१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपाल भ्रमण गर्ने बेलायती पर्यटक बढे

लन्डन — नेपाल भ्रमण गर्ने बेलायती पर्यटक संख्या वृद्धि भएको छ । बेलायतबाट गत वर्ष सन् २०१८ मा ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा गएको लन्डनस्थित नेपाली दूतावासले 
मंगलबार जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १५ दशमलव ६ प्रतिशत बढी हो ।

नेपाल भ्रमण गर्ने बेलायती पर्यटक बढे

दूतावासबाट एकै दिन होम डेलिभरी भिसा सर्भिस, बेलायतमा पर्यटन प्रवर्द्धन र नेपालको राम्रो वातावरणले पर्यटक बढेका दूतावासको भनाइ छ ।

नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्र्याइने दाबी गरेका छन् । सन् २०१८ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या उत्साहजनक वृद्धि भई झन्डै १२ लाख पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो ।

हवाईमार्गबाट ९ लाख ६९ हजार २८७ र स्थलमार्गबाट दुई लाख तीन हजार ७८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेको बोर्डले जनाएको छ ।

यसैबीच, ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन बेलायतमा एक उच्चस्तरीय समिति गठनको तयारी भएको छ । नेपाली राजदूत सुवेदीको अध्यक्षतामा यही १९ जनवरी साँझ दूतावासमा विशेष कार्यक्रमबीच उच्चस्तरीय समिति यूके बनाउन लागिएको हो । नेपाल पर्यटन बोर्डका उच्च पदस्थ पदाधिकारी, बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि, ट्राभल टुर्स व्यवसायी, सञ्चारकर्मी आदिको सहभागितामा समिति बनाउन लागिएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जनाए । ‘नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरिसकेको परिप्रेक्ष्यमा पर्यटन अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएकाले बेलायतबाट सक्दो सहयोग गर्ने हाम्रो परिकल्पना हो’, आरणले भने ।

१९ जनवरी साँझ उच्चस्तरीय समिति गठन र नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी ‘प्रिजेन्टेसन’ को तयारी छ । उच्चस्तरीय समितिमा बेलायतको समस्त नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने गरी सबै क्षेत्र र वर्गका मुख्य व्यक्तिलाई सदस्यका रुपमा राख्ने योजना राजदूत डा. सुवेदीको छ । नाम भने सार्वजनिक गरिएको छैन । उपसमितिसमेत गठन गरी इच्छुक सबैलाई त्यसमा समावेश गर्ने योजना पनि दूतावासको छ । ‘हामीले बृहत् अभियान नै थाल्ने योजना बनाएका छौं । नेपालको पर्यटन प्रवर्द्धन सबैको दायित्व भएकाले बेलायतको पुरै डायस्पोरा यसमा क्रियाशील होस् भन्ने हामी चाहन्छौं’, उपनियोग प्रमुख आरणले सुनाए ।

गत नोभेम्बरमा गठन गर्न लागिएको यो समिति संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको भिसा समस्याका कारण स्थगित भएको थियो । यसपटक मन्त्रीको सहभागिताबिना नै समिति गठन गरिने भएको छ ।

प्रकाशित : पुस २५, २०७५ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?