सेल्टरमा सुत्केरी भएकी महिलालाई डिपोर्टेसन सेन्टर लगियो

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ ।

माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर (जेल) पठाएको छ । एकमहिने शिशुलाई सेल्टरमा राख्न नसकिने भएकाले प्रहरीको सहयोगमा सेन्टर पठाएको राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

Citizen

बच्चाको बाबु पहिचान नभएकाले उनीहरू तत्काल स्वदेश फर्कन पाउने स्थिति छैन । ‘आमालाई पठाउन समस्या छैन, शिशुलाई पठाउन समस्या हो,’ राजपुतले भने, ‘बाबुको पहिचान भएको छैन । यस्तो अवस्थामा कसरी ट्राभल डकुमेन्ट जारी गर्ने भनेर हामी अलमलमा परेका छौं ।’

साउदी जेलमा तीन सुत्केरी महिला शिशुसहित बसेका छन् । उनीहरू सबै जना घरेलु कामदार (हाउसमेड) हुन् । कुवेतबाट साउदी ल्याइएका ती महिलाका शिशुको बाबुको पहिचान खुलेको छैन । ‘यी महिलाको सवालमा दुईवटा विषय जटिल छन्, पहिलो उनीहरू आफैंले एक्जिट भिसा (साउदीबाट निस्कने) अनुमति पाएका छैनन्, दोस्रो बच्चाहरूका नाममा यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनेको छैन,’ उनले भने, ‘नेपाली बाबु भए समस्या थिएन ।’

दूतावासले विदेशी बाबुका हकमा ट्राभल डकुमेन्ट जारी गर्ने विषयमा स्पष्ट निर्देशन दिन सरकारको धारणा मागेको छ । राहदानी नियमावलीको तेस्रो संशोधनले नेपाली आमा र विदेशी बाबुबाट विदेशमा जन्मेका नाबालक छोराछोरीलाई आफूसँगै नेपाल फर्कने प्रयोजनका लागि एकपटक एक पानाको एकतर्फी यात्रा अनुमतिपत्र दिन पाइने व्यवस्था गरेको छ । विदेशी बाबुको पहिचान नभएको नाबालकको विषयमा भने स्पष्ट व्यवस्था छैन ।

कन्सुलर विभागका महानिर्देशक गिहेन्द्रराज भण्डारीले २०७१ मा गृह मन्त्रालयले एकपटकका लागि ट्राभल डकुमेन्ट जारी गर्न सकिने परिपत्र पठाएको बताए । दूतावासले पछिल्लोपटक मागेको रायबारे गृहले स्पष्ट जवाफ दिएको छैन । गएको आर्थिक वर्ष कुवेतबाट मात्रै झन्डै तीन दर्जन बच्चालाई आमासहित स्वदेश पठाइएको थियो । बाबुको पहिचान नभएका बच्चा भने रोकिए । ‘केही अविवाहित आमाले बच्चा अरूको जिम्मा छाडेर पनि स्वदेश गए,’ कुवेतमा कार्यरत नवराज अधिकारीले कान्तिपुरसँग भने ।

यसबारे प्रस्ट दृष्टिकोण बनाउनुपर्ने राजपुत बताउँछन् । ‘विदेशमा नेपाली महिला धेरै छन्, राष्ट्रिय सवाल हो,’ उनले भने, ‘प्रस्ट नीति भए कार्यान्वयन गर्न सजिलो हुन्थ्यो । बाहिरबाट हेर्दा अमानवीयजस्तो देखिने भइयो ।’ दूतावासले ट्राभल डकुमेन्ट जारी गरेपछि मात्रै प्रहरीले एक्जिट भिसा लगाइदिन्छ । ‘जुन दिनसम्म ट्राभल डकुमेन्ट बन्दैन, त्यो दिनसम्म जेल बस्नुपर्छ,’ उनले भने, ‘यसले पीडित महिला थप पीडित हुनुपरेको छ ।’

प्रकाशित : फाल्गुन १७, २०७५ ०७:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हिउँदे वर्षा पाँच गुणा बढी

अब्दुल्लाह मियाँ

काठमाडौँ — काठमाडौंमा फेब्रुअरी महिनाभरिमा औसत १८.७ मिलिमिटर वर्षा हुनुपर्ने हो । यो वर्ष भने फेब्रुअरी २८ सम्ममा त्यसको पाँच गुणा बढी पानी परिसकेको छ । सुदूरपश्चिमको डडेलधुरामा पनि औसतभन्दा बढी वर्षा भएको छ । फेब्रुअरीमा औसत ६२.५ मिलिमिटर वर्षा हुनुपर्नेमा त्यहाँ फेब्रुअरी २८ सम्म १३५.३ मिलिमिटर वर्षा रेकर्ड भएको छ । 

यी दुई तथ्यांकले पछिल्ला केही वर्षयता हिउँदे वर्षा औसतभन्दा बढी हुन थालेको संकेत गर्छ । हिउँदे वर्षाको मात्रा र समय पछि सर्दै गएपछि मौसमविदसमेत अचम्मित हुन थालेका छन् । उनीहरूका भनाइमा हिउँदे वर्षा गराउने मौसमी प्रणालीसमेत धेरै पटक भित्रिएको छ ।

त्यसले वर्षासँगै हिमपातसमेत अघिल्ला वर्षभन्दा बढी र धेरै पटक भएको छ । लामो समय जल तथा मौसम विज्ञान विभागमा काम गरेका वरिष्ठ मौसमविद् एवं काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक मणिरत्न शाक्यले भने, ‘मनसुनी र हिउँदे वर्षाको चक्रीय ढाँचा (प्याटर्न) बदलिएको छ, अहिलेको वर्षा र हिमपात त्यसैको नतिजा हो ।’

