१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आकर्षक जागिर छाडी विश्व कीर्तिमान राख्न हिमाल चढ्दै म्याग्देली युवा

नवीन पोखरेल

लन्डन — बेलायती सेना बन्न नेपालमा वर्षेनी दसौं हजार युवा मैदानमा उत्रन्छन् । बेलायतमा स्थायी बसोवास र अन्य सुविधाले पनि आकर्षक मानिन्छ आर्मी करिअर । तर, एक जना युवा बेलायती सेना, त्यसमा पनि स्पेशल फोर्सेसको जागिर र ५ लाख पाउन्ड (करिब ७ करोड रुपैयाँ) पेन्सन माया मारेर विश्व कीर्तिमान राख्न हिमाल आरोहणमा निस्कने तयारीमा छन् ।

आकर्षक जागिर छाडी विश्व कीर्तिमान राख्न हिमाल चढ्दै म्याग्देली युवा

म्याग्देली युवा निर्मल पूर्जा 'निम्स' (एमबीइ) यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईंका विश्वका सबै १४ हिमाल चढ्ने सुरमा छन् । उनी आफ्नो योजनामा सफल भए यसले यसअघिको ७ वर्ष, ११ महिना १४ दिनको विश्व कीर्तिमान तोडिनेछ । उनको महत्वकांक्षी योजना 'प्रोजेक्ट पोसिबल १४:७' मार्च २० देखि शुरु हुनेछ । अभियानकै लागि १९ मार्चबाट लागू हुने गरी उनले ब्रिटिस आर्मीबाट राजीनामा दिएका छन् । पूर्जाको यो महत्वकांक्षी योजना एकदम खर्चिलो छ ।


उनले यो प्रोजेक्ट सम्पन्न गर्न कम्तीमा दस करोड ५० लाख रुपैयाँ (७ लाख ५० हजार पाउन्ड) आवश्यक हुने बताएका छन् । 'मानिसहरु यसलाई विल्कुल असम्भव ठानिरहेका छन् । अभियान चुनौतिपूर्ण पनि छ तर मलाई पूर्ण विश्वास छ कि सबैको साथ भए सफल हुनेछु' सप्ताहन्त उनले आग्रह गरे, 'कृपया विश्वभरका नेपाली र मानवजातिलाई सहयोग गरिदिन म यसै समाचारमार्फत अपिल गर्दछु ।'


३५ वर्षीय निर्मलको अझै दस वर्ष बाँकी थियो जागिर । फूल पेन्सन आउन ६ वर्षमात्र बाँकी । 'मैले ५ लाख पाउन्ड पेन्सन गुमाएर आरोहणमा लाग्ने निधो गरेको हुँ', पूर्जाले कान्तिपुरसँग भने, 'आर्मीमा मेरो राम्रो तलब सुविधा (मासिक ६ लाख रुपैयाँ) थियो । तर, नेपाल, नेपाली र सम्पूर्ण मानवजातिको प्रतिष्ठा उचो बनाउन मैले प्रोजक्ट पोसिबलको महत्वकांक्षी योजना बनाएँ ।'


उनले यस पटकको अभियानमा घर रिमोर्गेज गरेर करिब ७५ लाख रुपैयाँ (५५ हजार पाउन्ड) खर्च आफ्नै खाताबाट जोहो गरेका छन् । यसअघि पनि घर रिमोर्गेज र आफ्नो कमाइबाट पटक पटक गरी करिब एक लाख पाउन्ड खर्च गरिसकेको उनले स्मरण गरे । यसपटकको अभियान एकदम खर्चिलो र ठूलो भएकाले विश्वका सबैसामू सहयोग मागिरहेको उनले सुनाए । व्यापारिक प्रतिष्ठानहरुले पनि आर्थिक प्रायोजन गरिदिउन् भन्ने उनको अपेक्षा छ । त्यसबापत हरेक हिमालमा प्रायोजकहरुको ब्यानर, झन्डा फहराउने र ब्राण्ड एम्बेसेडर बनिदिने उनको प्रतिबद्धता छ ।


