अष्ट्रेलियामा एक नेपाली विद्यार्थी बेपत्ता
अष्ट्रेलिया — उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका नेपाली विद्यार्थी केही दिनदेखि बेपत्ता भएका छन् । उनको खोजीमा सहयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।
३ वर्षअघि दक्षिण अष्ट्रेलियाको एडिलेडमा आएका निश्चल घिमिरे अन्तिमपटक स्थानीय समयअनुसार बिहीबार ४ बजे आफूले रेखदेख गर्ने बच्चाको साथमा समुद्र किनारमा देखिएको बताइएको छ । उनले रेखदेख गर्ने बच्चा सुरक्षित भेटिएपनि उनको अहिलेसम्म पत्ता लाग्न सकेको छैन । साथै उनले चलाउने गरेको कार बाटोमा पार्किङ गरिरहेको अवस्थामा फेला परेको छ ।
समुद्रमा हराएको आशंकामा प्रहरीले सो क्षेत्रमा हवाई खोजी पनि गरिरहेको भएपनि हालसम्म फेला पार्न नसकिएको जनाएको छ ।
क्यानबेरास्थित नेपाली दूतावासले समेत उनी हराएको बारेमा जानकारी पाएको र स्थानीय प्रहरीसँग समन्वय गरिरहेको बताएको छ । कार्यवाहक राजदुत दु्रपदा सापकोटाले आफूहरु प्रहरी तथा स्थानीय अवैतनिक वाणिज्यदूतसँग नियमित सम्पर्कमा रहेको र उनको खोजीमा सहयोग पुर्याइरहेको जानकारी दिएकी छन् ।