कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सिर्जनालाई हङकङमा सफलता

हङकङ — हङकङमा सम्पन्न क्युनेट गोर्खा ट्रेलब्लेजरको २६ किलोमिटरको अल्ट्रा ट्रेल रेसमा नेपालकी सिर्जना राई १८–२९ उमेर समूहमा पहिलो भएकी छन् ।

सिर्जनालाई हङकङमा सफलता

उनी गोर्खा सेमेटी ट्रस्ट र चाइल्ड वेलफेयर स्किमको संयुक्त आयोजनामा शनिबार सम्पन्न अल्ट्रा ट्रेल रेसमा २६ किमिमध्ये अन्तिम ५ किलोमिटर खाली खुट्टा कुदेर फिनिस लाइन पुगेकी थिइन् ।


नेपालमा छँदै खुट्टा मर्किएको अवस्थामा हङकङ पुगेको २ दिनपछि उनी अल्ट्रा रेसमा सहभागी भएकी थिइन् । एकैपटक नयाँ गियर प्रयोग गर्नुपरेका कारण असहज भई उनी अन्तिम ५ किलोमिटर यात्रा खाली खुट्टा कुदेर भए पनि आफ्नो उमेर समूहमा पहिलो भइन् ।


यसअघि उनले नेपालमा सम्पन्न अन्नपूर्ण ट्रेल रेसको ५० किमि आफ्नो उमेर समूहमा तेस्रो, पोखरा ट्रेल सिरिजमा ५५ किमिमा पहिलो, धरान रनमा १० किमिमा पहिलो भएकी थिइन् । संखुवासभाको विकट गाउँ सभापोखरी गाउँपालिका २ धुपुको ज्यामिरेमा जन्मिएकी २१ वर्षीया सिर्जनाको हङकङ रेस उनको पहिलो अनुभव हो ।


हवाईजहाजको लामो यात्रा, लगत्तै अभ्यास गर्न नपाउनु, शारीरिक अस्वस्थता र दौडका लागि आवश्यक गियर प्रयोग गर्ने अनुभव कम भएकाले आफू ओभरअलमा पहिलो बन्न नसकेको बताइन् । उनले भनिन्, ‘महिला ओपनतर्फ जित्ने विश्वास थियो । तर खुट्टाको नसा सडकिएको अवस्थामा कुदेकै कारण मैले ओभरअलमा टप ७ मा चित्त बुझाउनुपर्‍यो । यो मेरो पहिलो अनुभव हो ।’


दौडमा सहभागी भएका ३१ मुलुकका ४ सय २ धावकमध्ये पुरुषतर्फ २६ किमिमा हङकङका मिङ वाई लाउ पहिलो, मेक्सिकोका जासेलुइस अल्भेलाइस दोस्रो र अमेरिकाका रविन फल तेस्रो भए । महिलातर्फ २६ किलोमिटर दौडमा बेलायतकी जेन विलियम पहिलो, जर्मनीकी एन्जेलिका हान दोस्रो र फ्रान्सकी चारलोट टाकिट तेस्रो स्थान हासिल गर्न सफल भए ।


१२ किमि दौडको पुरुष समूहमा बेलायतका रायन वेलान पहिलो, हङकङ निवासी नेपालका सुजन लिम्बू दोस्रो र हङकङकै अर्का नेपाली कुमार निङलेकु तेस्रो भए । महिलातर्फ फिलिपिन्सकी फ्रेडलिन अल्बर्टो पहिलो, फ्रान्सकी लेस्ली भान दोस्रो र हङकङकी निकी इङ्ग तेस्रो भए ।


क्युनेट गोर्खा ट्रेलब्लेजरको दोस्रो संस्करण सम्पन्न भएपछि रेसका आयोजक सदस्य देवराज राईले भने, ‘गोर्खाको नाममा हङकङमा आयोजना भएको यस रेसले हामी नेपाली कुद्न मात्र होइन, अन्तर्राष्ट्रिय स्तरका च्यारिटी रेस पनि आयोजना गर्न सक्छौं भन्ने प्रमाणित भएको छ । हामी गोर्खाको अक्षुण्ण इतिहासलाई बचाउँदै नवपुस्तामा हस्तान्तरण गर्न चाहन्छौं, जो रेसले सम्भावनाको ढोका खोलेको छ ।’


च्यारिटीबाट संकलित रकम चाइल्ड वेलफेयर स्किममार्फत नेपालमा सुविधाविहीन बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने रेस डाइरेक्टर दर्शन शाक्यले बताए । मूल संयोजक आमोद राईले हङकङको ट्रेल रनिङको क्यालेन्डरभित्र सूचीकृत भएकाले विश्वभरका व्यावसायिक धावक, धाविकाको र रनिङ कम्युनिटीले साथ दिएको बताए । शनिबार बिहान लाउ सुई होङ रिजभयरको पात सिन लेङ कन्ट्री पार्कबाट सुरु भएको दौड सोही स्थानमा पुगेर टुंगिएको थियो ।

प्रकाशित : पुस ३०, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?