अष्ट्रेलियामा अध्ययनरत सयौं विद्यार्थी अन्यौलमा

दूतावासद्वारा अनुसन्धानका लागि आग्रह
नारायण खड्का

अष्ट्रेलिया — नर्सिङ अध्ययन गर्न आएका सयौं नेपाली विद्यार्थीहरु अन्यौलमा परेका छन् । आफू अध्ययन गर्न आएको कलेजमा अध्ययन गरेको विषयले सम्बन्धित क्षेत्रमा काम गर्न नपाउने र सर्टिफिकेट काम नलाग्ने खुलेपछि उनीहरु सहयोगका लागि दूतावाससम्म पुगेका छन् ।

विद्यार्थीहरुको गुनासोपछि यहाँस्थित नेपाली दूतावासले अष्ट्रेलियाको शिक्षा विभागमा औपचारिक पत्र लेखेर विद्यार्थीहरुको समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।


अष्ट्रेलियामा रहेको शैक्षिक संस्था अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी) मा डिप्लोमा अफ नर्सिङ अध्ययन गर्न विभिन्न समयमा सयौं नेपाली विद्यार्थीहरु आएका थिए । तर उक्त शैक्षिक संस्था यहाँको नर्सिङ विषयको नियमन निकाय अष्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी (आप्रा) र अष्ट्रेलियन नर्सिङ एण्ड मिडवाफरी एक्रिडेसन काउन्सिल (एनम्याक) मा दर्ता नभएको खुलेपछि यो समस्या सृजना भएको विद्यार्थीहरुको भनाई छ ।


नियमन निकायहरुले नर्सिङ विषय अध्ययन गरिसकेका विद्यार्थीहरुको सर्टिफिकेटलाई दर्ता गर्ने र नर्सको रुपमा काम गर्न पाउने अधिकार दिने गर्दछ । तर उक्त कलेज नियमन निकायहरुमा दर्ता नै नभई आफूहरुलाई अध्ययनका लागि ल्याएको र अहिले हजारौं डलर खर्च भइसकेपछि पढाईको अन्त्यतिर समस्यामा पारिएको विद्यार्थीहरुको आरोप छ ।


अष्ट्रेलियामा मुख्यत: नर्सिङ विषय अध्ययन गर्ने विद्यार्थीहरुले स्थानीय अस्पताल तथा नर्सिङहोमहरुमा अनुभवका लागि निश्चित समयसम्म अनिवार्य काम (प्लेसमेन्ट) गर्नुपर्ने हुन्छ । तर नियमन निकायमा दर्ता नै नभएकाले उक्त कलेजले आफूहरुलाई प्लेसमेन्टमा नपठाएको विद्यार्थीहरुको भनाई छ ।


‘हामीले दशौं हजार डलर बुझाएर अध्ययन पुरा गर्‍यौं अहिले आएर हामीले अध्ययन गरेको सर्टिफिकेट नै काम लाग्दैन भन्ने थाहा पायौं,’ पीडित विद्यार्थी सुजन श्रेष्ठले कान्तिपुरसँग भने । उनी आफूहरुले कलेजका साथै आफूहरुलाई ल्याउने कन्सल्टेन्सीहरुलाई समेत यसबारेमा गुनासो गरेको भए पनि कुनै सुनवाई नभएको बताउँछन् । अर्की पीडित विद्यार्थी सोनी श्रेष्ठले आफूहरुले गरेको अध्ययन अनुसारको काम नै गर्न नपाउने भएपछि तिरेको शुल्क फिर्ता पाउनुपर्ने दाबी गर्छिन् ।


पीडित विद्यार्थीहरुले क्यानबेरामा रहेको दूतावासका साथै अन्तराष्ट्रिय विद्यार्थीहरुको संगठन सिसामा समेत उजुरी दिएका छन् । अष्ट्रेलियाका लागि नेपाली निमित्त राजदूत दु्रपदा सापकोटाले आफूहरु विद्यार्थीहरुको समस्याका बारेमा जानकार रहेको भन्दै यसको अनुसन्धान गर्न र सहयोग पुरयाउन यहाँको सम्बन्धित निकायमा औपचारिक आग्रह गरेको जानकारी दिईन् ।


उनले विभागबाट सहयोगको आश्वासन पाएको समेत बताइन् । सिसाका अध्यक्ष विजय सापकोटाले विद्यार्थीहरुको उजुरीका बारेमा अनुसन्धान भइरहेको बताउँदै पीडित विद्यार्थीहरुको समस्या समाधान गर्न लागिरहेको जानकारी दिए ।


विद्यार्थीहरुको समस्याको समाधान गर्ने उद्देश्यले अष्ट्रेलियामा रहेका नेपाली शैक्षिक परामर्शदाताहरुको संगठन एक्काको पहलमा उक्त कलेजसँग शुक्रबार अन्तरक्रिया आयोजना गरिएको थियो । एक्काका अध्यक्ष परशुराम अधिकारीका अनुसार अन्तरक्रियामा कलेजकी निर्देशक फियोना किले आफूहरुले विद्यार्थीहरुलाई आवश्यक सहयोग पुरयाउने कोशिष गरिरहेको बताउँदै प्लेसमेन्टमा भएको समस्या समाधान गर्न लागिपरेको जानकारी दिएकी थिईन् ।


यसै क्षेत्रमा काम गरिरहेका बिज्ञहरुका अनुसार नेपालबाट विद्यार्थी ल्याउँदा परामर्शदाताहरुले विद्यार्थीलाई पूर्ण जानकारी नदिएको कारण यो समस्या देखिएको हो ।

प्रकाशित : फाल्गुन ४, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?