२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अस्ट्रेलियामा ज्ञान बाँड्दै पारस

नारायण खड्का

अस्ट्रेलिया — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अहिले अस्ट्रेलियाका विभिन्न सहरमा व्यस्त छन् । उनी व्यावसायिक प्रतियोगिता खेल्न नभई अहिले अस्ट्रेलियामै जन्मिएका दोस्रो पुस्ताका नेपाली बालकालिकालाई क्रिकेट सिकाइरहेका छन् ।

अस्ट्रेलियामा ज्ञान बाँड्दै पारस

मेलबर्न, सिड्नी, एडिलेडलगायतका विभिन्न सहरमा एक्सपर्ट एजुकेसनले आयोजना गरेको क्रिकेट महोत्सवमा सहभागी हुन दुई साताअघि अस्ट्रेलिया आइपुगेका उनी बालबालिकालाई क्रिकेट सिकाउनुका साथै भेटघाटमा व्यस्त छन् । उनी, राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी र नेपाली यू–१९ टोलीका पूर्व खेलाडी सुवास प्रधान अस्ट्रेलियामा क्रिकेट खेलिरहेका विभिन्न नेपाली खेलाडीमात्र नभएर अस्ट्रेलियाली क्रिकेट बोर्डका प्रतिनिधिसँग समेत भेटघाटमा छन् ।


‘मेरो अहिलेको भ्रमणको मुख्य उद्देश्य नै नेपाली क्रिकेट र क्रिकेट खेलबारे यहाँ रहेका नेपाली खेलाडी र साना भाइबहिनीलाई जानकारी दिनु र सिकाउनु हो,’ पारसले भने, ‘अर्काेतिर यो भ्रमणबाट नेपाली क्रिकेटलाई अस्ट्रेलियामा प्रवद्र्धन गर्न मदत पुग्ने विश्वास छ ।’ उनलाई अस्ट्रेलियाली क्रिकेट बोर्डले सम्मानस्वरुप भारतसँगको टेस्ट हेर्न सिड्नीमा बोलाएको थियो भने उनले त्यहाँ नेपाली क्रिकेट तथा क्रिकेटरका बारेमा अधिकारीसँग छलफलसमेत गरेका थिए । ‘अस्ट्रेलिया खेललाई उच्च महत्व दिने र माया गर्ने देश भएकाले समेत यहाँ क्रिकेट तथा क्रिकेटरलाई सम्मान दिने गरिन्छ,’ उनले सुनाए ।


पारसले अस्ट्रेलियामा रहेका नेपाली युवा यहाँका विभिन्न क्लबमा रहेर खेलिरहेका कारण समेत नेपाली क्रिकेटको भविष्य राम्रो रहेको दाबी गरे । उनले सन्दीप लामिछानेले बिग–बासमा खेलेपछि अन्य खेलाडीलाई समेत राम्रो खेले विश्वभरि अवसर छ भन्ने हौसला मिलेको सुनाए । ‘अहिले अस्ट्रेलियामा मात्र नभएर विश्वभर नै राम्रो क्रिकेट खेल्नसक्ने नेपाली खेलाडीका लागि वातावरण बनेको छ भने यहाँ जुन तहमा क्लब क्रिकेट खेलिरहेको भए पनि नेपालका लागि राम्रो अवसर सिर्जना भइरहेको छ ।’


‘नेपाली क्रिकेटलाई प्रवद्र्धन गरौं’ भन्ने उद्देश्यसाथ एक्सपर्टले पारस र दीपेन्द्रलाई अस्ट्रेलिया ल्याएर क्रिकेट महोत्सव आयोजना गरेको हो । पोखरामा हुने लिग प्रतियोगितामा अस्ट्रेलियामा रहेका दुई उत्कृष्ट खेलाडीलाई अवसर दिइने पारसले सुनाए । ‘हामीले चाहेको भनेको नेपाल र अस्ट्रेलियामा रहेर क्रिकेट खेलिरहेका नेपाली क्रिकेटरबीच सौहार्द र व्यावसायिक सम्बन्ध स्थापना गर्ने र यहाँका भाइबहिनीलाई क्रिकेटसम्बन्धी ज्ञान दिने नै हो,’ पारसले भने ।

प्रकाशित : पुस २४, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?