उनले गो फण्डमी पेजमार्फत आर्थिक सहयोग गरी आफ्नो योजनामा सघाउन अनुरोध गरेका छन् । गो फण्डमीमार्फत ७५ हजार पाउन्ड उठाउने लक्ष्य उनको छ । जसले दोस्रो चरणको मिसन केटु र नांगा पर्वतको आरोहण खर्च कभर गर्छ । हालसम्म यस अपिलबाट लगभग ११ हजार पाउन्ड उठिसकेको छ ।


निर्मलको अभियान घाइते सैनिक भेट्रान र नेपालका पिछडिएका बालबालिकाको सहयोगमा काम गर्ने ब्रिटिस मिलिट्री तथा नेपाली च्यारिटीको सहयोगार्थ हुनेछ । यसबाहेक जलवायु परिवर्तन र विश्व तापमान वृद्धिबारे जनचेतना जगाउने उद्देश्य पनि उनले सुनाए । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा गएर उनको अभियानलाई सहयोग गर्न सकिनेछ ।


सन् २००३ मा ब्रिगेड अफ गोर्खाज् प्रवेश गरेका उनी सन् २००९ देखि 'यूके स्पेशल फोर्सेस' (स्पेशल बोट सर्भिस) को अंग बने । दुई सय वर्षको गोर्खा इतिहासमा स्पेशल बोट सर्भिसमा छानिने उनी पहिलो गोर्खा हुन् । उनले सन् २०१२ देखिमात्र आरोहण यात्रा प्रारम्भ गरेका हुन् । यसबीचमा उनले सगरमाथा तीन पटक, ८ हजार मिटर माथिका ४ वटा हिमाल र ७ महादेशमध्ये ४ महादेशका अग्ला हिमाल पनि चढिसके ।


उनलाई धेरैले निम्स भनेर चिन्छन् । उनी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ ब्रिटिस गोर्खा पनि हुन् । निर्मलको नाममा आरोहणका कयौं विश्व कीर्तिमान् छन् । उनले सगरमाथादेखि लोत्से आरोहण जम्मा दस घण्टा १५ मिनेटमै सम्पन्न गरे जुन यसअघि २० घण्टाको रेकर्ड थियो । ५ दिनमै सगरमाथा, लोत्से र मकालु -जो ८ हजार मिटर भन्दा अग्ला छन्) चढे । १७ दिनमा सगरमाथा दुई पटक, लोत्से र मकालु एक एकपटक चढ्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् ।


उनले सगरमाथा चढ्ने क्रममा कठ्यांग्रिएर मृत्युको काखमा पुगेका एकजना भारतीय आरोहीलाई बचाएका थिए । 'जि २०० इ गोर्खा एक्सपिडिसन' मा १३ गोर्खाहरुलाई सगरमाथा लैजान उनको प्रमुख भूमिका थियो । यी विभिन्न उपलब्धि र साहसले ब्रिटिस आर्मी जागिरमा कलिलै उमेरमा यसै वर्ष एमबीइ जस्तो साहसिक ब्रिटिस नेशनल अवार्ड पाउन सफल भए उनी । यद्यपि निर्मल स्पेशल फोर्सेसमा भएकाले उनका उपलब्धि र आरोहणका विश्व कीर्तिमानका समाचार सार्वजनिक भएनन् । उनका सफलताका कथा अरु धेरै छन् । दृढ र सकारात्मक सोचले जीवनमा हरेक कुरा सम्भव छ भन्ने ठान्छन् निर्मल ।


विश्व नेपाली डायस्पोरा जुट्यो भने उनको योजनाले सार्थकता पाउनेछ अनि नेपाल र नेपालीको नाम एकपटक फेरि उचो हुनेछ ।

प्रकाशित : फाल्गुन १२, २०७५ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?