बेलायतबाट सबै नेपालीलाई घर फर्कन प्रदेशमन्त्रीको आव्हान

कान्तिपुर संवाददाता

लन्डन — गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बेलायतवासी नेपालीलाई अब स्वदेश फर्कन आव्हान गरेका छन् । तमुधिं यूकेको १८ औं ‘फो ल्होछार' कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गुरुङले बेलायतका नेपालीलाई ज्ञान, सीप, प्रविधि र लगानी आफूसाथ लिएर मातृभूमि फर्कन निम्तो दिएका हुन् ।


‘देश समृद्ध बनाउन भिख मागेर हुन्न। हिजो सामन्ती शासन व्यवस्था थियो, भिख माग्यौं। चीन, भारत, अमेरिका, संयुक्त राष्ट्रसंघलाई गुहार्यौं। अब हामी आत्मनिर्भर हुनुपर्छ’, ल्होछार मान्न उपस्थित सयौं नेपालीमाझ मन्त्रीले पटकपटक दोहोरयाए, ‘तपाईंहरु रित्तै जाने होइन, आफ्नो सीप र लगानी लिएर जानुहोस् म यही निम्तो दिन आएकोहुँ।’

प्रवासका नेपाली र विदेशी लगानीको ज्ञारेन्टी सरकारले गर्ने दावी गर्दै उनले भने, ‘नेपालमा लाख लगे करोड, करोड लगे अर्ब र अर्ब लगे खर्ब कमाइ हुने वातावरण बनेको छ। पहिले जस्तो लोडसेडिङ, बन्द हड्ताल, हिंसा कल्पना पनि गर्न सकिन्न। आउनुहोस् मिलेर देश समृद्ध बनाउँ।’

कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको नेपाली समुदायले आपसी सद्भाव, एकता, सहिष्णुता, सहकार्य र आपतविपतमा मातृभूमिलाई सहयोग गरिरहेको बताए। बेलायतमा नेपाली कला, संस्कृति, भाषा, परम्परा, संस्कार, सभ्यता संरक्षण र आर्थिक सहयोगमा तमुधिं यूकेको ठूलो भूमिका रहेको पनि राजदूतले उल्लेख गरे।

‘ल्होछार जस्ता राष्ट्रिय पर्वहरुले बेलायतमा पनि नेपाली धर्म, संस्कार, संस्कृति, पहिरन, परिकार, पर्व र परम्परा जीवन्त राख्न र नेपालीहरुबीच समझदारी, सद्भावना, सहकार्य र भ्रातृत्वपूर्ण एकता कायम गर्न मद्दत पुग्ने मेरो विश्वास छ’, उनले भने।

३० डिसेम्बर साँझ रेडिङस्थित रिभरमिड लिजर कम्प्लेक्समा आयोजित ‘फो ल्होछार’ अवसरमा तमुधिं यूकेका नवनियुक्त अध्यक्ष नन्दजंग गुरुङले दशौं कार्यसमितिको कार्यभार सम्हालेका छन्। निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ मातृशोकका कारण नेपालमा रहेकाले संस्थाका संस्थापक अध्यक्ष मीनप्रसाद तमुले नवनियुक्त अध्यक्षलाई नवौं कार्यसमितिको सम्पूर्ण कार्यभार र कागजात हस्तान्तरण गरेका थिए।

बेलायतका तमुहरुले धार्मिक परम्परा अनुसार कुकुर वर्गको विदाइ र मृग वर्गको स्वागत गर्दै हर्षोल्लासका साथ ‘फो ल्होछार’ मनाए। तमुधिं यूकेले धार्मिक, सांस्कृतिक र डा. हर्क अवार्ड कार्यक्रम गरि ल्होछार मनाएको हो। ल्होछारमा सहभागी हुन लामा धर्म गुरु खेम्पो सन्तोष गुरुङ र लामा खुशीमान गुरुङ बेलायत आएका थिए। कार्यक्रममा राष्ट्रिय कलाकारहरु टंक बुढाथोकी, गोविन गुरुङ लगायतले गायन प्रस्तुत गरे।

उक्त अवसरमा तमुधिं यूकेका हालसम्मका ८ जना अध्यक्षको विचार, अनुभव तथा तमुधिं यूके इतिहास समेटिएको ‘निरन्तर नेतृत्व’ नामक पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक र मुखपत्र ‘फ्रेंसी’ विमोचन समेत भयो।
तस्बिर : मिलन तमु ।

प्रकाशित : पुस १७, २०७५ १८:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कर्मचारीलाई कारवाहीको चेतावनी 

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन अध्यादेशका विरुद्धमा आन्दोलित कर्मचारीलाई आचरण र अनुशासन सम्झाउँदै कारवाहीको चेतावनी दिएको छ ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जाल, पत्रपत्रिका तथा लेखरचनामार्फत सरकार, मन्त्री तथा सचिवको गरिमामा आँच आउने गरी कर्मचारीहरुले दिइरहेको अभिव्यक्तिको अभिलेख राखिएको उल्लेख गरेको छ । भ्रामक, आवाञ्छित र दूराशययुक्त क्रियाकलाप गर्ने कर्मचारीलाई निजामती सेवा ऐन/नियम तथा विद्युतीय कारोबार ऐनअनुसार कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ ।

प्रवक्ता एवं सहसचिव सुरेश अधिकारीद्वारा जारी विज्ञप्तिमा समायोजन प्रक्रियामा सहयोग गर्न सबै कर्मचारीलाई आग्रह गरिएको छ ।

प्रकाशित : पुस १७, २०७५ १८:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT