अस्ट्रेलियामा नेपाली विद्यार्थी ५० प्रतिशतले बढे

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या एक वर्षमा करिब ५० प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागको तथ्यांकअनुसार सन् २०१७ मा ३५ हजार २ सय १२ विद्यार्थी भर्ना भएकामा २०१८ मा यो संख्या बढेर ५२ हजार २ सय ४३ पुगेको छ । जुन गत वर्षको तुलनामा ४८ दशमलव ४ प्रतिशतले बढी हो ।

अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा चीन र भारतपछि नेपाल तेस्रो स्थानमा छ । विभागले अध्ययनका लागि अस्ट्रेलियाका विभिन्न शैक्षिक निकायमा भर्ना भएका ८ लाख ७६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपालका विद्यार्थी ६ प्रतिशत रहेको जनाइएको छ । भिसा दिने प्रक्रियामा पछिल्लो समयमा केही चुस्तता अपनाएको भए पनि नेपाली विद्यार्थीको संख्या बढ्नु उत्साहप्रद रहेको यस क्षेत्रमा काम गरिरहेकाहरूको दाबी छ ।

विभागले नेपाली विद्यार्थीहरू सबैभन्दा धेरै उच्चशिक्षा अध्ययन गर्न आएको उल्लेख गरेको छ । त्यसपछि क्रमशः व्यावसायिक तालिम, अंग्रेजी अध्ययन र विद्यालय अध्ययनका लागि आएको तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार उच्चशिक्षा अध्ययनका लागि २८ हजार ३ सय र व्यावसायिक शिक्षाका लागि १९ हजार ४ सय भर्ना भएका छन् । अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या विगत ४ वर्षको अनुपातमा करिब २ सय ५० प्रतिशतले वृद्धि भएको छ ।

अस्ट्रेलियाले केही वर्षअघिदेखि विद्यार्थी भिसालाई व्यवस्थित गर्दै अनुमतिप्राप्त शैक्षिक संस्थालाई यससम्बन्धी धेरै अधिकार दिएको छ । जसले गर्दा पनि अध्ययनकै लागि आउने विद्यार्थीलाई सहज भएको बताइन्छ ।

परामर्शदाताका रूपमा काम गर्दै आएका सञ्जीव पाण्डे नेपाली विद्यार्थीको संख्या अन्य देशको तुलनामा वृद्धि हुनु राम्रो संकेत भएको बताउँछन् । नेपाली विद्यार्थी बढ्नुको कारणमा स्थायी बासिन्दाको अनुमतिपत्र -पीआर) पाउन अन्य देशको तुलनामा सहज हुनु, विश्वस्तरका शैक्षिक संस्थामा अध्ययन गर्न पाउनु, आफन्त तथा साथीभाइ धेरै हुनु र भाषाको सहजता हुनु रहेको दाबी गर्छन् ।

अस्ट्रेलियाले अध्ययनका लागि आउने विदेशी विद्यार्थीलाई दुई साताको ४० घण्टा कानुनी रूपमा काम गर्ने अधिकार दिएको छ । त्यसबाहेक पढाइ बिदा भएको समयमा आफूले चाहेजति काम गर्नसमेत छुट दिइएको छ । अस्ट्रेलियामा विद्यार्थीहरूले सामान्य काम गरेर पनि न्यूनतम प्रतिमहिना १ हजार ६ सय डलर -करिब १ लाख ३० हजार रुपैयाँ) कमाउन सक्छन् ।

प्रकाशित : चैत्र १५, २०७५ १९:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ट्याक्सी चालकको अमानवीय व्यवहारले एक बिरामीको मृत्यु

बिरामीलाई बाटोमै छाडेर भागेका थिए चालक
जनकराज सापकोटा

काठमाडौँ — गोर्कणेश्वर ४ का प्रविण कारञ्जित बुधबार बिहानै बाबु गोपाललाई लिएर स्कुटरमा चावहिलको मेडिकेयर अस्पताल पुगेका थिए । ईसीजी गरेपछि अस्पतालले उनलाई घर पठाइदियो । अस्पतालमा निस्केर चिया पिएपछि झण्डै साढे ११ बजेतिर उनले बुबालाई ट्याक्सी चढाएर आफू घरतिर हिँडेका थिए ।

धुलो–धुँवाले भरिएको बाटोमा स्कुटरमा फर्किंदा गाह्रो होला भनेर उनले बुबालाई ट्याक्सी चढाइदिएर आफू स्कुटरमा फर्किएका थिए।

