अस्ट्रेलियामा ज्ञान बाँड्दै पारस

नारायण खड्का

अस्ट्रेलिया — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अहिले अस्ट्रेलियाका विभिन्न सहरमा व्यस्त छन् । उनी व्यावसायिक प्रतियोगिता खेल्न नभई अहिले अस्ट्रेलियामै जन्मिएका दोस्रो पुस्ताका नेपाली बालकालिकालाई क्रिकेट सिकाइरहेका छन् ।

मेलबर्न, सिड्नी, एडिलेडलगायतका विभिन्न सहरमा एक्सपर्ट एजुकेसनले आयोजना गरेको क्रिकेट महोत्सवमा सहभागी हुन दुई साताअघि अस्ट्रेलिया आइपुगेका उनी बालबालिकालाई क्रिकेट सिकाउनुका साथै भेटघाटमा व्यस्त छन् । उनी, राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी र नेपाली यू–१९ टोलीका पूर्व खेलाडी सुवास प्रधान अस्ट्रेलियामा क्रिकेट खेलिरहेका विभिन्न नेपाली खेलाडीमात्र नभएर अस्ट्रेलियाली क्रिकेट बोर्डका प्रतिनिधिसँग समेत भेटघाटमा छन् ।

Citizen


‘मेरो अहिलेको भ्रमणको मुख्य उद्देश्य नै नेपाली क्रिकेट र क्रिकेट खेलबारे यहाँ रहेका नेपाली खेलाडी र साना भाइबहिनीलाई जानकारी दिनु र सिकाउनु हो,’ पारसले भने, ‘अर्काेतिर यो भ्रमणबाट नेपाली क्रिकेटलाई अस्ट्रेलियामा प्रवद्र्धन गर्न मदत पुग्ने विश्वास छ ।’ उनलाई अस्ट्रेलियाली क्रिकेट बोर्डले सम्मानस्वरुप भारतसँगको टेस्ट हेर्न सिड्नीमा बोलाएको थियो भने उनले त्यहाँ नेपाली क्रिकेट तथा क्रिकेटरका बारेमा अधिकारीसँग छलफलसमेत गरेका थिए । ‘अस्ट्रेलिया खेललाई उच्च महत्व दिने र माया गर्ने देश भएकाले समेत यहाँ क्रिकेट तथा क्रिकेटरलाई सम्मान दिने गरिन्छ,’ उनले सुनाए ।

पारसले अस्ट्रेलियामा रहेका नेपाली युवा यहाँका विभिन्न क्लबमा रहेर खेलिरहेका कारण समेत नेपाली क्रिकेटको भविष्य राम्रो रहेको दाबी गरे । उनले सन्दीप लामिछानेले बिग–बासमा खेलेपछि अन्य खेलाडीलाई समेत राम्रो खेले विश्वभरि अवसर छ भन्ने हौसला मिलेको सुनाए । ‘अहिले अस्ट्रेलियामा मात्र नभएर विश्वभर नै राम्रो क्रिकेट खेल्नसक्ने नेपाली खेलाडीका लागि वातावरण बनेको छ भने यहाँ जुन तहमा क्लब क्रिकेट खेलिरहेको भए पनि नेपालका लागि राम्रो अवसर सिर्जना भइरहेको छ ।’

‘नेपाली क्रिकेटलाई प्रवद्र्धन गरौं’ भन्ने उद्देश्यसाथ एक्सपर्टले पारस र दीपेन्द्रलाई अस्ट्रेलिया ल्याएर क्रिकेट महोत्सव आयोजना गरेको हो । पोखरामा हुने लिग प्रतियोगितामा अस्ट्रेलियामा रहेका दुई उत्कृष्ट खेलाडीलाई अवसर दिइने पारसले सुनाए । ‘हामीले चाहेको भनेको नेपाल र अस्ट्रेलियामा रहेर क्रिकेट खेलिरहेका नेपाली क्रिकेटरबीच सौहार्द र व्यावसायिक सम्बन्ध स्थापना गर्ने र यहाँका भाइबहिनीलाई क्रिकेटसम्बन्धी ज्ञान दिने नै हो,’ पारसले भने ।

