कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

लन्डनमा छुरा प्रहार बढेपछि सेनालाई गुहार 

कान्तिपुर संवाददाता

लन्डन — लन्डनमा छुरा प्रहारका घट्ना बढेपछि यसले राष्ट्रिय राजनीतिसमेत तरंगित बनेको छ । प्रहरी कटौतीका कारण छुरा अपराध बढेको भन्दै प्रधानमन्त्री टेरेजा मेमाथि चौतर्फी दवाव थोपरिएको छ । 

लन्डनमा छुरा प्रहार बढेपछि सेनालाई गुहार 

यस मुद्दामा बेलायती सेनाले समेत चासो देखाएको छ । प्रधानमन्त्री मेले छुरा अपराधबारे छलफल गर्न मन्त्रीहरु, समुदायका नेता, पीडित आदि सरोकारवालासँग छिट्टै आफ्नो कार्यालयमा सम्मेलन गर्ने भएकी छन् ।


बि्रटिश रक्षामन्त्री ग्याभिन विलियमसन्ले बि्रटेनमा चक्कु प्रहारबाट खासगरी किशोर, किशोरीको ज्यान लिने घटनाहरु नियन्त्रण गर्न सघाउन सेना तयार रहेको बताएका छन् ।


बेलायती संसदमा मंगलबार राति भएको प्रश्नोत्तरमा बोल्दै मन्त्री विलियमसन्ले सरकारको कुनै पनि निकायलाई सघाउन रक्षा मन्त्रालय तयार रहेको बताएका हुन् ।


बि्रटेनको गृह मन्त्रालयले रक्षा मन्त्रालयसँग अझै औपचारिक रुपमा सहयोग मागेको छैन् तर मेट्रोपोलिटन प्रहरीकी प्रमुख क्रेसिडा डिकले छुरा प्रहारका बढ्दो घटनासँग जुध्न सेनाको सहयोगका लागि आफू इच्छुक रहेको बताएकी थिइन् ।


यो वर्ष दुई महिनायता लन्डनमा छुरा प्रहारका घटनामा २१ जनाको ज्यान गइसकेको छ जसमध्ये अधिकांश किशोर, किशोरी छन् ।


बुधबारमात्र पूर्वी लन्डनको लेटनमा एक युवामाथि छुरा प्रहार भएको थियो । गत फेब्रुअरीमा प्रकाशित एक तथ्यांकमा गत वर्ष इंग्ल्यान्ड र वेल्समा छुरा प्रहारबाट २८५ जनाले ज्यान गुमाएका उल्लेख छ जुन सन् १९४६ यताकै सबैभन्दा उच्च हो ।


बेलायती प्रधानमन्त्री मेले प्रहरीको संख्या कटौती र छुरा प्रहारका घट्नामा वृद्धिबीच कुनै प्रत्यक्ष सम्बन्ध नरहेको बताएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।


विगत आठ वर्ष -सन् २०१०) यता इंग्ल्यान्ड र वेल्समा २० हजार भन्दा बढि प्रहरीको संख्या कटौती गरिएको छ । टेरेजा मेले गृहमन्त्री भएर ६ वर्ष काम गर्दा बजेटसंगै प्रहरीको संख्या अत्यधिक कटौती गरिएको हो ।


मेट्रोपोलिटन प्रहरीका पूर्वप्रमुख लर्ड स्टेभेन्सले प्रधानमन्त्री मेले प्रहरीको सरोकारका विषय नसुनेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन पनि प्रधानमन्त्रीको आलोचनामा उत्रिएका छन् । छुराबाट हुने अपराध नियन्त्रणमा प्रधानमन्त्रीले पर्याप्त कदम नचालेको आरोप कोर्बिनको छ ।


लेबर पार्टीका शीर्षस्थ सदस्यहरु, लन्डन मेयर सादिक खान र स्याडो पुलिसिङ मिनिस्टर लुइज हेगले प्रधानमन्त्री मेलाई पत्र लेखी युवाबीच बढिरहेको हिंसासँग जुध्न १० हजार नयाँ प्रहरी अधिकृत माग गरेको बीबीसीले जनाएको छ ।


इंल्याण्डकी एक वरिष्ठ प्रहरी अधिकृतले अपराध नियन्त्रणका लागि आपतकालिन बजेट माग गरेकी छन् । नेशनल पुलिस चिफ्स काउन्सिलकी अध्यक्ष सारा थोर्नटनले बढिरहेको हिंसात्मक छुरा अपराध सामना गर्न यसलाई राष्ट्रिय संकटकालका रुपमा हेरिनुपर्ने तर्क समेत गरेकी छन् ।


तीव्र दबावबीच गृहमन्त्री सजिद जाभिदले छुरा प्रहारजस्ता अपराध नियन्त्रणमा जोड दिँदै प्रहरीले जनशक्ति तथा श्रोतबारे कुरा उठाउँदा त्यो आवाज सुन्नुपर्ने जनाएको बेलायती अखबारहरुले जनाएका छन् ।

प्रकाशित : फाल्गुन २३, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?