१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बेलायतमा आप्रवासीको संख्या १५ वर्षयताकै उच्च

कान्तिपुर संवाददाता

लन्डन — बेलायतको वर्तमान सत्तारुढ कन्जरभेटिभ पार्टीले आप्रवासी नियन्त्रण प्रमुख एजेन्डा बनाएरै आमनिर्वाचन जित्यो । आप्रवासीलाई धपाइनुपर्ने वकालत गर्दै आएका ब्रेक्जिट पक्षधरहरुकै कारण बेलायत युरोपेली संघ -ईयू) बाट बाहिरिने स्थितिमा पुगेको विश्लेषण गर्ने पनि अत्यधिक छन् । 

बेलायतमा आप्रवासीको संख्या १५ वर्षयताकै उच्च

आप्रवासीमाथि कडाइ मुद्दा बेलायतको राजनीतिमा सधैं केन्द्रमा रह्यो । गत डिसेम्बरमा मात्र बेलायती प्रधानमन्त्री टेरेजा मेले आप्रवासी संख्या लाखौंबाट हजारौंमा झार्ने आफ्नो प्रतिवद्धता कायमै रहेको बताएकी थिइन् ।


तर, बिहीबार बि्रटेनको अफिस फर न्यासनल स्टाटिसटिक्सले युरोपेली संघभन्दा बाहिरबाट बेलायत आउने आप्रवासीहरुको संख्या गएको १५ वर्षयता सबैभन्दा उच्च बिन्दुमा पुगेको तथ्यांक सार्वजनिक गरेको छ ।


उक्त कार्यालयले सेप्टेम्बर २०१७ तथा सेप्टेम्बर २०१८ कोबीचमा झण्डै ६ लाख २५ हजार मानिसहरु बसाइँ सरेर बि्रटेन आएको तर त्यसै अवधिमा ३ लाख ४५ हजारले बि्रटेन छाडेर गएको जनाएको छ । यसरी सो अवधिमा खुद आप्रवासन २ लाख ८३ हजार पुगेको सो निकायले जनाएको छ ।


बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी अन्य युरोपेली मुलुकभन्दा बेलायत बढी उदार र बहुसांस्कृतिक भएकाले पनि यहाँ आप्रवासी आकषिर्त भएको बताउँछन् । 'यहाँ बेरोजगार दर न्यून र अवसर अत्यधिक भएकाले बेलायत विश्वकै दक्ष व्यक्तिका लागि आकर्षणको केन्द्र बनेको छ', सुवेदीले भने ।


गत महिनामात्र अफिस फर नेशनल स्टाटिस्टिक्सले बि्रटेनमा विभिन्न क्षेत्रमा काम गर्ने मानिसहरुको संख्या ३ करोड २५ लाख ४० हजार पुगेको जनाएको थियो । बि्रटेनको जनसंख्या झण्डै ६ करोड ६० लाख छ ।


काम र पढाइका सिलसिलामा बेलायत आउने आप्रवासी संख्या विगत पाँचवर्षयता बढ्ने क्रममा रहेको प्रतिवेदनले देखाएको छ । ब्रेक्जिटका कारण युरोपेली देशका मानिसलाई बेलायत आफ्ना लागि अनुकुल नरहेको महशुस भइरहेका बेला अन्य देशका मानिसले यसलाई अवसरको रुपमा लिएको हुन सक्ने बि्रटेन नेपाल एकेडेमिक काउन्सिलका अध्यक्ष डा. कृष्ण अधिकारी बताउँछन् ।

'बेलायतको स्वास्थ्य सेवामा देखिएको डाक्टर, नर्स आदिको अभावका कारण पनि नेपालजस्ता देशका दक्ष मानिसहरुले अवसर पाएको हुन सक्छ', अधिकारीको टिप्पणी छ, 'तर ब्रेक्जिटको राम्रो निकास नहुने हो भने बेलायतमा व्यवसायिक र रोजगारीको भविष्य राम्रो नहुने लक्षण देखिइरहेका छन् ।' यद्यपि नेपाली विद्यार्थीका लागि अहिले बेलायत आकर्षणको केन्द्र हुन सकेको छैन् ।


यहाँ आर्जन गर्दै पढ्ने ढोका बन्द भएकाले पनि विद्यार्थीमा विकर्षण देखिएको हो । बेलायतले केही वर्षयता अध्यागमन नियममा कडाइ गरेपछि नेपाल, भारतसहित ईयूबाहेकका अन्य मुलुकबाट विद्यार्थी आउने क्रम घटेको छ । तर, बेलायती नागरिकता लिने नेपालीको संख्या बढिरहेको तथ्यांकले देखाएको छ ।


बेलायतको गृह मन्त्रालय -होम अफिस) को तथ्यांक अनुसार सन् २०१७ सम्ममा ३३ हजार ७ सय ४० नेपालीले बि्रटिश नागरिकता लिएको पाइएको छ ।


उता, युरोपेली संघबाट बेलायत आउने आप्रवासीहरुको संख्या भने गएको दश वर्षदेखि लगातार घटिरहेको पनि अफिस फर नेशनल स्टाटिसटिक्सले बिहीबार बताएको छ ।


यसैबीच, बि्रटेनको गृह मन्त्रालयले गत वर्ष युरोपेली संघका ४८ हजार नागरिकले बि्रटेनको नागरिकता पाउन आवेदन दिएको जनाएको छ । त्यो यसअघिको भन्दा २३ प्रतिशतले बढी हो ।

प्रकाशित : फाल्गुन १७, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?