प्रकाशित : पुस २४, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

अर्थहीन खेलमा एपीएफको जित

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँचौं स्थानको एपीएफ क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा दोस्रो स्थानको संकटालाई २–१ गोलअन्तरले पराजित गरेको छ । 

संकटाका नोब्रर्ट अबा (रातो) लाई रोक्ने प्रयासमा एपीएफका खेलाडी । तस्बिर : केशव थापा/कान्तिपुर

एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा विभागीय टोलीका लागि युवराज खड्का र राजन गुरुङले दुवै हाफमा १–१ गोल गरेपछि संकटाले तेस्रो हार बेहोर्दै लिग बिट मार्‍यो । लिगमा एक खेलअगावै दोस्रो स्थान सुरक्षित गरेको संकटाबाट लक्ष्मण रुचालले खेलको अन्त्यतिर गोल फर्काए ।

लिगमा सातौं जित निकालेको एपीएफको यो नतिजाले अंकतालिकामा कुनै फेरबदल भएको छैन । एपीएफको २३ अंक भएको छ भने आफ्ना पूर्व कप्तान सल्यान खड्गीद्वारा प्रशिक्षित संकटाले दोस्रो स्थानमा रहन २९ अंक बटुलेको छ । लिगको दुई खेलअगावै उपाधि सुरक्षित गरेको मनाङ मस्र्याङदी शतप्रतिशत जितको बाटोमा छ । ३६ अंक बटुलेको मनाङले मंगलबार फ्रेन्ड्सविरुद्ध हुने खेलमा जित हासिल गरे शतप्रतिशत जितको कीर्तिमान बनाउने छ ।

‘दोस्रो स्थान सुरक्षित गरिसकेको भएर संकटा आज बढी आत्मविश्वासी थियो । उनीहरूले जितका लागि पूर्ण प्रयास नै गरेनन्,’ एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘हामीले त्यसको फाइदा उठाउन सक्यौं । हामी जितको योजनासहित मैदानमा उत्रिएका थियौं ।

प्रशिक्षक तामाङले लिगमा आफ्नो टोलीको प्रदर्शनप्रति सन्तोष व्यक्त गरे । ‘कुनै समय हामी लिगमा ११ औं स्थानमा थियौं जबकि हाम्रो लक्ष्य शीर्ष ३ भित्र पर्ने थियो । त्यसपछि ८ खेलमा हामीले १९ अंक बटुल्यौं जसमा पछिल्लो ५ खेलमा अविजित छौं ।’

पहिलोपल्ट ए डिभिजन टिम सम्हालेका संकटाका प्रशिक्षक सल्यान खड्गीको भनाइ पनि यस्तैरह्यो । ‘हामीले यसअघि नै दोस्रो स्थान हासिल गरिसकेका थियौं । केटाहरूले यो खेललाई हल्का रूपमा लिए र हार्न पुग्यौं ।’ संकटालाई नाटकीय सफलता दिलाएका प्रशिक्षक खड्गीले भने, ‘लिगमा यो सफलता वास्तवमै रोमान्चक छ । यो हाम्रो लक्ष्यभन्दा धेरै ठूलो उपलब्धि हो । यसको श्रेय कडा मिहिनेत गर्ने सबै खेलाडी र क्लब व्यवस्थापनलाई जान्छ, जसले मलाई विश्वास गरे ।’

लिगको पुरस्कार कसको भाग कति ? (रुपैयाँमा)
मनाङ मस्र्याङदी५० लाख
संकटा३५ लाख
थ्रीस्टार२५ लाख
त्रिभुवन आर्मी१५ लाख
एपीएफ७ लाख
नेपाल पुलिस५ लाख
उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई एक–एक थान मोटरसाइकल

प्रकाशित : पुस २४, २०७५ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्