसअघि गोर्खा समस्या समाधान गर्न भएका विभिन्न बैठकमा बेलायत सरकारको नेतृत्व मन्त्री ल्यानकास्टरले नै गरेका थिए । भूपू गोर्खाहरुले लामो समयदेखि समान पेन्सनलगायत सेवा सुविधा माग राखेर आन्दोलन गर्दै आएका छन् ।


सचिव बैरागीले गत १३ नोभेम्बरमा स्यान्डहर्स्टस्थित आर्मी मुख्यालय भ्रमणका क्रममा डेपुटी चिफ अफ ब्रिटिस आर्मी लेफटिनेन्ट जेनरल निच पोपसँग भेटी गोर्खाकै समस्याबारे छलफल गरेका थिए ।


नेपाली प्रतिनिधिमण्डलमा राजदूत दुर्गाबहादुर सुवेदी, उद्योग सहसचिव रविशंकर सैंजु, परराष्ट्र सहसचिव घनश्याम भण्डारी, उपसचिव युवराज पाण्डेलगायत थिए ।

प्रकाशित : मंसिर २, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?