मलेसियामा नेपाली लुटिए

कान्तिपुर संवाददाता

काठमाडौँ — गोरखाका रितेश गुरुङ कार्यस्थलबाट क्याम्पभित्र छिर्दा बेडहरू ठीक ठाउँमा थिएनन् । सबैका दराज फोरिएका थिए । ‘मेरो पर्समा ३ हजार रिंगेट थियो । मोबाइल थियो,’ उनले सुनाए, ‘नेपाली १० रुपैयाँ मात्रै छाडिदिएछन् । बाँकी सबै लगेछन् ।’ 

गुरुङले मध्यरातमा काम गरिरहेका ठाउँमा खबर पाएका थिए, ‘प्रहरीको एक टोली क्याम्पभित्र छिरेको छ । उनीहरूबाट खोजतलास भइरहेको छ । कसैको सामान पनि बाँकी छैन । लुटेर लगे ।’ त्यतिबेला सबै कामदार ड्युटीमा थिए । ‘बिहान ५ बजे क्याम्पमा आउँदा फुटाउन बाँकी दराज थिएन,’ उनले भने, ‘प्रहरीबाट यस्तो काम भएको देख्दा रुन मन लाग्यो ।’

Citizen


एउटै कोठाभित्र झन्डै ५० जना बस्थे । सबैको अलग–अलग बेड थियो । बेडपिच्छै दराज थियो । उनीहरू मलेसियाको केलाङस्थित सेलेङगारमा बस्छन् । एमएफई आल्मुनियम फ्रेमवर्क कम्पनीमा काम गर्छन् ।

‘हाम्रो क्याम्पभित्र गैरकानुनी कामदार खोज्दै प्रहरी छिरेका हुन् । उनीहरूले राहदानी भएका कामदारलाई पिटेर घाइतेसमेत बनाए,’ अर्का पीडित रेशम चौधरीले भने, ‘गैरकानुनी कामदार नभेटेपछि हाम्रा साथीको पैसा लुटेर गए ।’

लुटपाट गर्ने प्रहरीविरुद्ध उजुरी नगरेको पीडितहरूको भनाइ छ । कम्पनीले क्षतिपूर्ति दिनुपर्ने पीडितको माग छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले नेपाली कामदारको क्याम्प लुटिएको विषय जानकारीमा आइनसकेको जनाएको छ । ‘यस विषयमा कुनै नेपालीले पनि लिखित उजुरी दिएको छैन,’ दूतावासका श्रम काउन्सिलर बद्री कार्कीले भने ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

खर्कमै पुरिए चौंरी

घनश्याम खड्का

म्याग्दी — उपल्लो मुस्ताङको तिब्बत सीमावर्ती लोमन्थाङ र डालोमे गाउँपालिकाका चरन खर्कमा बाक्लो हिउँमा पुरिएर चौंरीगाई र भेडाच्यांग्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले क्षतिबारेको पूर्ण विवरण आउन बाँकी रहेको जनाएको छ ।

‘लोमन्थाङ चौकीले पशु चौपाया हिउँमा पुरिएर मरेको पुष्टि गरेको छ । पूर्ण विवरण आउन केही दिन लाग्छ,’ मुस्ताङ प्रहरी प्रमुख डीएसपी महेन्द्र खडकाले भने, ‘मौसममा सुधार भएकाले केही दिनमा उपल्लो भेग पुग्ने सडक खुल्छ होला । गोठालाले पनि मरेका चौपायाको विवरण दिनेछन् ।’

चरन क्षेत्रमा खुला छाडिएका याकहरू बाक्लो हिमपातपछि बस्ती फर्कन सकेका थिएनन् । बाक्लो हिमपातले चरन क्षेत्र पुरिएपछि खान नपाएर चौपाया मरेको अनुमान छ । हिमपात रोकिएपछि चौपाया खोज्न जाँदा मरेको भेटिएका हुन् । ‘धेरै चौंरी मरेको अनुमान छ । बस्ती नजिकको चरन क्षेत्रमै पनि २५/३० वटा मरेका चौंरी देखिएका छन् । कसका कतिवटा मरे भन्ने यकिन हुन केही दिन लाग्छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का कर्मचारीसमेत रहेका लोमन्थाङवासी राम विष्टले फोनमा भने, ‘हिउँ बाक्लो छ । पग्लन केही दिन लाग्ने भएकाले लेकका चरनमा तत्काल पुग्न सकिन्न । जाडामा बेंसी झरेका कतिपय चौंरीधनी हिउँले बाटो रोकिएर फर्कन पाएका छैनन् ।’

स्थानीयका अनुसार केही चौंरी र भेडाच्यांग्रा भोकले बिरामी परेका छन् । पुस, माघ र फागुनमा गरी पटक–पटक हिमपात हुँदा चरन क्षेत्र हिउँले ढाकिएका छन् । गोठ सार्दै फिरन्ते तरिकाले पालिएका पशुचौपायालाई चरन समस्या भएको छ ।

‘फिरन्ते तरिकाले पालिने चौंरी, चेलुक र च्यांग्रालाई बर्सेनि दुःख दिन्छ । तीन वर्षअघि पनि यस्तै बेमौसमी हिउँले तीन सयवटा हाराहारी चौंरी, चेलुक मरेका थिए,’ मुस्ताङका गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले भने, ‘उपल्लो मुस्ताङमा हिउँ परेन भने खेतीपाती र पशुपालन गर्नै सकिन्न, धेरै परे वा धेरै दिनसम्म परे सबै चौपट हुन्छ ।’

घरगोठका चौंरी र भेडाच्यांग्रालाई चरन क्षेत्रमा छाडेर जाडो छल्न बेंसी झरेका मुस्ताङी गर्मी बढेपछि मात्र घर फर्कन्छन् । बर्सेनि फागुनमा घर फिर्ने जिल्लावासी यस पटक लामो अवधिको हिमपातले रोकिएका छन् । जौ, उवा, फापर र केही तरकारीबाहेक अन्य खेती नहुने मुस्ताङमा पशुपालन स्थानीयको आम्दानीको दरिलो स्रोत हो ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्