कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियाका व्यापारीद्वारा स्वास्थ्यको कागजात संकलन 

होम कार्की

काठमाडौँ — मलेसियामा कामदार सप्लाई गर्ने वार्सिन समूहका बजार निर्देशक याङ अबुल कासिमले काठमाडौंमा ‘फोमेमा’ को सदस्य दिलाइदिने भन्दै इच्छुक स्वास्थ्य संस्थाको प्रमाणपत्र संकलन गरेका छन् ।

वैदेशिक रोजगारका लागि मलेसिया पुगेका कामदारको स्वस्थ्य परीक्षण ‘फोमेमा’ ले गर्छ । मलेसियाले नेपालमा फोमेमा राख्नका लागि आफ्नो कम्पनीलाई अधिकार दिएको भन्दै हानिफले म्यानपावरमार्फत स्वास्थ्य संस्थाको कागजात संकलन गरेका हुन् ।


उनले फोमेमाको सदस्य भएबापत २० लाख रुपैयाँ दिनुपर्ने सर्त राखेका छन् । हनिफको साथमा अन्य चार मलेसियाली पनि काठमाडौं आएका छन् ।


३० गते काठमाडौं आई हयात होटलमा बसेका हनिफले होटलमै केही नेपाली व्यापारीलाई बोलाई मलेसिया सरकारले स्थापना गर्न लागेको संयन्त्रको हिस्सेदार बनाउने भन्दै सम्झौतासमेत गरेका थिए । उनले नेपाल, इन्डोनेसिया र बंगलादेशको जिम्मेवारी पाएको नेपाली व्यापारीसमक्ष बताउने गरेको एक व्यापारीले जानकारी दिए । तर, आफ्ना गतिविधिबारे सरकारले निगरानी गरेको थाहा पाएपछि हनिफ यात्रा छोट्याएर आइतबार साँझ मलेसिया फिर्ता भएका छन् ।


‘नेपालमै फोमेमा राख्ने भन्दै स्वास्थ्य संस्थाको प्रमाणपत्र संकलन गरेको हो । हाम्रा केही साथीहरूले बुझाएका छन्,’ कामदारको स्वास्थ्य परीक्षण गर्न अधिकार पाएको एक स्वास्थ्य संस्थाका सञ्चालकले भने, ‘यो कार्यका लागि केही म्यानपावर पारिचालित छन् । एउटा म्यानपावरले दुईवटा संस्थाको कागजात संकलन गरेका छन् ।’ नेपाल र मलेसियाबीच दुईपक्षीय श्रम समझदारीमा कामदारको स्वास्थ्य परीक्षण, सुरक्षा जाँच गर्नका लागि दुई संयन्त्र स्थापना गर्ने उल्लेख छ । जेठ २ सम्म मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३९ वटा बायोमेडिकल स्वास्थ्य संस्थाले गर्दै आइरहेको थियो ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणमा एकाधिकार भएको भन्दै ती स्वास्थ्य संस्थामार्फत मात्रै स्वास्थ्य परीक्षण गर्ने कार्यलाई खारेज गरेको थियो । कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले २ सय ३७ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । सरकारले गुणस्तर कायम गर्ने निजी तथा सरकारी अस्पतालबाट कामदारको स्वास्थ्य परीक्षण गर्ने निर्णय लिएको छ । ‘हामीले एउटा कम्पनीको एकाधिकार हटाएका छौं । फेरि अर्को खालको एकाधिकार स्वीकार गर्दैनौं,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘त्यस्तो कार्यमा संलग्न संस्थाको प्रमाण भेटिए तुरुन्तै कारबाही गर्नेछु ।’

प्रकाशित : मंसिर ३, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?