लगानी भित्र्याउन नेपालका अर्थमन्त्री बेलायतमा

नबिन पोखरेल

लन्डन — नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार संयुक्त अधिराज्यको राजधानी लन्डन आइपुगेका छन् । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार राखेको लगानी केन्द्रित ‘नेपाल विकास सम्मेलन’मा प्रमुख वक्ताका रुपमा सहभागी हुन आएका खतिवडाको बेलायतबाट लगानी भित्र्याउने मुख्य प्राथमिकता छ ।

लगानी भित्र्याउन नेपालका अर्थमन्त्री बेलायतमा

‘आउँदो महिना नेपाल सरकारले लगानी सम्मेलन तय गरेको छ । त्यही सम्मेलनमा बेलायतका लगानीकर्तालाई प्रेरित गर्नु पनि मेरो उद्देश्य हो,’ मन्त्री खतिवडाले भने, ‘यहाँबाट लगानीकर्तालाई उत्प्रेरित गर्ने क्रममा डायस्पोराको सहयोग र सक्रियताको पनि मैले अपेक्षा गरेको छु ।’


बेलायत नेपाल द्विपक्षीय सम्बन्ध अभिवृद्धि र बेलायती सहायता वृद्धिको पहल पनि अर्को उद्देश्य रहेको उनले सुनाए ।


नेपाल सरकारले नेपाललाई एक उपयुक्त र विश्वसनीय लगानी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले नेपालमा लगानी शिखर सम्मेलन तय गरेको हो ।


शुक्रबारसम्म लन्डनमा रहँदा मन्त्री खतिवडाले बेलायती उच्च पदस्थ अधिकारीहरुसँग समेत छलफल गर्न लागेको बताए । डिएफआईडी मन्त्री लगायतको भेटमा नेपाललाई बेलायती सहायता वृद्धि र भूतपूर्व गोर्खा मागबारे छलफल हुने मन्त्रीले जानकारी दिए ।


गोर्खा समस्या कुटनीतिक भएकाले नेपाल सरकारले बेलायत सरकारसँग यसको समाधानका लागि पहल गरिरहेको मन्त्रीको भनाइ थियो ।


खतिवडाले नेपालमा प्रगतिशील कर प्रणाली लागू गरिएको जनाउंदै नेपालको अर्थतन्त्र भयावह भएको भन्ने प्रतिपक्ष र आलोचकप्रति उनी आक्रोशित थिए । मन्त्रीले अतिरन्जित गर्ने प्रति लक्षित गर्दै नभएको गाली गर्दा आफैंतिर फर्कने चेतावनी दिए ।


‘हाम्रो कुरा त तपाईंहरु पत्याउनुहुन्न । तर, आईएमएफको हालैको प्रतिवेदनले नै नेपालको अर्थतन्त्र वृद्धि भइरहेको देखाएको छ,’ उनले भने, ‘हामी ८ प्रतिशतको आर्थिक वृद्धि राख्ने भन्दैछौं । अहिले ७ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि हासिल भइरहेको छ । इतिहासमा पहिलो पटक त्यति आर्थिक वृद्धि हासिल भएको हो ।’


उनले मुल्यवृद्धि ४ प्रतिशत वरिपरी रहेको तथ्यांक प्रस्तुत गर्दै भने, ‘कुनै बेला २२ प्रतिशत मुद्रास्फीति लेख्ने मान्छे मै हुँ । साथीहरु, तथ्यांकमा खेल्न पाईंदैन । हाम्रो एतहासिक आर्थिक वृद्धिदर ४ प्रतिशत भएकामा पछिल्ला वर्ष औसत ७ प्रतिशतको आर्थिक वृद्धि के आकाशबाट झर्छ ?’


उनले औद्योगिक उत्पादन, पर्यटन, वित्तिय सेवा, स्वास्थ्य, शिक्षा, निर्माण सेवा वृद्धि भएको र आर्थिक क्रियाकलापको संगालो नै आर्थिक वृद्धि भएको प्रष्टयाए । महत्वपूर्ण परिसूचकलाई हिसाबै नगर्ने अनि अंग प्रत्यंग जोडेर अर्थतन्त्र बिग्रियो भन्नेप्रति उनी आक्रोशित थिए ।


नेपालको वित्तिय प्रणाली सन्तुलित रहेपनि व्यापारमा भने समस्या रहेको उनले स्वीकारे । ‘संरचनात्मक समस्या हो यो,’ उनले भने, ‘एक दुई वटा सरकारले गरेन भनेर वा आरोप प्रत्यारोप लगाएर आर्थिक समृद्धि हुँदैन ।’


मन्त्री खतिवडाले नेपालको पैसा विदेशमा नजाओस् तर वैदेशिक लगानी खुल्ला दिलले स्वागत गर्ने भन्ने सरकारको नीति रहेको पनि सुनाए । उनले अवैध ढंगले पूंजी विदेशमा गएको हो भने सम्पति शुद्धीकरणको कानुनी कार्यान्वयन गर्न सरकार कटिवद्ध रहेको र एक टोलीले यसको अध्ययन थालेको पनि बताए ।


विश्वमा हरेक देशका भन्सार प्रणाली र झिटी गुन्टाका आआफ्नै नियम हुने प्रष्टयाउँदै उनले ठूला विकसित देशमा हुँदा त्यही कुरा चुपचाप सहने तर नेपालमा शंका लागेको व्यक्तिमाथि छानवीन हुँदा अत्यन्तै आपत्ति जनाउने प्रवृत्ति समेत औंल्याए ।


प्रकाशित : फाल्गुन ९, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?