घर पुगेको धेरैबेरसम्म बुबा नआइपुगेपछि उनको मनमा चिसो पस्यो। त्यही बेला उनलाई अपरिचितको नम्बरबाट फोन आयो। प्रविण हतारिँदै चावहिलकै हेल्पिङ ह्याण्डस अस्पताल पुगे। त्यसपछि पो उनलाई थाह भयो, सकुशल घर फर्किन ट्याक्सी चढेका बाबु कहिल्यै नर्फकिने गरी मृत्युशैय्यामा लडिसकेछन्। सबैसँग सोधपुछ गरेपछि उनले सोच्दै नसोचेको घटनाको विवरण थाहा पाए।

ट्याक्सीको अघिल्लो सिटमा बसेका गोपाललाई अलिकति अगाडि बढ्ने बित्तिकै केही असहज महसुस भएछ। उनी बुरुक्क उफ्रिएजस्तो गरेछन् र बेहोस भएछन्। ट्याक्सी चालकले सामान्य मानवीयता पनि नदेखाई गोपाललाई लतार्दै अघिल्लो सिटबाट धुले भुईंमा खसालेर आफ्नो बाटो लागे।

सडक छेउको धुलोमा लडिरहेका मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। अनि तुरुन्तै प्रहरीले गोपाललाई हेल्पिङ ह्याण्डस् अस्पताल पु‍‍र्‌यायाे।

प्रहरीले उनको साथमा रहेको बैंकको एटिएम कार्डबाट परिचय पाएलगत्तै सर्म्पक नम्बरको खोजीमा जुट्यो। त्यसपछि प्रहरीले बैंकमा सम्पर्क गरेर प्रविनको नम्बर पत्ता लगाएर उनलाई फोन गर्‍यो।

मृतक परिवारले मंगलबार नै घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएसँगै प्रहरीले ट्याक्सी चालकको खोजी गरेको थियो। गौशाला वृत्तका अनुसार हेल्पिङ हयाण्डस् अस्पतालको सीसीटिभी फुटेजमा गोपाल चढेको ट्याक्सी र गोपाल बेहास भएपछि बाहिर लतार्दै निकालेको दृश्य कैद भएको छ। सीसीटिभी फुटेजमा ट्याक्सीको नम्बरप्लेट प्रस्ट नदेखिएपछि प्रहरीले महानगरीय ट्राफिक प्रहरी कार्यालयको सहयोग लिएको थियो।

ट्राफिक प्रहरीले विशेष सफ्टवेयर मार्फत फुटेजको गुणस्तर बढाएर हेरेपछि सम्भावित चार नम्बरहरु निकालेको थियो। त्यसैका आधारमा ट्राफिक प्रहरीले बिरामी यात्रुलाई सडकमै अलपत्र छाडेर भाग्ने बा१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमल श्रेष्ठलाई पक्राउ गर्‍यो।

पक्राउ परेका ट्याक्सी चालकले प्रहरीलाई दिएको बयान अनुसार मृतक गोपल अचानक उफ्रिएजस्तो गरे लगत्तै बेहोस भएपछि उनले अत्तालिएर ‘के गरौं, कसो गरौं’ भएर आफूले बाहिर निकालेर भागेको बताएका छन्। मृतक परिवारको किटानी जाहेरीको आधारमा प्रहरीले ट्याक्सी चालकलाई सार्वजनिक शान्तिविरुद्धको अपराध गरेको भन्दै मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएको छ।

कान्तिपुरसँग सर्म्पकमा आएका मृतकका छिमेकी नवराज श्रेष्ठका ट्याक्सी चालकले सामान्य विवेक नपुर्याएकाले बिरामीको मृत्यु भएको दाबी गरे।

‘केही सय मिटर परको अस्पतालमा पुर्‍याएर छोडीदिएको भएपनि बाँच्ने सम्भावना थियो। कस्तो धर्म नभएको चालक रैछ,’ उनले भने। श्रेष्ठले घटना दुःखदायी मात्रै नभएर अमानविय भएको बताए। ‘संवेदनाहीनताका कारण एक बिरामीको मृत्यु भएको हो,’ उनले भने, ‘सोच्दै नसोचेको घटना भयो।’

प्रहरी स्रोतका अनुसार मृतकको पोस्टमार्टम गर्दा उनको मृत्युको कारण हृदयघात भन्ने देखिएको छ।

मृतक गोपालका छिमेकी श्रेष्ठले मेडिकेयर अस्पतालमा परीक्षण गरेर डिस्चार्ज भए लगत्तै गोपालको मृत्यु भएकोमा उक्त अस्पतालले गरेको उपचारमा पनि प्रश्न उठाए।

घटनको अनुशन्धानमा संलग्न प्रहरीका अनुसार मेडिकेयर अस्पतालले मृतक गोपालको अवस्था सामान्य रहेको भनेर डिस्चार्ज गरेको देखिन्छ। उनले थप अनुशन्धान जारी रहेको बताए।

मृतकको आज मात्रैगाेकर्णेश्वरघाटमा दाहसंस्कार गरिएको छ।

प्रकाशित : चैत्र १५, २०७५ १९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT