मलेसिया र सिङ्गापुरका लगानीकर्तालाई नेपालमा निम्तो

कान्तिपुर संवाददाता

क्वालालम्पुर — नेपाली अधिकारीहरूले मलेसिया र सिङ्गापुरका व्यवसायी तथा लगानीकर्ताहरूसँग भेट गरी काठमाडौँमा हुन लागेको लगानी सम्मेलनमा सहभागिता हुन निम्तो दिएका छन् ।

यही मार्च २९ देखि आयोजना हुन लागेको दुई दिने लगानी सम्मेलन नजिकिँदै गर्दा मङ्गलवार क्वालालम्पुरमा आयोजित कार्यक्रममा नेपाली अधिकारीहरूले मलेसियाका व्यवसायी, लगानीकर्ता कम्पनीलगायतलाई नेपालमा लगानी गर्ने सही समय आएको भन्दै निम्तो गरेका हुन् ।

Citizen


कार्यक्रममा नेपाली राजदूत उदयराज पाण्डेले नेपालमा ठुलो बहुमतसहितको सरकार रहेको साथै भारत र चीनजस्ता विश्वकै द्रुत गतिका उदीयमान बजारको निकट रहेकाले जलविद्युत, पर्यटन र पूर्वाधार विकासलगायत क्षेत्रमा लगानी गर्न उपयुक्त समय आएको भन्दै सहभागीहरूलाई निम्तो दिए । उनले मुलुकमा तीन करोड जनसङ्ख्या रहकोले उक्त आन्तरिक बजारबाट समेत लाभ लिन आग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले नेपालमा पछिल्लो समय वैदेशिक लगानी आकर्षित गर्न भइरहेका प्रयास, नीतिगत एवं कानुनी सुधार र लगानी सम्मेलनबाट हुने लाभबारे जानकारी दिए ।

लगानी सम्मेलनमा मलेसियाबाट सहभागिता जुटाउन अर्थ मन्त्रीका सल्लाहकार रामशरण खरेलको नेतृत्वमा लगानी सम्मेलनको प्रबर्द्धनार्थ मलेसिया र सिङ्गापुरका लागि आएको नेपाली प्रतिनिधि मण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका प्रतिनिधिहरू सम्मिलित छन् ।

नेपालमा हाल पिउने पानी, पर्यटन र अटो ईन्डस्ट्रिज् तथा कतिपय पूर्वाधार विकासलगायत आधा दर्जन क्षेत्रमा मलेसियनको लगानी छ । यद्यपि नेपालले मलेसियाबाट पर्याप्त लगानी भित्र्याउन सकिरहेको छैन ।

नेपाली प्रतिनिधि मण्डलले मलेसियाको लगानी प्रवर्द्धनसम्बन्धी निकायहरू मलेसिया लगानी विकास प्राधिकरण (एमआईडिए), पर्फमेन्स म्यानेजमेन्ट डेलिभरी युनिट (पेमाडु) र अर्थमन्त्रालयलगायतका प्रतिनिधिहरुसँगसमेत भेट गरी लगानी सम्मेलनबारे जानकारी गराएको छ ।

मलेसियाको लगानी विकास प्राधिकरणले मलेसियासहित तान्जानिया, दक्षिण अफ्रिका, ओमान, भारतको आन्ध्र प्रदेश र महाराष्ट्रमा समेत ठुला परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा मलेसियाका व्यवसायी, लगानीकर्ता कम्पनीका प्रतिनिधि, विश्व बैङ्कका प्रतिनिधि, नेपाल मलेसिया बिजनेश काउन्सिलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १७:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बझाङमा हराउँदै भार्ते

बसन्तप्रताप सिंह

बझाङ — तल्कोट–१ सुनिकोटका ५५ बर्षिय प्यारु आउजी भार्ते हुन् । उनले विवाह, वर्तबन्ध र अन्य उत्सबहरुमा गाउने, कथा बाचन गर्ने तथा डमरु बजाउदै नृत्य गर्न थालेको ४५ बर्ष भयो ।

उनले लयात्मक कथा बाचन र गायनको माध्यमबाट, युद्ध, महामारी, देवता दानव, प्रेम आदी विषय बोकेका कथाहरू भन्छन् । भार्तेले भन्ने कथाको विषय जे सुकै भए पनि कथाको सन्देश सामाजिक एकता, शान्ति र सदभावको हुन्छ । स्थानिय बोलीमा भार्तेले भन्ने कथालाई भार्ता भनिन्छ ।

कुनै बेला हरेक जसो विवाहमा भार्ते हुन्थ्यो । १० बर्षयता भने भार्तेको चलन हराउदै गएको छ । माग हुनै छोडे पछि नयाँ पुस्ता भार्ते जन्मिनै छोडेको र पुराना भार्तेहरूपनि बुढ्यौलीमा प्रबेश गरिसकेकाले भेटिन छाडेका छन् । यसले गर्दा मौलिक परम्परा र सुदुरपश्चिमेलीको साँस्कृतिक अस्तित्व लोप हुदै गएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १७:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT