बेलायतमा युवकलाई बलात्कार गरेको ठहर गर्दै एक नेपालीलाई १३ वर्ष जेल सजाय

लन्डन — बेलायतमा एक नेपाली युवकलाई बलात्कार गरेको ठहर गर्दै अदालतले  रेडिङ सहर बस्ने ४३ वर्षका देउकुमार लिम्बुलाई १३ वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्थानीय अदालतले लिम्बुलाई २२ वर्षीय युवकमाथि यौन हिंसा गरेको ठहर गर्दै जेल सजाय सुनाएको हो ।

रेडिङ क्राउन कोर्टले गत वर्ष जुनमा लिम्बुले ‘लर्निङ डिसेबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ । ती युवकको परिचय भने खुलाइएको छैन ।


प्रहरीका अनुसार ६ जुन २०१८ का दिन एकाबिहानै ती युवकले लिम्बुसँग आफ्नो घरजाने बाटो सोधेका थिए । राति आफ्ना साथीहरुसँग रमाइलो गरेपछि बिहानै घर जानलाग्दा आफूसँग फोन वा पैसा पनि नभएको उनले बताएका थिए ।


ती युवकको परिस्थितिको फाइदा उठाउँदै लिम्बुले ती युवकलाई घिसार्दै नजिकै बेर्सफोर्ड रोड खेल मैदान (प्ले ग्राउण्ड) मा लगेर उनीसँग जबर्जस्ती यौन सम्बन्ध राखेको प्रहरीले जनाएको छ ।


न्यायाधीशले सार्वजनिक ठाउँमा आफूसँग मद्दत माग्न आएको व्यक्ति विरुद्ध यौन हमला गर्ने लिम्बु यौन पिपासु भएको बताइन् । फैसला सुनाउँदै न्यायाधीशले आफ्नो अपराधका लागि लिम्बुले पश्चाताप समेत नगरेको बताइन् ।


सो घट्नाको सिसीटिभी फुटेज पनि अदालतमा प्रमाण स्वरुप प्रस्तुत गरिएको थियो । प्रहरीसँगको बयानमा लिम्बुले ती युवासँग सहमतिमा आफूले यौन सम्बन्ध राखेको दाबी गरेका थिए ।


उक्त घट्नापछि ती युवकले आफूलाई डर लाग्ने, घट्नाको झझल्को आइरहने र राम्रोसँग सुत्न नसक्ने बताएका थिए । घटनाको दुई दिनपछि प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो ।


लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको समाचारमा उल्लेख छ ।


बेलायतको नेपाली समुदायमा केही वर्ष यता अपराधिक क्रियाकलापमा वृद्धि भइरहेको छ । बेलायती जेलमा हाल झण्डै एक दर्जन नेपाली रहेको नेपाली दूतावासको तथ्यांक छ ।


प्रकाशित : पुस २२, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?