३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पर्यटक पठाउन जुट्दै बेलायतस्थित नेपाली

बेलायत बस्ने प्रत्येक नेपालीमार्फत एक बेलायती साथीलाई नेपाल पठाई डेढ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य 

लन्डन — बेलायतबाट नेपाल जाने पर्यटक संख्या वृद्धिका लागि यूकेको नेपाली डायस्पोराले अभियान थालेको छ । 

पर्यटक पठाउन जुट्दै बेलायतस्थित नेपाली

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष (भिजिट नेपाल २०२०) सफल पार्न बेलायतबाट ठोस र सार्थक योगदान पुर्‍याउने उद्देश्यले यहाँ एक उच्चस्तरीय मूल समिति गठन भएको छ ।

लन्डनस्थित नेपाली दूतावासमा शनिबार साँझ आयोजित कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मूल समिति यूके गठन भएको हो । समितिको सदस्य सचिवमा दूतावासका उपनियोग प्रमुख शरदराज आरण छन् ।

उच्चस्तरीय समितिले ‘सेन्ड होम अ फ्रेन्ड फ्रम यूके’ नारासहित सन् २०१९ र २०२० मा विभिन्न सांस्कृतिक, सांगीतिक र पर्यटन प्रवर्धनात्मक कार्यक्रम आयोजना एवं सामाजिक सञ्जाल, मुद्रण र विद्युतीय सञ्चार माध्यमहरूद्वारा व्यापक प्रचारप्रसार गरी सन् २०२० मा बेलायतबाट एक लाख पर्यटक पुर्‍याउने लक्ष्य लिएको छ ।

सुवेदीले आफू राजदूत भएर आउनुअघि २९ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०१६ मा ४६ हजार, २०१७ मा ५१ हजार र २०१८ मा ६३ हजार पर्यटक बेलायतबाट नेपाल पठाई उच्चतम अभिवृद्धि गरिएको बताए ।

यसवर्ष ८० हजार बेलायती पर्यटक भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ । बेलायत बस्ने प्रत्येक नेपालीले आफ्नो एक जना बेलायती साथीलाई नेपाल पठाउन सके करिब डेढ लाख जना नेपाल भित्रिने विश्वास समितिको छ ।

समितिमा एनआरएनए यूके, ब्रिटेन नेपाल सोसाइटी, यूके नेपाल फ्रेन्डसिप सोसाइटी, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, ब्रिटेन नेपाल एनजीओ नेटवक्र्स, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, ब्रिटेन नेपाल मेडिकल ट्रस्ट, नेपाल पत्रकार महासंघ बेलायत लगायत यूकेमा रहेका क्रियाशील सम्पूर्ण राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, क्षेत्रीय, जातीय र पेसागत संघसंस्था र समाजका अध्यक्षहरू पदेन सदस्य रहनेछन् ।

समितिमा प्रचारप्रसार समिति, ट्राभल एन्ड टुर्स समन्वय समिति, साहसिक पर्यटन प्रवद्र्धन समिति, नेपाली कुइजिन समिति, आदिवासी जनजाति सांस्कृतिक पर्यटन प्रवद्र्धन समिति, खेलकुद समिति, कला, नाट्य तथा चलचित्र समन्वय समिति, म्युजिक एन्ड इन्टरटेन्मेन्ट कमिटी, महिला समन्वय समिति, युथ मोबिलाइजेसन कमिटी, विद्यार्थी समन्वय समिति, पेसागत समन्वय समिति, उद्योग तथा व्यापार समन्वय समिति, साहित्य समन्वय समिति,

धर्म र संस्कृति समन्वय समिति, नेपाली भेषभूषा समन्वय समिति, सामाजिक सञ्जाल समन्वय समिति, वेल्स समन्वय समिति, स्कटल्यान्ड समन्वय समिति, उत्तरी आयरल्यान्ड समन्वय समिति पनि गठन गरिने बताइएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि ब्रिटेनको लेबर पार्टीका सांसद तथा अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्ष वीरेन्द्र शर्माले ब्रिटेनमा बसोबास गरिरहेको नेपाली डायस्पोरा बेलायत र नेपालबीच पुल भएको बताए ।

‘यदि तपाईंहरू बलियो हुनुभएन भने पुल भत्किनेछ र त्यसको असर दुई देशबीचको सम्बन्धमा पनि पर्नेछ, त्यसैले तपाईंहरू बलियो बन्नोस्,’ उनले भने ।

उनले ब्रिटेनबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्या एक लाख पुर्‍याउने लक्ष्य हासिल गर्न सकिने खालको भएको भन्दै त्यसका लागि बेलायतमा बसोबास गर्ने सबै समुदायमाझ भिजिट नेपालको सन्देश पुर्‍याउनुपर्ने बताए । इमानदारी, मेहनत र ब्रिटेनलाई पुर्‍याएको सेवाका लागि ब्रिटिस समुदायले नेपालीलाई उच्च सम्मानको दृष्टिले हेर्ने भएकाले पनि त्यो सद्भावलाई नेपाल भ्रमण वर्ष सफल पार्न उनले सुझाव दिए ।

विशेष अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले उच्चस्तरीय समिति घोषणा गरेका थिए । बरालले देशका सातवटै प्रदेश सरकारहरूले पर्यटन प्रवर्धनलाई उच्च प्राथमिकता दिएको बताउँदै पर्यटनले नेपालको अर्थतन्त्र र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए ।

नेपाल भ्रमण वर्ष २०२० नेपालको पर्यटन क्षेत्रका लागि एक कोसेढुंगा साबित हुने विश्वास व्यक्त गर्दै त्यसका लागि थप पूर्वाधार निर्माण तथा त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउने काम भइरहेको पनि बताए ।

नेपालमा पर्यटन प्रवर्धन गर्न विदेशमा बस्ने नेपालीहरूको ठूलो भूमिका रहने बताउँदै उनले बेलायत तथा युरोपमा बसोबास गर्ने नेपालीलाई नेपालका बारेमा प्रचारप्रसार गरी थप पर्यटक नेपाल पठाउन आग्रह गरे । सो अवसरमा इन्जिनियर घनश्याम पौडेल र संयुक्त श्रेष्ठले ‘टेकु दोभान अ यूके नेपाल फ्रेन्डसिप प्रोजेक्ट’बारे प्रस्तुति

दिएका थिए ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने र सो वर्ष नेपाल जाने पर्यटक संख्या २० लाख पुर्‍याउने लक्ष्य घोषणा गरेको छ । यो घोषणाले ०७२ सालको विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायमा धूमिल नेपालको छवि उजिल्याउँदै नेपालको पर्यटन उद्योगलाई सुदृढ गराउने अपेक्षा सरकारको छ ।

भ्रमण वर्ष अभियानले नेपालको अर्थतन्त्रलाई सार्थक योगदान पुर्‍याउनुका साथै नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा गन्तव्यमा पुग्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित : माघ ७, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?