अस्ट्रेलियाबाट गुरु मञ्जरी

नारायण खड्का

अस्ट्रेलिया — विभिन्न ७ देशमा रहेका गुरुपुरोहितहरु मिलेर गुरु मञ्जरी नामक संस्थाको सुरुवात गरेका छन् । यो संस्था नेपाली गुरुपुरोहित तथा पण्डितहरु मिलेर सुरु गरिएको पहिलो सामाजिक संस्था भएको दाबी गरिएको छ ।

अस्ट्रेलियाबाट गुरु मञ्जरी

विदेशमा रहेका नेपालीहरुलाई नेपाली परम्परागत, धार्मिक र सांस्कृतिक कर्महरु गराउनका लागि सहयोग पुर्‍याउने उद्देश्यका साथ संस्था स्थापना गरिएको उनीहरुले बताएका छन् ।


अस्ट्रेलियाबाट औपचारिक रुपमा सुरु गरिएको संस्थामा नेपाल, अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, क्यानाडा र न्युजिल्याण्डका २१ जना पण्डित तथा पुरोहितहरु रहेका छन् । पत्रकार सम्मेलनमा संस्थाका संयोजक प्रकाश ढोडारीले ज्योतिषी परामर्शका साथै वास्तु सम्बन्धि विविध सेवाहरु समेत प्रदान गरिने जानकारी दिए ।


विदेशमा रहेका नेपालीहरु आफ्नो धर्म र परम्पराप्रति जागरुक रहेकाले समेत उनीहरुलाई सहज र सरल सेवा पुर्‍याउने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको मेलबर्नका ज्योतिषविद् राजु शर्मा भेटवालले जानकारी दिए ।


पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार संस्थाले विवाह गर्न चाहने र कानुनी रुपले योग्य युवायुवतीहरुलाई उपयुक्त प्लेटफर्म उपलब्ध गराउने उद्देश्यका साथ ‘मेरो स्वयंबर’ नामक संस्थाको समेत शुरुवात गरिएको छ ।


संयोजक ढोडारीले मेरो स्वयंबरको उद्देश्य कसैलाई विवाह गराइदिन विदेश ल्याउने वा भिषा मिलाइदिने लगायतको नभई विवाह गर्न चाहनेहरुका लागि मध्यस्थताको मात्र काम गर्नु रहेको प्रस्ट पारे ।


संस्थामा न्युयोर्कबाट उद्धब शास्त्री र रमनराज शास्त्री, वासिङटनबाट राजेन्द्र खनाल, टेक्सासबाट भवानीशंकर शास्त्री, क्यालिफोर्नियाबाट बासुदेव घिमिरे रहेका छन् । यसैगरी नेपालबाट मुकुन्द शर्मा, बेलायतबाट दुर्गाप्रसाद पोखरेल र जगदिश पौडेल, क्यानाडाबाट धर्मदाश शास्त्री र जगदिश गैरे, न्युजिल्याण्डबाट घनश्याम काफ्ले र जापानबाट भगिरथ सापकोटा लगायतका पण्डितहरु रहेका छन् ।


संस्थाले हरेक देशका नियम कानुनमा रही धार्मिक, परम्परागत र सांस्कृतिक कर्महरुमा सहयोग पुर्‍याउने जानकारी दिइएको छ ।

प्रकाशित : मंसिर ११, २०७५ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?