कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा विद्यार्थी समस्या : कलेज नछाड्न सरकारको सुझाव

नारायण खड्का

अस्ट्रेलिया — सरकारले दर्ता रद्द गरेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) मा अध्ययनरत विद्यार्थीहरुलाई कलेज नियमित गइरहन सुझाव दिएको छ । अस्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागले सूचना जारी गरेर सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुप्रतिको जिम्मेवारी अत्यन्तै गम्भीर रुपमा लिने समेत जनाएको छ ।

जारी गरिएको सुझावमा यदि एआईबिटीको दर्ता पूर्ण रुपमा खारेज भएको खण्डमा विद्यार्थीहरुलाई सहयोग गर्नका लागि स्थापना गरिएको ट्युसन प्रोटेक्सन सर्भिस -टीपीएस) बाट सहयोग लिनका लागि आफ्नो भर्नाको नियमहरु पालना गर्नुपर्ने उल्लेख गरेको छ ।


यसैगरी आफ्नो कोर्ष फिर्ता लिन तथा खारेज नगर्न समेत आग्रह गरेको छ । सरकारले सुझावमा कलेज नियमित गइरहन तथा कुनै क्लिनिकल प्लेसमेन्ट -अध्ययनपछि गर्नैपर्ने अनिवार्य तालिम) मा जान समेत भनेको छ । यदि विद्यार्थीको रुपमा पालना गर्नुपर्ने नियमहरु पालना नगरेको खण्डमा सरकारद्वारा टीपीएस मार्फत प्राप्त हुने सहयोगका लागि अयोग्य हुने बताएको छ ।


एआईबिटी कलेजको दर्ता खारेजीसँगै अन्यौलमा परेका विद्यार्थीहरुलाई सही बाटो देखाउन र उपयुक्त सुझाव दिने उद्देश्यले सरकारले सूचना जारी गरेको बताइएको छ । ८ सयबढी नेपाली विद्यार्थीहरु अध्ययनरत उक्त कलेजको यहाँको नियमन निकाय अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (आस्क्वा) ले मार्च २६ सम्मको म्याद दिएर दर्ता खारेज गरिदिएको छ । दर्ता खारेजीपछि अन्यौलमा परेका विद्यार्थीहरुलाई शिक्षा विभागको सूचनाले सही सल्लाह दिने विश्वास लिइएको छ ।


विभागले विद्यार्थीहरुलाई यदी आफूहरुले काममा आधारित कुनै तालिममा जानुपर्ने तर त्यस्तो कुनै व्यवस्था नगरिएको भए आस्क्वा अथवा टीपीएसमा उजुरी गर्न समेत भनेको छ । एआईबिटी तत्काल कानूनी रुपमा कक्षा सञ्चालन गर्न योग्य भएको बताउँदै सर्त अनुसार आफूले तिर्नुपर्ने कक्षाको कुनै शुल्क भए तिर्न समेत सल्लाह दिएको छ ।


अस्ट्रेलिया सरकारको मुख्य सरोकार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहयोग पुर्‍याउनु रहेको बताउँदै यदि एआईबिटी बन्द भएमा उक्त कलेजले उपयुक्त अर्काे कोर्षको व्यवस्था गर्नुपर्ने र खर्च नभएको शुल्क फिर्ता गर्नुपर्ने जनाएको छ ।


यसैगरी कलेज बन्द भएको खण्डमा अस्ट्रेलियामा कानूनी रुपमा रहनका लागि वैधानिक भिसाको आवश्यक रहने बताउँदै भिसा सकिन लागेको भए पुनः अर्काे विद्यार्थी भिसाको आवेदन दिन समेत सल्लाह दिइएको छ ।

विभागबाट जारी गरिएको यो सल्लाहले अन्यौलमा रहेका विद्यार्थीहरुलाई धेरै मात्रामा राहत दिने विश्वास लिइएको छ । अस्ट्रेलियाको शैक्षिक क्षेत्रमा काम गर्ने विज्ञहरुले यहाँको सरकारी निकायबाट विद्यार्थीहरुलाई सुझाव आउनु सकारात्मक भएको बताउँदै विद्यार्थीहरुलाई विभागको सुझाव पालना गर्न आग्रह गरेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?