उनका अनुसार ४/५ वर्षअघिको तथ्यांक हेर्ने हो भने हिउँदे वर्षा मंसिरबाटै सक्रिय हुन्थ्यो । अहिले त्यसमा बदलाव आएको छ । ‘हिउँदे वर्षा फागुनतिर बढी सक्रिय हुन थालेको छ,’ शाक्यले कान्तिपुरसँग भने, ‘नेपालभित्रकै मौसमी प्रणालीका कारण मात्र यस्तो भएको होइन, यसमा प्रशान्त महासागरमा उत्पन्न हुने मौसमी प्रणालीले मद्दत गरेको छ ।’

यतिबेला प्रशान्त महासागरको पानी औसतभन्दा बढी चिसिएको छ । ‘यस्तो हुनु भनेको त्यहाँ ल्यानिना मौसमी प्रणाली देखा पर्नु हो,’ शाक्य भन्छन्, ‘यस्तो हुँदा दक्षिण एसियामा वर्षा राम्रो हुन्छ । त्यसैका कारण अहिले भारत र नेपालमा हिउँदे वर्षा र हिमपात बढी भएको देखिन्छ ।’

सन् २०१४ देखि सन् २०१८ सम्म प्रशान्त महासागरमा एलनिनो प्रणाली थियो । त्यतिबेला हिउँदे वर्षा कमजोर हुन्थ्यो । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानांगका अनुसार गत वर्षभन्दा यो वर्षको हिउँदे वर्षामा पनि बदलाव आएको छ । ‘हिउँदमा देशैभर औसत १ सय प्रतिशत पानी पर्नुपर्नेमा अहिलेसम्म १६० प्रतिशत परिसकेको छ,’ उनले भने, ‘यो तथ्यांकले हिउँदे वर्षा बढेको पुष्टि गर्छ ।’

जल तथा मौसम विज्ञान विभागको सन् १९८१ देखि २०१४ सम्मको तथ्यांकले नेपालमा मनसुनी र हिउँदे वर्षाको ढाँचामा परिवर्तन आएको देखाएको छ । विभागका पूर्वमहानिर्देशक तथा नास्टका प्राज्ञ मदनलाल श्रेष्ठले पश्चिमी वायु औसतभन्दा बढी दक्षिणतिर सरेपछि वर्षाको ढाँचा बदलिएको बताए । ‘पश्चिमी वायु यसपालि बढी नै दक्षिणतिर सरेको देखिन्छ, पश्चिमी वायु उत्तरतिरबाट बहेको भए अहिलेको जस्तो छिनछिनमा मौसममा बदलाव देखिन्थेन,’ उनले भने, ‘पश्चिमी वायु दक्षिणतिर सर्‍यो भने हामीकहाँ मात्र होइन, भारतमा पनि बढी असर पर्छ ।’

उनका अनुसार यसपटक पश्चिमी वायु चार/पाँच दिनकै फरकमा नेपाल भित्रिइरहेको छ । ‘यसैले छिनछिनमा मौसम बदलिरहेको छ,’ उनले थपे, ‘वर्षा बढी भएको छ, हिमपात पनि बढेको छ ।’

उच्च हिमाली भागमा यो वर्ष हिउँदमा सात पटकसम्म हिउँ परेको छ । हिउँको मात्राको मापन नहुने भए पनि विगतभन्दा बाक्लो र धेरैपटक हिमपात भएको उच्च भागमा बस्ने स्थानीयले अनुभव गरेका छन् । काठमाडौंसहित वरपरका जिल्लामा पनि १२ वर्षपछि कम उचाइका भागसम्मै हिमपात भएको छ ।

भक्तपुरका घ्याम्पेडाँडा, आशापुरी, रानीकोटगढी, बुकाचोगढी, सूर्यविनायक, गुन्डु, तेलकोट, ताथली, भक्तपुर दरबार स्क्वायर, चाँगु, दूधपाटी, ब्याँसी, काठमाडौंको दहचोक, रामकोट, चम्पादेवी, भीमढुंगा, रानीवन, बूढानीलकण्ठसहित काभ्रेको बनेपा, साँगालगायत स्थानमा पनि हिमपात झएको छ ।

शुक्रबारदेखि खुल्ने
महाशाखाका मौसमविदले शुत्रबारदेखि मौसम सफा हुने अनुमान गरेका छन् । वरिष्ठ मौसमविद् प्रधानांगले पश्चिमी वायुको प्रभाव पूर्वी क्षेक्रबाट बाहिरिएसँगै शुत्रबारदेखि मौसम सफा हुने जनाए । बुधबार रातिदेखि बिहीबारसम्म झन्डै देशैभरि वर्षा भएको छ ।

उच्च हिमाली भागमा पटक पटक भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । दुई दिनबीचमा सबैभन्दा बढी धरानमा ३५ मिलिमिटर वर्षा भएको छ । त्यसपछि काठमाडौंमा २६.८ र पोखरामा १७.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

स्थानऔसतपरेको वर्षा
काठमाडौं१८.७८५.५
डडेलधुरा६२.५१३५.३
वीरेन्द्रनगर४२.५१२७.३
पोखरा३४.६११४.१
भैरहवा१९.२९०.१
धनकुटा१६.६४२

प्रकाशित : फाल्गुन १७, २०७५ ०७:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT