कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रिटिस फोर्सबाट राजीनामा दिएर हिमालतिर

नवीन पोखरेल

लन्डन — ब्रिटिस आर्मीको जागिर खान नेपालमा बर्सेनि दसौं हजार युवा मैदानमा उत्रन्छन् । बेलायतमा स्थायी बसोबास र अन्य सुविधाले पनि आकर्षक मानिन्छ आर्मी करिअर । तर एक युवा ब्रिटिस आर्मी, त्यसमा पनि स्पेसल फोर्सेसको जागिर र ५ लाख पाउन्ड (करिब ७ करोड रुपैयाँ) पेन्सन माया मारेर विश्व कीर्तिमान राख्न हिमाल आरोहणमा निस्कने साइतमा छन् ।

ब्रिटिस फोर्सबाट राजीनामा दिएर हिमालतिर

म्याग्देली युवा निर्मल पुर्जा ‘निम्स’ (एमबीई) यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाइका विश्वका सबै १४ हिमाल चढ्ने सुरमा छन् । उनको महत्त्वाकांक्षी योजना ‘प्रोजेक्ट पोसिबल १४ः७’ मार्च २० देखि सुरु हुनेछ । अभियानकै लागि १९ मार्चबाट लागू हुने गरी उनले ब्रिटिस आर्मीबाट राजीनामा दिएका छन् । पुर्जाको यो महत्त्वाकांक्षी प्रोजेक्ट एकदम खर्चिलो छ । यसका लागि कम्तीमा १० करोड ५० लाख रुपैयाँ (७ लाख ५० हजार पाउन्ड) आवश्यक हुने बताएका छन् ।


‘मानिस यसलाई विल्कुल असम्भव ठानिरहेका छन् । अभियान चुनौतीपूर्ण पनि छ तर मलाई पूर्ण विश्वास छ कि सबैको साथ भए म यसमा सफल हुनेछु,’ उनले भने, ‘कृपया विश्वभरका नेपाली र मानवजातिलाई सहयोग गरिदिन म अपिल गर्दछु ।’


३५ वर्षीय निर्मलको अझै १० वर्ष बाँकी थियो जागिर । फुल पेन्सन आउन ६ वर्ष मात्र बाँकी । ‘मैले ५ लाख पाउन्ड पेन्सन गुमाएर आरोहणमा लाग्ने निधो गरेको हुँं,’ पुर्जाले कान्तिपुरसँग भने, ‘आर्मीमा मेरो राम्रो तलब सुविधा (मासिक ६ लाख रुपैयाँ) थियो । तर, नेपाल, नेपाली र सम्पूर्ण मानवजातिको प्रतिष्ठा उँचो बनाउन मैले प्रोजक्ट पोसिबलको महत्त्वाकांक्षी योजना बनाएँ ।’


उनले यस पटकको अभियानमा घर रिमोर्गेज गरेर करिब ७५ लाख रुपैयाँं (५५ हजार पाउन्ड) खर्च आफ्नै खाताबाट जोहो गरेका छन् । यसअघि पनि घर रिमोर्गेज र आफ्नो कमाइबाट पटकपटक गरी करिब एक लाख पाउन्ड खर्च गरिसकेको उनले स्मरण गरे । यस पटकको अभियान एकदम खर्चिलो र ठूलो भएकाले विश्वका सबैसामु सहयोग मागिरहेको उनले सुनाए । व्यापारिक प्रतिष्ठानहरूले पनि आर्थिक प्रायोजन गरिदिऊन् भन्ने उनको अपेक्षा छ । त्यसबापत् हरेक हिमालमा प्रायोजकहरूको ब्यानर, झन्डा फहराउने र ब्रान्ड एम्बेसेडर बनिदिने उनको प्रतिबद्धता छ ।


उनले ‘गो फन्ड्मी’ पेजमार्फत आर्थिक सहयोग गरी आफ्नो योजनामा सघाउन अनुरोध गरेका छन् । गो फन्ड्मीमार्फत ७५ हजार पाउन्ड उठाउने लक्ष्य उनको छ, जसले दोस्रो चरणको मिसन केटु र नांगा पर्वतको आरोहण खर्च कभर गर्छ । हालसम्म यस अपिलबाट लगभग ११ हजार पाउन्ड उठिसकेको छ ।


निर्मलको अभियान घाइते सैनिक भेट्रान र नेपालका पिछडिएका बालबालिकाको सहयोगमा काम गर्ने ब्रिटिस मिलिट्री तथा नेपाली च्यारिटीको सहयोगार्थ हुनेछ । यसबाहेक जलवायु परिवर्तन र विश्व तापमान वृद्धिबारे जनचेतना जगाउने उद्देश्य पनि उनले सुनाए । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा गएर उनको अभियानलाई सहयोग गर्न सकिनेछ ।


सन् २००३ मा ब्रिगेड अफ गोर्खाजमा प्रवेश गरेका उनी सन् २००९ देखि ‘यूके स्पेसल फोर्सेस’ (स्पेसल बोट सर्भिस) को अंग बने । दुई सय वर्षको गोर्खा इतिहासमा स्पेसल बोट सर्भिसमा छानिने उनी पहिलो गोर्खा हुन् । उनले सन् २०१२ देखि मात्र आरोहण यात्रा प्रारम्भ गरेका हुन् । यसबीचमा उनले सगरमाथा तीन पटक, ८ हजार मिटरमाथिका ४ वटा हिमाल र ७ महादेशमध्ये ४ महादेशका अग्ला हिमाल पनि चढिसके ।


उनलाई धेरैले निम्स भनेर चिन्छन् । उनी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ ब्रिटिस गोर्खा पनि हुन् । निर्मलको नाममा आरोहणका कैयौं विश्व कीर्तिमान् छन् । उनले सगरमाथादेखि लोत्से आरोहण जम्मा १० घण्टा १५ मिनेटमै सम्पन्न गरे, जुन यसअघि २० घण्टाको रेकर्ड थियो ।


५ दिनमै सगरमाथा, लोत्से र मकालु (जो ८ हजार मिटरभन्दा अग्ला छन्) चढे । १७ दिनमा सगरमाथा दुई पटक, लोत्से र मकालु एक/एक पटक चढ्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् । यद्यपि निर्मल स्पेसल फोर्सेसमा भएकाले उनका उपलब्धि र आरोहणका विश्व कीर्तिमानका समाचार सार्वजनिक भएनका थिएनन् ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?