बेलायती जेलमा नेपाली सङ्ख्या घट्यो

लन्डन — बेलायती जेलमा नेपालीको सङ्ख्या घटेको छ । बेलायतको गृह मन्त्रालय (होम अफिस) सँग लन्डनस्थित नेपाली दूतावासले मागेको तथ्याङ्क अनुसार जनवरी ८ सम्म बेलायती जेलमा जम्मा ७ जना नेपाली छन् । जेलमा रहेकाको एक दुईबाहेक त्यस्तो गम्भीर प्रकृतिको अपराध नभएको पनि दूतावासले जनाएको छ ।

बेलायती जेलमा नेपाली सङ्ख्या घट्यो

गत सेप्टेम्बरसम्म बेलायतका विभिन्न जेलमा रहेका नेपालीको सङ्ख्या १९ थियो । एक पटक २१ जनासम्म पुगेको थियो ।


‘यो सङ्ख्या घट्नु एक हिसाबले खुसीको कुरा हो’, दूतावासका उपनियोग प्रमुख शरदराज आरनले कान्तिपुरसँग भने, ‘असामाजिक, उच्छृङ्खल र गैर कानुनी कार्य गरेरै हो जेल सजाय भोगिने । जेल पर्ने नेपाली घटे नेपाल र नेपालीकै प्रतिष्ठा राम्रो बन्नेछ ।’


केही दिन अघि मात्र बेलायतस्थित रेडिङ क्राउन कोर्टले ४३ वर्षीय देउकुमार लिम्बुलाई २२ वर्षीय युवकमाथि यौन हिंसा गरेको ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाएको छ ।


सन् २०१८ मा मात्र विभिन्न अपराधमा केही नेपाली जेल गए ।


बेलायतमा छुट्टी मनाउन जाने व्यक्तिहरूलाई गलत सूचना दिएर झन्डै एक करोड रुपैयाँ घोटाला गरेको अभियोगमा दोषी पाइएका मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङले २५ महिनाको जेल सजाय पाएका छन् । उता, एक जना वयोवृद्ध भूतपूर्व गोर्खा सैनिकलाई मारेको (कर्तव्य ज्यान मुद्दा) मा दोषी पाइएकी सुनमाया तामाङलाई सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीले आठ वर्षको जेल सजाय सुनायो ।


केही महिना अघि लागू औषध कारोबारमा संलग्न भएको अभियोगमा चमन श्रेष्ठलाई रेडिङ क्राउन कोर्टले दुई वर्ष ८ महिना जेल सजाय सुनाएको थियो ।


लन्डनस्थित नेपाली सोलिसिटर राजु थापाले आपराधिक क्रियाकलापमा संलग्न हुँदा समाजबाट तिरस्कृत मात्र होइन, जिन्दगीभर बेलायतमा रोजगारी समेत नपाइने बताए । ‘आवासीय अधिकार मात्र छ र १२ महिना बढिको जेल सजाय सुनाइएको भए त्यो व्यक्तिलाई सजाय पछि नेपाल नै ‘डिपोर्ट’ गरिदिने बेलायतको कानुनी प्रावधान छ’, थापाले भने ।

प्रकाशित : पुस २५, २०७५ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?