कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालीसमेत काम गर्ने मलेसियाको प्रतिष्ठित कम्पनीमाथि ‘श्रम शोषण’ को आरोप 

काठमाडौँ — मलेसियाका दुई ठूला कम्पनीहरुमा कार्यरत विदेशी कामदारहरुमाथि श्रम शोषण भएको एक रिपोर्ट सार्वजनिक भएपछि मलेसियाली श्रम बजारमा खैलाबैला भएको छ । 

नेपालीसमेत काम गर्ने मलेसियाको प्रतिष्ठित कम्पनीमाथि ‘श्रम शोषण’ को आरोप 

बेलायतस्थित ‘द गार्जियन’ पत्रिकाले केही दिनअघि टप ग्लोबल र डब्लू आरपी एसिया प्यासिफिक नामक कम्पनीहरुमा कामदारमाथि श्रम शोषण गरिएको पाइएको भन्दै एक अनुसन्धानात्मक रिपोर्ट प्रकाशन गरेको थियो ।

रबरको पञ्जाहरु निर्माण एवं बिक्री गर्ने विश्वमै ठूलामध्येका दुई कम्पनीमा कार्यरत विदेशी कामदारलाई गैरकानुनी ढंगले धेरै समयसम्म काममा लगाइएको, पारिश्रमिक रोकिएको, होस्टल अव्यवस्थित भएको र राहदानी कब्जामा राखिएकोलगायतका कामदारका अधिकारहरु हनन् भएको पाइएको उक्त पत्रिकाको रिपोर्टमा उल्लेख छ ।

द गार्जियनले ती कम्पनीमा कार्यरत नेपाली र बंगलादेशी विभिन्न १६ जनासँग अन्तर्वार्ता गरेपछि त्यहाँ कामदारको अधिकारको हनन् भएको उक्त रिपोर्टमार्फत खुलासा गरेको हो ।

तर दुई कम्पनीहरुले उक्त विषयमा केही दिनअघि विज्ञप्ति प्रकाशन गर्दै कामदारहरुले लगाएको आरोपको खण्डन गरेका छन् । उनीहरुले उक्त रिपोर्ट ‘झुठो’ भएको दाबीसमेत गरेका छन् ।

उनीहरुले वक्तव्यहरु प्रकासित गरेर अन्तर्राष्ट्रिय र राष्ट्रिय श्रम कानुन अनुसार नै कामदारहरुमाथि व्यवहार गरिएको भन्दै आफ्नो बचाउ गरेका छन् । उनीहरुले कामदारले राहदानी हराउन सक्ने भन्दै कामदारकै आग्रह अनुसार राहदानीको सुरक्षा गरिराखिएको बताएका छन् ।

विश्वका विभिन्न मुलुकमा पञ्जा निर्यात हुने गरेको र हजारौं कामदार कार्यरत मुलुककै प्रतिष्ठित मानिएको उक्त कम्पनीमाथि गम्भिर आरोप लागेपछि मानव संशाधनमन्त्री एम कुला सेगरनलेसमेत कम्पनीको फ्याक्ट्री भ्रमण गरेका छन् । उनले आफुलगायत मन्त्रालयका अधिकारीहरुसहितको टोलीले गत शुक्रबार उक्त कम्पनीको फ्याक्ट्रीको भ्रमण गरेको तर रिपोर्टमा आरोप लगाइए जस्तो नपाइएको बताए ।

‘हामीले त्यहाँ कार्यरत कामदारहरुलाई भेट्यौं । तर कानुन विपरित काममा लगाइएको भेटिएन’ ती कम्पनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सबै रोजगारसम्बन्धी कानुन अनुसारै भएको पाइयो । बढी कमाई गर्न सकिने भएकाले कतिपय कामदारकै माग र नियमानुसार नै ओभरटाइम उपलब्ध गराइएको थाहा हुन आएको छ ।’

मलेसियामा एकजना कामदारले प्रतिमहिना १ सय ४ घण्टासम्म ओभर टाइम काम गर्न पाउने कानुनी प्रावधान छ । मलेसियाले आगामी वर्ष आफ्नो श्रम कानुनमासमेत व्यापक फेरबदल गर्ने तयारी गरिरहेको छ ।

बुधबार कान्तिपुरसँगको सम्पर्कमा आएका त्यहाँ कार्यरत केही नेपाली कामदारले आफुहरुको राहदानी कम्पनीले राख्ने गरेको बताए । तर उनीहरुले अन्य विषयमा भने प्रतिक्रिया दिन मानेनन् ।


रबरको पञ्जाहरु तयार पार्ने र विक्री वितरण गर्ने कम्पनीहरुमध्ये टप ग्लोब विश्वमै सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो । उक्त कम्पनीका ४० वटा फ्याक्ट्री छन्, जहाँ हजारौंको संख्यामा नेपालीलगायत विदेशी कामदारहरु कार्यरत छन् ।


प्रकाशित : मंसिर २७, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?