कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाली सिक्दै दोस्रो पुस्ता

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा जन्मिएकी आहाना दाहाल यहाँ खोलिएको नेपाली पाठशाला जान थालेको केही वर्ष भयो। ५ वर्षीया आहाना आफ्नै उमेर समूहका बालबालिकाहरूसँग प्रत्येक साता ३ घण्टा नेपाली अध्ययन गर्छिन् । उनी अहिले कखरा मात्रै हैन नेपाली अक्षर राम्ररी चिन्छिन् । 

नेपाली सिक्दै दोस्रो पुस्ता

अस्ट्रेलियाको हरेक सहरहरूमा पछिल्लो समय नेपाली विद्यालय लोकप्रिय हँुदै गएको छ । अस्ट्रेलियामै जन्मिएका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सिकाउने र आफ्नो कलासंस्कृतिसँग परिचित गराउने उद्देश्यले खोलिएका नेपाली विद्यालयहरू अस्ट्रेलियामा एक दर्जन पुगिसकेको छ ।


सिड्नीमा करिब १० वर्षअघि खोलिएको शब्दमालाले त सिड्नीका विभिन्न स्थानहरूमा आधा दर्जन शाखा समेत खोलिसकेको छ भने प्राय सहरहरूमा दुईभन्दा बढी नेपाली विद्यालयहरू सञ्चालनमा छन् । सिड्नी, मेलबर्न, एडिलेड लगायतका स्थानमा खोलिएका नेपाली विद्यालयहरूमा बालबालिकाहरूलाई नेपाली भाषा सिकाइन्छ ।


नेपाली विद्यालयहरूले बालबालिकाहरू भाषालाई मात्र प्राथमिकता नदिएर उनीहरूलाई आत्मविश्वास बनाउने काम समेत गर्दै आएको छ । कक्षा अवधिभर पढाइका अतिरिक्त नेपाली बालकथा, कविता, राष्ट्रियगानका साथै नेपालका बारेमा विविध जानकारी दिइने गरिएको छ ।


'यो आफ्नो भाषा र संस्कृतिलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्ने योजना मात्र नभएर उनीहरूलाई आफ्नो देशसँग जोड्ने अभियान समेत हो ।' दक्षिण अस्ट्रेलियामा रहेको नेपाली पाठशालाका अध्यक्ष कपिल पाण्डे भन्छन् । उनका अनुसार विद्यार्थीहरूलाई नेपाली अध्यापन गराइने मात्र नभएर नृत्य, उद्घोषण लगायत क्षमता अभिवृद्धिका तालिमहरू समेत निःशुल्क दिइने गरिन्छ ।


बहुसांस्कृतिक देशका रूपमा चिनिएको अस्ट्रेलियाले सरकारी तवरमै सहयोग उपलब्ध गराउने भएकाले समेत नेपाली विद्यालयहरूको लोकप्रियता बढेको हो । विद्यालयलाई आवश्यक पर्ने सामाग्रीका साथै प्रत्येक विद्यार्थीहरूका लागि राज्य सरकारले मन्त्रालयबाटै रकम निकासा गर्ने गरेको छ । नेपाली विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई सरकारी तवरबाटै तालिम दिइने गरिएको छ ।


नेपाली जनसङ्ख्या वृद्धिसँगै दोस्रो पुस्ताका बालबालिकाहरूको सङ्ख्या समेत उल्लेख्य रूपमा बढिरहेको छ । अङ्ग्रेजी मुख्य भाषा रहेको अस्ट्रेलियामा नेपाली भाषालाई दोस्रो पुस्तासामु जीवित राख्न समेत नेपाली पाठशाला महत्त्वपूर्ण बन्दै गएको विद्यालय सञ्चालकहरूको दाबी छ । यससँगै नेपाली बालबालिकाहरूको आफ्नो भाषाप्रतिको रुचि र लगावले समेत नेपाली पाठशालाले अझ लोकप्रियता पाउँदै गएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?